
कुराकानी । कतै चलचित्र त कतै नाट्य महोत्सव। यता हलमा मात्रै एकसाथ ८ चलचित्र। जसमा २ नयाँ सहित ७ त नेपाली मात्रै। एकैपटक कलाको बाढी काठमाडौंमा पस्दा, दर्शक के हेर्ने, कुन हेर्ने, अन्योलमा परेका छन्। कता के हुँदैछ संक्षिप्तमा जानकारी तल दिइएकाे छ।
नाट्य महोत्सव: निटफेष्ट २०२५
तेस्रो अन्तराष्ट्रय नाट्य महोत्सव, निटफेष्ट २०२५ यतिवेला चलिरहेको छ । यो महोत्सव काठमाडौंमा मात्रै सिमित छैन यो पटक, पोखरा, चितवन र बेलबारीसम्म फैलिएको छ ।
“सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो” भन्ने नारा सहित चलिरहेका यस महोत्सवमा १२ देशका १७ वटा नाटक, स्थानीय कला, संस्कृति लगायत समाजिक, सांस्कृतिक, राजनितीक र आर्थिक पाटोहरुका बारेमा छलफल समेत गरिनेछ ।
एक हप्तासम्म जारी रहने यो महोत्सव काठमाडौंको मण्डला थियटर थापागाउँमा धुमधामसँग चलिरहेको छ । गुगलमा मण्डला थियटर खोजेर तपाई पनि मज्जासँग नाट्य महोत्सवको मज्जा लिन सक्नुहुन्छ ।
चलचित्र महोत्सवः निफ
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौं संस्करण भव्यताका साथ चलिरहेको छ । यो अब ११ गतेसम्म चल्नेछ ।
“विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव” भन्ने नाराका साथ सुरु भएको यो महोत्सवमा ४० देशका ८७ वटा चलचित्रहरु छानिएका छन् ।
महोत्सवमा ५० बढी देशका चलचित्रकर्मीहरु पनि सहभागी भएका छन् । उनिहरुले आफ्ना संस्कृति र कलाबारे अनुभव बाँड्नेछन् । बिदेशी फिल्ममा रुचि राख्नेहरुले त्यताका चलचित्र बनाउनेहरुसँग प्रत्यक्ष भेटेर कुराकानी गर्न सक्नेछन्, आफ्ना जिज्ञासा राख्न सक्नेछन्।
फिल्म महोत्सव सुन्धारामा अवस्थित सिभिल मलमा रहेको क्युएफएक्स लगायत अन्य स्थानमा गएर अवलोकन गर्न सकिनेछ। साथमा विभिन्न बिषयमा छलफल पनि छ। ति छलफलहरु पर्यटन वोर्डका सभाहलमा हुनेछन्। ठेगाना थाहा नहुनेका लागि गुगल छँदैछ, समय मिलाएर सहभागी भई रमाइलाे गर्न सकिनेछ।
हलमा: ८ फिल्म
नेपालका फिल्म हलमा पनि अहिले बहार छाएको छ। यतिवेला ८ ओटा फिल्महरु हलमा चलिरहेका छन्।
२ ओटा नेपाली फिल्महरु सस्पेन्स थ्रिलर जनरामा बनेको ११ः५५ र सामाजिक कथामा बनेको दौपती शुक्रबारदेखि हलमा लागेका छन्।
अघिल्ला हप्ताहरुबाट प्रर्दशन भइरहेका बायोपिक एञ्जिला, एक्सन फिल्म आउट लः दफ २१९, सोसियो पोलिटिकल थ्रिलर जनरामा बनेको राजागञ्ज, प्रेमकथामा आधारित होष्टल ३ र सामाजिक सँगै हाँस्य विधामा बनेको लाजशरणम् पनि हलमा लागिरहेका छन्।त्यस्तै डिज्नीले तयार पारेको फिल्म ह्वाइट स्नो पनि हलमा राम्रो सो टाइमका साथ चलिरहेको छ।
कहिले गुलियोको “ग” पनि फेला नपर्ने, कहिले लड्डु, पेडा, जुलेवी सबै एकैसाथ। एकैचोटी धेरै गुलियो खाँदा तितो हुन्छ भन्ने उखान त चलिरहेकै हो। त्यसैले आफ्नाे स्वास्थ्यलाई हानी नगर्ने गरेर मिठाई छानीछानी खानुहाेला है त!