
कुराकानी । के तपाईंले पंचायतको नयाँ सिजन हेर्नू भयो ? कस्तो लाग्यो त ? अघिल्लो सिजनभन्दा राम्रो छ कि छैन ?
सधैं जस्तै कुनैपनि वेब सिरिजको नयाँ सिजन आउँदा सबैभन्दा पहिले मानिसहरूले सोध्ने प्रश्न यही हुन्छ। तर कुरा जब ‘पंचायत’ जस्तो ‘हाइ डिमाण्डेड वेब सिरिज’ को हुन्छ, तब सबैको आशा हुन्छ—नयाँ सिजन अघिल्लो भन्दा सयगुना राम्रो हुनुपर्छ।
जसले ‘पंचायत’ को मूल आत्मालाई बुझ्दछन्, उनीहरूलाई थाहा छ, यो सिरिजमा दुईवटा विशेषता छन्—
१) यसको गाउँले जीवन
२) त्यसमा आउने रमाइला परिस्थितिहरूलाई सरपंच र उनका साथीहरूले सम्हाल्ने तरिका
आउनुस! अब एकछिन यो सिजनको बारेमा कुरा गरौं ।
निर्देशन
यो वेब सिरिजमा साना कुराहरूलाई जुन गहिराइ र रमाइलो ढंगले देखाईएको छ , त्यो साँच्चै नै गज्जबको छ । चाहे त्यो सचिवजीको मुखबाट प्रधानजीको लाइन—“ई ससुर…” भन्ने होस् वा स्वयं प्रधानजीले आफ्ना ससुरालाई नै “ई ससुर” भन्ने होस्—यी सबैले फेरि पुरानै ‘पंचायत’को याद दिलाउँछ।
प्रह्लाद चाको एउटा संवाद छ “यस्तो लागिरहेछ मानौ मेरो छोरा शहीद भएर मलाई लटरी लाग्या हो…” ले गहिरोसँग मनमा छुन्छ। कमलो मन भएका वा भोगेका मानिसहरुको मुटु भक्कानो पर्न सक्छ। कतिपय दृष्यहरूमा यी पात्रहरूसँगै दर्शकलाई पनि दुखी र भावुक बनाउन सिरिज सफल भएको छ ।
निर्देशक दीपक मिश्रा र अक्षत विजय वर्गीयले सिजन ४ का केही एपिसोडसम्म पुरानै फ्लेवर दिएका छन्। तर अन्तिमतिर आएका केही एपिसोडमा जति उर्जा हुनुपर्ने थियो त्यो भने हराएको छ। केही दृश्यहरू अनावश्यक लम्ब्याइएको जस्तो महसुस लाग्छ । कथाको प्रवाह गति ढिलो हुँदा र समान प्रकारका परिस्थितिहरू दोहोरिँदा कहि कतै अल्छि पनि लाग्न सक्छ। ।
अन्तिमका दुई–तीन एपिसोड त यस्ता लाग्छन्, मानौं हतारमा बनाइएका हुन्। तर पनि कथा अनुसार निर्देशकद्वयले राम्रै सँग ढाल्ने प्रयास भने गरेका छन्।
अभिनय
सचिवको भूमिकामा जितेन्द्रको यसपालि केही फरक अन्दाज देख्न पाइन्छ। रोमान्टिक दृश्यहरूमा पनि उनी निकै प्रभावशाली लाग्छन्। प्रधानजी, रघुवीर यादव अघिल्ला सिजनहरूजस्तै यो सिरिजको पनि मेरुदण्ड हुन्। नीना गुप्तालाई यसपटक अघिल्लो सिजनभन्दा बढी अवसर दिइएको छ र उनले त्यो जिम्मेवारी बखूबी निभाएकी छन्।
फैसल मलिक, चन्दन रॉय र सानविका पनि हरेक पटकझैं राम्रो लाग्छन्। बनराकस ( भुषण) र क्रान्ति देवि अर्थात दुर्गेश कुमार र सुनीता राजवर—यी दुई पात्रहरू यस्ता छन्, जसले तपाईंको दिमाग बेस्सरी हल्लाउँछन्, र हाँस्नको लागि बाध्य बनाउछन्। यसमा उनीहरू पूर्ण सफल छन्।
विनोदको भूमिका निभाउने अशोक पाठकलाई यसपटक धेरै स्पेस दिइएको छ, जुन उनले राम्ररी उपयोग गरेका छन्। विधायकको भूमिकामा पंकज झा जमेका छन। उनको पनि कमिक टाइमिङ्ग गज्जब छ। उदाहरणको लागि भोजपुरी गीतमा उनको नृत्य आदिलाई लिन सकिन्छ।
सांसदको सानो भूमिकामा स्वानन्द किरकिरेले पनि राम्रो काम गरेका छन्। आशा गरौं, उनलाई आगामी सिजनहरूमा अझ धेरै देख्न पाइनेछ।
कथा/ पटकथा
यो सिजनका सुरुवातका केही एपिसोड त राम्रा नै छन्, चाहे त्यो सचिवजीको भुषणसँग माफी माग्न जाँदा नसामा भएको दृश्य होस्, वा मंजु देवीले आफ्ना श्रीमानको भाँचिएको हातमा कच्याक्क ताना हान्ने दृश्य—“अब त के तोपको गोला लाग्नुपर्छ तब मात्र चोट लाग्यो भन्ने हो?”
बनराकससँग भोजपुरी गीतमा विधायकजीको नाँच होस्, विनोदलाई पार्टीमा तान्ने प्रयास होस्, वा प्रधानजीको घरमा रेड परेपछि बनेको रमाइलो अवस्था नै किन नहोस्—यी सबैले सुरुका ३-४ एपिसोडहरूमा पुरानै झल्को दिन्छन्। त्यस्तै बनराकसको लोभ र उनको पत्नी क्रान्ति देवीको कपटीपन त अर्को स्तरमै पुगेको छ। यसैसँगै विनोद र माधवका पात्रहरूलाई पनि अघिल्लो सिजनभन्दा बढी स्पेस दिइएको छ।
पाँचौं छैठौं एपिसोडपछि भने सीरीजसँग कनेक्ट नै हुन गाह्रो पर्छ । यो पूर्णतया स्कृप्ट लेखनकै कमजोरी मान्न सकिन्छ । यदि यो सिजनको सबै भन्दा नराम्रो केही कुरा छ भने त्यो हो लेखन।
कथालाई समेट्न नसक्नु लेखकको नै कमजोरी हो। उदाहरणको लागि भन्ने हो भने , अन्तिमका एपिसोडहरूमा जहाँ मेकर्सले पंचायत चुनाव, क्रान्ति-बनराकस र पूर्व विधायकमाथि बढी फोकस गर्न थाल्छन्। यहाँ जसरी कथा अगाडि बढाइन्छ त्यो अघिल्ला सिजनहरूजस्तो दमदार छैन।
कहिलेकाहीँ त पंचायतको प्रसिद्ध चौकडी टिम—प्रधान, सचिव, प्रह्लाद चा र विकासबीचको केमिस्ट्री नै कमजोर देखिन्छ। सीजन ४ का अन्तिम एपिसोडहरूमा जसले केही हदसम्म ध्यान खिचिरहन्छ, त्यो हो सचिवजी र रिंकीको प्रेमकथा। तर त्यो प्रेमकथा पनि अघिल्लो सिजनको अपेक्षा अनुसार राम्ररी देखाइएको छैन। यो सबका लागी लेखक पूर्णत: जिम्मेवार छन्।
हेर्ने कि नहेर्ने
केही कमजोरीहरू हुँदाहुँदै पनि ‘पंचायत’ सिजन ४ ले सबै इमोशनहरू राम्रोसँग समातेको छ। त्यसैले यसको प्रतिक्रिया पनि मिश्रित नै छ। यदि तपाई यसको फ्यान हुनुहुन्छ भने सम्भवतः यो सिजन पूरा हेरिसक्नुभएको होला—सायद अलिक निराश पनि हुनुहुन्छ, र यसको कारण मैले माथी नै भनिसकें यदि डाई-हार्ड फ्यान होइन भने चाहिँ आरामले हेर्न सक्नुहुन्छ। लाइट कमेडी मन पर्छ भने, यो सिजन लागि ठीकै हुनेछ।