फिल्म समीक्षा

कलाकारको भरमा थेगिएको परदेशी २

कलाकारको भरमा थेगिएको परदेशी २

फिल्ममा इमोशन छैन । तर पात्रहरु भने सजिलै रोइदिन्छन् । कोहि मानिसको आँखामा कसिङ्गर पर्दा त आँखा रसाउँछ तर पर्दामा पात्रहरु धर्रधरी रुँदा समेत पटक्कै भावुक भइँदैन ।

  • कुमार विनोद पौड्याल

  • आइतवार, अशोज २८, २०८०

  • 700
    SHARES
कलाकारको भरमा थेगिएको परदेशी २

कुरौटेपाटी । एकादेशमा राजाको छोरोलाई निवन्ध लेख्न लगाइएछ, गरिबीको बारेमा । धेरै समयसम्म घोरिएपछि उसले लेख्न थालेछ, मेरो साथी एकदमै गरिब छ । उसँग नयाँ कार छैन, पुरानो कारमा घुम्छ । बिचरा मासु खान नसकेर सधैं दुध र भात खाँदो रहेछ । एकपटक लगाएको कपडा दोहोर्याएर लगाउनुपर्ने रहेछ ।

माथीको कथा भन्नुको तात्पर्य के हो भने, हरेक मानिसको दृष्टिकोण कहाँ बसेर हेरेको छ भन्नेले प्रभाव पार्छ । धनिको लागि सधैं मिठो खान नपाउनु गरिबी हो भने, गरिबका लागि दुई छाक खान पाउनु धनि हो ।

फिल्म परदेशी २ पनि धनि घरको छोराका आँखाले देखेको अमेरिकाको दुःख हो । केहि समयअघि सर्वनाम थियटरमा मंचन भएको नाटक ‘सपना अनेक– अनेक’ मा पनि परदेशीकै जस्तो कथा उठान गरिएको थियो । जसमा धरहरा र आइफेल टावर दुबैको माया एकैचोटी लाग्दाको परिस्थिती हेर्न पाइन्छ ।

धेरै गन्थन नगरी अब लागौं फिल्मको समिक्षातर्फ ।

लामो समयको पर्खाइ पछि परदेशी २ हलमा लाग्यो । विभिन्न समस्यासँग लड्दै फिल्म हल सम्म पुग्नु यो फिल्मको सबैभन्दा ठुलो सफलता हो र सकारात्मक कुरा पनि सायद यहि हो ।

गायक प्रकाश सपुत भएकाले पनि हुनसक्छ । फिल्मको संगितमा राम्रो काम भएको छ । फिल्मका निर्देशक आफैपनि संगितका मानिस, त्यसैमाथी बर्तमानमा चलेको गायकको अभिनय ।

फिल्मको कथाबस्तु, धनि परिवारको एक्लो सन्तानको अमेरिका सपनामा केन्द्रित छ । सबैको सपनाको देश अमेरिका जान खासै पापड बेल्न नपर्ने वर्गको कथा भएपनि उसको जिन्दगीको उतारचढाव प्रशस्तै देख्न सकिन्छ । यो भन्दा धेरै थाहा पाउन, हलमा जानुपर्ने हुन्छ, फिल्म नेपालभरका हलहरुमा प्रर्दशन भइरहेको छ ।

यो गायनमा सफल कलाकार प्रकाश सपुतको ठुलो पर्दाको अभिनयमा डेब्यु फिल्म हो । मुख्य भूमिकामा रहेका सपुतले यसै फिल्मबाट यो दुनियाँमा पाइला चालेका छन् । ठुलो पर्दामा पहिलोपटक देखिएका उनले दर्शकलाई निराश बनाएका छैनन् । यदि राम्रो निर्देशकको हातमा उत्कृष्ट पटकथासँगै उनले अभिनय गर्ने मौका पाए अन्य कलाकारले बलियो प्रतिस्पर्धी भेट्नेछन् ।

फिल्ममा सबै कलाकारले मौलिक अभिनय गरेका छन् । कसैको अभिनयमा पनि अस्वभाविक लाग्दैन ।

संस्कार (प्रकाश सपुत) कै कथा वरपर सबै पात्रहरु घुमेका छन् । संस्कारका बुबाआमा, संस्कारकी प्रेमिका संस्कृति (केकी अधिकारी), संस्कारकी अमेरिकामा भेटिएकी साथी लुजा (बर्षा शिवाकोटी) आदि आदि । यो फिल्मले बाध्यतामा परदेश गएका तमाम मानिसहरुको कथा भन्दैन । धनि घरको एक्लो छोरो अध्ययनका लागि अमेरिका जाँदाको कथा भन्छ ।

टाढा भएकै कारण आउने उतारचढावले धेरै सम्बन्धहरु समाप्त भएका छन् । यस्तो गम्भिर बिषयमा निकै फितलो तर्क दिएर त्यसैलाई फिल्मको द्वन्द्वका रुपमा प्रस्तुत गर्दा फिल्मको अन्त्य निकै कमजोर हुन पुगेको छ ।

संगितमा नौलोपना
गायक प्रकाश सपुत भएकाले पनि हुनसक्छ । फिल्मको संगितमा राम्रो काम भएको छ । फिल्मका निर्देशक आफैपनि संगितका मानिस, त्यसैमाथी बर्तमानमा चलेको गायकको अभिनय । दर्शकको अपेक्षा अझै माथी हुने ठाउँ भने बाँकी छ । तरपनि जसरी संगितको प्रयोगमा नौलोपना ल्याइएको छ, त्यो फिल्मको सकारात्क पाटो हो ।

कमजोर पटकथा
फिल्मको पटकथा निकै फितलो छ । द्वन्द्व निकै कमजोर छ । विश्वास गर्नै नसक्ने पाटोलाई द्वन्द्वको रुपमा देखाइएको छ । जसले गर्दा दर्शक फिल्मले दिएको लजिकमा कन्भिन्स हुनै सक्दैनन् । उदाहरणका लागि, आजभोलीको जमानामा भित्तामा टाँसेको फोटो देखेको भरमा मात्रै बलियो प्रेम सम्बन्ध टुट्छ होला त ? त्यहाँ त भनाभन हुनुपर्यो, आ–आफ्नो तर्क पेश गर्नुपर्यो हैन र ?

परदेशीहरुको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको छ, लामो दुरीको सम्बन्ध अर्थात लङ डिस्टेन्स रिलेसनसिप । टाढा भएकै कारण आउने उतारचढावले धेरै सम्बन्धहरु समाप्त भएका छन् । यस्तो गम्भिर बिषयमा निकै फितलो तर्क दिएर त्यसैलाई फिल्मको द्वन्द्वका रुपमा प्रस्तुत गर्दा फिल्मको अन्त्य निकै कमजोर हुन पुगेको छ ।

जुन समयमा दर्शक इमोसनल हुनुपर्ने हो, शरिरमा काँडा उम्रनुपर्ने हो त्यहि समयमा ओसिएको बारुद जस्तो भइदिँदा त्यो पड्कन सकेको छैन, फुस्स्स उडेर गएको छ ।

फिल्मको पटकथामा धेरै समस्या छ । कहिले कथा एकैठाउँमा गुजुल्टो परेको छ त कहिले दर्शकले थाहै नपाउने गरेर छलाङ मारेको छ । कथा सररर बग्न नसक्दा समस्या आएको छ । कहिले एकदमै स्लो र कहिले एकदमै फास्ट कथा बग्दा फिल्म जर्क बनेको हो ।

फिल्ममा इमोशन छैन । तर पात्रहरु भने सजिलै रोइदिन्छन् । कोहि मानिसको आँखामा कसिङ्गर पर्दा त आँखा रसाउँछ तर पर्दामा पात्रहरु धर्रधरी रुँदा समेत पटक्कै भावुक भइँदैन । फिल्मको रुवाउने प्रयास पुर्णतः असफल हुन्छ ।

त्यस्तै, एउटा कथा अर्का दृष्यसँग मेल नै नखाने छ । प्रशान्त तामाङलाई जर्वरजस्ती फिल्ममा अटाइएको छ । बाध्यतामा उनि अटाएको प्रष्टसँग देखिन्छ । किनभने उनि आउनु र जानुले फिल्ममा कुनै महत्व राख्दैन । कलाकार दिलिप रायमाझीको पात्रलाई पनि उस्तै तरिकाले प्रस्तुत गरिएको छ । यी दृष्यहरुले फोकटमा फिल्मलाई लामो मात्र बनाएको देखियो ।

चरित्र चित्रण
फिल्ममा पात्रहरुको चरित्र चित्रण र निर्माणमा समस्या छ । मुख्य कलाकार निकै अलमलिएको भान हुन्छ । प्रेम जस्तो पवित्र बिषय भन्ने आदर्शभाव राखेर सुरु भएको फिल्मको अन्त्यमा पात्र आफै कन्फ्युज भएको देखिन्छ । उ प्रेम र गुन छुट्याउन नसक्ने स्थितीमा नेपाल फर्कन्छ ।

डाक्टर बनाएको पात्रलाई समेत अन्दाजीको भरमा प्रेम त्यागेको देखाइएको छ। अमेरिकामा भेटिएकी लुजाको ब्याकग्राउण्ड केहि नदेखाउँदा दर्शकसँग त्यो पात्र कनेक्ट नै हुन सकेको छैन । त्यसैले पात्रको चरित्र चित्रणमा फिल्मले ध्यान नदिएको हो कि जस्तो लाग्छ।

संवाद
फिल्मलाई भावनात्मक बनाउन प्रयोग गरिएका संवादहरु क्लिसे छन् । बोलीचालीको भाषामा बोलिरहेका कलाकारहरु अचानक फरक भाषा, शब्द र शैली बोल्न थाल्छन् । जसले दर्शकलाई असहज महसुस गराउँछ ।

फिल्ममा हँसाउनका लागि राखिएका पात्रहरु पनि छन् । जसले फिल्ममा भएका अन्य पात्रहरुको भन्दा फरक भाषामा संवाद गर्छ । पोखरा नजिकको दृष्य देखाइएकाले उनको लवजमा पोखरेली टोन निस्कन्छ । अन्य पात्रहरुले भने लवजलाई ध्यान दिएको देखिँदैन ।

अन्त्यमा
फिल्ममा इमोशन छैन । तर पात्रहरु भने सजिलै रोइदिन्छन् । कोहि मानिसको आँखामा कसिङ्गर पर्दा त आँखा रसाउँछ तर पर्दामा पात्रहरु धर्रधरी रुँदा समेत पटक्कै भावुक भइँदैन । फिल्मको रुवाउने प्रयास पुर्णतः असफल हुन्छ ।

अब समय फेरिएको छ । दर्शकहरु रुमाल लिएर आँशु पुच्छ्न हल जाँदैनन् । कथा कसरी पर्दामा भनिएको छ, र बिषयबस्तु कसरी उठाएको छ भनेर हेर्न जान्छन् । उनिहरु फिल्मको स्कृन प्लेसँगै त्यहाँ भएका प्रप्स, प्रकाश, रंग, पहिरन लगायतमा समेत ध्यान दिन्छन् । पहिलेको जस्तो अबका दर्शकलाई हिल चप्पल लगाएर पधेंरोमा पानी भर्न गएको मन पर्दैन । भारतीय टेलिश्रृङ्खलाहरुमा जस्तै लामो समयसम्म एकै दृष्य र उस्तै कथा घुमिरहेको पनि मन पर्दैन ।

अर्को परदेशी ३ पनि बन्यो भने फिल्म निर्माण टोलीले यी कुरा ध्यान दिँदा राम्रो हुन्छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology