Blog

  • पीडालाई ‘कन्टेन्ट’ र ‘भाइरल सामग्री’का रूपमा प्रस्तुत गर्नु उचित होइन: प्रेस काउन्सिल अध्यक्ष श्रेष्ठ

    पीडालाई ‘कन्टेन्ट’ र ‘भाइरल सामग्री’का रूपमा प्रस्तुत गर्नु उचित होइन: प्रेस काउन्सिल अध्यक्ष श्रेष्ठ

    कुराकानी । प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले बलात्कार र हत्याजस्ता गम्भीर अपराधको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेका बेला अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि अदालतको फैसला नआउँदै नावालिगको बयान भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रिया नभएको बताएका छन्।

    श्रेष्ठले सत्य बाहिर आउनुपर्ने र दोषीले कानुनअनुसार सजाय पाउनुपर्नेमा जोड दिँदै न्यायको प्रक्रियामा संवेदनशीलता र मानवीय मर्यादा कायम गर्नुपर्ने बताएका हुन्।

    उनका अनुसार पीडितको पीडालाई ‘कन्टेन्ट’ र अभियुक्तको बयानलाई ‘भाइरल सामग्री’का रूपमा प्रस्तुत गर्नु उचित होइन।

    “न्याय चाहिन्छ, तर न्यायको बाटोबाट। सत्य चाहिन्छ, तर संवेदनशीलतासहित। समाचार चाहिन्छ, तर मानवीय मर्यादा जोगाएर,” श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

    उनले विशेषगरी नाबालकसँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा थप संवेदनशील हुनुपर्ने सन्देश दिएका छन्।

  • ‘सारथी’को प्रदर्शन मिति घोषणा, निरुता सिंह फरक अवतारमा

    ‘सारथी’को प्रदर्शन मिति घोषणा, निरुता सिंह फरक अवतारमा

    कुराकानी । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ।

    कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।

    सार्वजनिक पोस्टरमा निरुतालाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा देखाइएको छ। काखमा दुधे बालक बोकेकी निरुताको पैतालाबाट रगत बगिरहेको देखिन्छ। पोस्टरको यो रहस्यमय प्रस्तुतिले चलचित्रको कथाबारे दर्शकमा कौतूहल बढाउने देखिन्छ।

    चलचित्रमा लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एकसाथ देख्न पाइनेछ। त्यसैले पनि ‘सारथी’प्रति दर्शकको चासो बढेको छ।
    किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको दुर्गम क्षेत्र गुर्जामा गरिएको हो।

    चलचित्रमा निरुता सिंह र उत्तम प्रधानसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङलगायत कलाकारको अभिनय छ।

    रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन्। छायांकन संकल्प भुजेलले गरेका हुन्।

    राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको ‘सारथी’मा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालले गीतमा स्वर दिएका छन्।

    चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाउने तयारी गरेको छ।

    निरुताको फरक अवतार र रहस्यमय पोस्टरले ‘सारथी’प्रति उत्सुकता बढाए पनि चलचित्रले दर्शकलाई कत्तिको प्रभाव पार्छ भन्ने कुरा भने प्रदर्शनपछि नै थाहा हुनेछ।

  • सिम्रन खड्का, जताततै उनकै चर्चा

    सिम्रन खड्का, जताततै उनकै चर्चा

    कुराकानी । कलाकार सिम्रन खड्का यतिबेला जताततै छाएकी छन्।

    युट्युबमा ‘बेहुली फ्रम मेघौली’, केही हप्तादेखि हलमा चलिरहेको ‘गौंथली’ अनि यो हप्तादेखि ‘मास्टर्नी’।

    फिल्म फेरिँदै गए, पात्र फेरिँदै गए, तर दर्शकको स्क्रिनमा सिम्रनको अनुहारचाहिँ लगातार दोहोरिइरहेको छ।

    कान्तिपुर फिल्म एकेडेमीमा पढेर अभिनयमा प्रवेश गरेकी सिम्रनले डेब्यु फिल्म ‘प्रेमगन्ज’ मा नायकलाई एकोहोरो मन पराउने पात्रको भूमिका निर्वाह गरेकी थिइन्।

    पहिलो फिल्मबाटै दर्शकको ध्यान खिचेकी उनले ‘अगस्त्य’ लगायतका फिल्ममा पनि सानातिना भूमिका गरिन्।

    तर, ‘बेहुली फ्रम मेघौली’ मा कलाकार स्वस्तिमा खड्कासँग स्क्रिन सेयर गरेपछि भने सिम्रन अझ धेरै दर्शकको नजरमा परिन्।

    यतिबेला उनको अर्को फिल्म ‘गौंथली’ लगातार छैटौँ हप्तामा प्रदर्शन भइरहेको छ। व्यावसायिक रूपमा समेत राम्रो प्रदर्शन गरिरहेको फिल्ममा सिम्रनको अभिनयले दर्शकको मन जितिरहेको छ।

    त्यसमाथि, यही हप्तादेखि उनी अभिनित ‘मास्टर्नी’ पनि प्रदर्शनमा आएको छ। अर्थात्, एकपछि अर्को फिल्ममा सिम्रनको उपस्थिति।

    आफूले थाहा पाउने बेलादेखि नै कलाकार बन्ने इच्छा रहेको बताउने सिम्रनका लागि अहिलेको त्यहि सपनाले आकार लिइरहेको समय हो जस्तो लाग्छ ।

    फिल्म फेरिए पनि अनुहार उही । सिम्रनको ‘स्क्रिन टाइम’ तपाईले भने कत्तिको इन्जोय गरिरहनुभएको छ, प्रतिक्रिया दिनुहोला ।

  • गंगा दाहालको जवाफ : छानबिनबाट भाग्दैनौं, तर आधारहीन आरोप स्वीकार्य छैन

    गंगा दाहालको जवाफ : छानबिनबाट भाग्दैनौं, तर आधारहीन आरोप स्वीकार्य छैन

    कुराकानी। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवार राज्यका निकायले गर्ने जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको बताएकी छन्।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले आफ्नो परिवारविरुद्ध समय–समयमा विभिन्न अफवाह फैलाउने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले आफूहरूबाट आर्थिक अनियमितता वा पदको दुरुपयोग नभएको दाबी गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएकी हुन्।

    दाहालले आफूहरूले यसअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै गलत गरेको पुष्टि भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएकी छन्। तर, बिना आधार लगाइने आरोप भने स्वीकार्य नहुने उनको भनाइ छ।

    उनको यस्तो धारणा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूसहित गंगा दाहालको सम्पत्तिमाथि अनुसन्धान अघि बढाइरहेका बेला आएको हो। आयोगले गंगा दाहालसहित राजेश बज्राचार्य र भानु देउवाको सम्पत्ति तथा आर्थिक कारोबारबारे विभिन्न सरकारी निकायसँग विवरण मागेको छ।

    यसअघि पनि गंगा दाहालले आफू र परिवारमाथि ‘मिडिया ट्रायल’ भइरहेको दाबी गर्दै राज्यले आवश्यक ठाने जुनसुकै अनुसन्धानमा सहयोग गर्ने बताएकी थिइन्।

  • सरकारको प्राथमिकतामा शिक्षा ऐन

    सरकारको प्राथमिकतामा शिक्षा ऐन

    कुराकानी। सरकारले लामो समयदेखि थाती रहेको शिक्षा ऐन जारी गर्ने तयारी अघि बढाएको छ। शिक्षा ऐन निर्माणअघि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत बिहीबार सुर्खेतमा सरोकारवालासँग छलफल गरिएको हो।

    छलफलमा करिब २७५ जना शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, निजी विद्यालयका छाता संगठन, जनप्रतिनिधि, स्थानीय तहका शिक्षा प्रमुख तथा विभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधिको सहभागिता थियो।

    कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा ऐन र नियमावली एकैपटक निर्माण गर्नुपर्ने भन्दै नयाँ सोच र विकल्पसहित सुझाव दिन शिक्षक तथा सरोकारवालालाई आग्रह गरे।

    शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षामा देखिएका समस्या कसका कारणले आए भन्नेभन्दा समाधान कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए। उनले शिक्षा क्षेत्रको रूपान्तरणका लागि शिक्षक तथा कर्मचारीसँग मन्त्रालय साझेदारी गर्न तयार रहेको बताए।

    छलफलमा सहभागी शिक्षक तथा कर्मचारीले सेवा सुविधा, स्थायित्व, सामाजिक सुरक्षा, दुर्गम भत्ता, सरुवा, बढुवा तथा दरबन्दीलगायतका विषय शिक्षा ऐनमा समेट्न माग गरेका छन्। राहत शिक्षकले सेवा अवधि गणना गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने तथा सामाजिक सुरक्षा कोषमा सहभागी हुने व्यवस्था गर्नुपर्ने माग राखे।

    विद्यालय कर्मचारीलाई संघीय सरकारअन्तर्गत राख्नुपर्ने, सेवा सुविधामा रहेको विभेद अन्त्य गर्नुपर्ने तथा शिक्षामा हुने राजनीतिक हस्तक्षेप रोक्नुपर्ने मागसमेत उठेको छ।

    विद्यालय व्यवस्थापन समिति महासंघले भने शिक्षा क्षेत्रका सबै नीतिको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्नेमा जोड दिएको छ। निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयसरह सेवा सुविधा, नियुक्तिपत्र, बढुवा र सामाजिक सुरक्षा कोषमा समावेश हुने व्यवस्था गर्न माग गरेका छन्।

    शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सबै सरोकारवालासँग क्रमशः छलफल गर्दै शिक्षा ऐनको मस्यौदा तयार भइरहेको जानकारी दिए। उनले लामो समयदेखि थाती रहेको शिक्षा ऐन जारी गर्नु सरकारको प्राथमिकता रहेको बताए।

    सरकारले सबै पक्षका साझा माग सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउने तयारी गरेको र अहिले तालिकाबद्ध रूपमा मस्यौदा निर्माणको काम अघि बढिरहेको सापकोटाले बताए।

  • गृहमन्त्री गुरुङलाई पत्रकारको प्रश्न– ‘भोट फिर्ता’ कसरी लैजाने हो?

    गृहमन्त्री गुरुङलाई पत्रकारको प्रश्न– ‘भोट फिर्ता’ कसरी लैजाने हो?

    कुराकानी। राजनीतिमा भाषण गर्दा शब्द तौलिनुपर्छ भनिन्छ। तर गृहमन्त्री सुधन गुरुङले गोरखामा मतदातासँग गरेको एउटा ‘जोक’ अहिले उनैलाई पत्रकारको प्रश्नको घेरामा पुर्‍याएको छ।

    गोरखाको शहीद लखन गाउँपालिका–९ का मतदाताले चुनावका बेला गरेको प्रतिबद्धता सम्झाउँदै विकास निर्माणका कामबारे प्रश्न गरे। खासगरी ल्याबका लागि बजेट छुट्याउने भनिएको वाचा पूरा नभएको विषय उठेपछि गुरुङले चार महिनामै सबै कुरा परिवर्तन खोज्न नमिल्ने भन्दै ‘भोट फिर्ता लैजानुस्’ भनेका थिए।

    अब गृहमन्त्रीले भनेको ‘भोट फिर्ता’को कुरा मतदातामै सीमित रहेन। बुधबार सिंहदरबारमा पत्रकारले भेटेपछि सोधिहाले ‘भोट फिर्ता कसरी लिने? फेरि चुनाव गर्ने हो?’

    गुरुङको जवाफ थियो, ‘जोक गरेको कुरालाई यत्रो ठूलो बनाएर काण्ड बनाउने हो?’ आफ्नै पार्टीका मान्छेबीचको कुराकानी भएकाले त्यसलाई मजाकका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

    तर पत्रकारको अर्को प्रश्न अझै तिखो थियो– ‘यो जोक गर्ने विषय हो?’

    गुरुङले आफूहरूबीचको सल्लाह कुराकानी भएको भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गरे।

    त्यसपछि कुराकानी पुग्यो अर्को चर्चित विषयमा, गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन। पत्रकारले प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनेर सोधे।

    जवाफ आयो ‘तपाईंलाई ल्याएर देखाउँछु म।’

    गुरुङको सम्पत्तिमाथि प्रश्न उठेपछि सरकारले छानबिन गरेको थियो। प्रतिवेदन बुझाइसकिएको भए पनि त्यसलाई सार्वजनिक नगरिएको विषयमा भने प्रश्न उठ्दै आएको छ। यसअघि प्रतिवेदनले गुरुङलाई सफाइ दिएको भन्दै उनलाई पुनः गृहमन्त्री बनाइएको र प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै पारदर्शितामाथि आलोचना पनि भएको छ।

    यसरी गोरखामा मतदातालाई भनिएको ‘भोट फिर्ता’ देखि सिंहदरबारमा पत्रकारलाई दिइएको ‘जोक हो’ र ‘प्रतिवेदन ल्याएर देखाउँछु’ भन्ने जवाफसम्म आइपुग्दा गृहमन्त्री गुरुङको केही मिनेटको सवाल जवाफ राम्रै चर्चाको विषय बनेको छ।

    अब गोरखाका मतदाताले साँच्चै भोट फिर्ता लैजाने हुन् कि गृहमन्त्रीको त्यो कुरा ‘जोक’मै सीमित हुने हो–त्यो चाहिँ राजनीति र समयले नै बताउला।

  • प्रेस काउन्सिल नेपालको सदस्यमा प्रकाश भक्त माथेमा नियुक्त

    प्रेस काउन्सिल नेपालको सदस्यमा प्रकाश भक्त माथेमा नियुक्त

    कुराकानी। फोटो पत्रकार तथा फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष प्रकाश भक्त माथेमा प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन्। उनको नियुक्तिसँगै फोटो पत्रकारिता क्षेत्रबाट प्रेस काउन्सिलमा थप प्रतिनिधित्व भएको छ।

    माथेमा लामो समयदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। फोटो पत्रकार क्लबको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका उनले फोटो पत्रकारिताको व्यावसायिक विकास, पत्रकारको अधिकार तथा फोटो पत्रकारको पेशागत मर्यादाका विषयमा काम गर्दै आएका छन्।

    पत्रकारिताको बदलिँदो स्वरूपसँगै फोटो तथा दृश्य सामग्रीको विश्वसनीयता, सम्पादन, डिजिटल प्रविधिको प्रयोग र पत्रकार आचारसंहिताको पालनाजस्ता विषय थप महत्वपूर्ण बन्दै गएका बेला माथेमाको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

     

  • जनआस्था प्रकरणबारे प्रेस काउन्सिलमा पत्रकारिता विभाग प्रमुखहरूसँग छलफल

    जनआस्था प्रकरणबारे प्रेस काउन्सिलमा पत्रकारिता विभाग प्रमुखहरूसँग छलफल

    कुराकानी। जनआस्था प्रकरणका विषयमा प्रेस काउन्सिल नेपालमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयलगायतका आमसञ्चार र पत्रकारिता विभाग प्रमुखहरूसँग विशेष छलफल भएको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार उक्त छलफलमा प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता, कानुनी दायित्व र डिजिटल मिडियाको बदलिँदो स्वरूपबारे गम्भीर समीक्षा गरिएको थियो।

    छलफलका क्रममा पत्रकार संलग्न भएका सबै विषय काउन्सिलको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारिएको छ। पत्रकारिता गर्दा आचारसंहिता उल्लंघन भएको वा प्रेस स्वतन्त्रतामा अवरोध पुगेको अवस्थामा मात्र काउन्सिलको भूमिका रहने र पत्रकारिताबाहेक अन्य काममा कानुन उल्लंघन भएमा सोहीअनुसारको कानुनी प्रक्रिया आकर्षित हुने कुरामा जोड दिइएको छ। त्यसैगरी समाचारमा कसैमाथि आरोप लगाउँदा सम्बन्धित व्यक्तिको अनिवार्य प्रतिक्रिया लिनुपर्ने, समाचार र विचारबीच स्पष्ट भिन्नता हुनुपर्ने तथा समाचारका शीर्षक र भाषाशैलीले आफैं फैसला सुनाए जस्तो हुनु नहुने निष्कर्ष निकालिएको छ।

    यसैगरी समाचारमा प्रयोग गरिएका फोटो तथा सामग्रीहरू वास्तविक हुन् कि एआईबाट निर्मित वा सम्पादित हुन् भन्ने परीक्षण गर्नुपर्ने र व्यक्तिको निजी जीवन सार्वजनिक हितसँग जोडिएको छ वा छैन भन्ने पक्षलाई सधैं ध्यान दिनुपर्ने बताइएको छ। महिला तथा संवेदनशील विषयमा सनसनीपूर्ण प्रस्तुति नगर्न र पीडितलाई थप पीडा दिने सामग्री रोक्न आग्रह गर्दै समाचार प्रकाशन गर्दा त्यसको सम्भावित प्रभावको मूल्याङ्कन गर्नुपर्ने कुरामा सहभागीहरूले जोड दिएका छन्। छलफलमा ‘पत्रकार भएकाले जे गरे पनि छुट’ वा ‘समाचार लेखेकै भरमा कानुनी कारबाही’ जस्ता दुवै अतिवादी सोचबाट बचेर प्रेस स्वतन्त्रता र उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार काउन्सिलले भविष्यमा यस्ता जटिल केसहरूका लागि व्यावहारिक ‘गाइडलाइन’ वा ‘केसबुक’ समेत विकास गर्न सक्नेछ।

  • नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

    कुराकानी। वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। उनी यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए।

    डा. पौडेलले सरकारी अस्पतालको व्यवस्थापन, स्वास्थ्य सेवा सुधार तथा चिकित्सा शिक्षाका विषयमा काम गर्दै आएका छन्। उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारेका थिए।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस तथा नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका पौडेल नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य र संयोजकका रूपमा समेत काम गरिसकेका छन्।

    अब काउन्सिलको अध्यक्षका रूपमा उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण र चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

  • आखिर किन रिसाइन् सांसद आशिका तामाङ?

    आखिर किन रिसाइन् सांसद आशिका तामाङ?

    कुराकानी । यतिबेला सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै छ। आशिका तामाङ पनि रास्वपाकै सांसद। तर आफ्नै पार्टीको सरकार भएका बेलामा पनि आशिका संसद्को बैठक चलिरहेकै समयमा रिसाइन्, अनि संसद् छाडेर हिँडिन्। अहिले उनको त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल छ।

    आखिर आशिका यति रिसाउनुको कारणचाहिँ के थियो?

    आशिकाले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा पनि राखेकी छन्। उनको भनाइअनुसार परराष्ट्रमन्त्री प्रश्नोत्तरका लागि रोस्ट्रममा उभिएका थिए। तर कम्बोडियामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउने विषयमा मन्त्रीको जवाफ चित्त नबुझेपछि उनले पुनः प्रश्न गर्न खोजिन्। प्रश्न गर्न नपाएपछि उनले प्रश्न गरेकी छन्, ‘यो कस्तो सदन हो?’

    अब अलिकति पछाडि फर्किऔँ।

    धादिङको धुनिवेशी १ का सन्तोष राई रोजगारीका लागि अवैध बाटो हुँदै कम्बोडिया पुगेका थिए। त्यहाँ बिरामी परेपछि उपचारकै क्रममा उनको मृत्यु भयो। शव नेपाल ल्याउने बेला अस्पतालको उपचार खर्च, शवगृह शुल्क र हवाई भाडासहित करिब ८ हजार अमेरिकी डलर आवश्यक पर्ने अवस्था आयो।

    सन्तोषका बुवा र श्रीमतीको अवस्था देखेपछि आशिका उनीहरूलाई लिएर मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म पुगिन्। तर सरकारी तहबाट तत्काल समाधान ननिस्किएपछि उनले यही विषय संसद्मा उठाउने अडान लिइन्।

    त्यही विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि पुग्यो। मन्त्रीको जवाफ चित्त बुझेन, आशिकाले फेरि प्रश्न गर्न खोजिन्। तर सभामुखले उनलाई थप बोल्ने समय दिएनन्। त्यसपछि के चाहियो र, आशिका रिसाइन्, अनि संसद् भवनबाट बाहिरिइन्।

    अहिले सामाजिक सञ्जालमा बहसचाहिँ संसद्बाट बाहिरिएको भिडियोमाथि छ। कसैलाई आशिकाको शैली मन परेको छ, कसैलाई संसदीय मर्यादाको प्रश्न लागेको छ।

    आशिका रिसाएको कारण संसद् छाड्नु मात्र होइन, उनी जुन विषय लिएर संसद्मा प्रश्न गर्न खोजिरहेकी थिइन्, त्यो विषय एउटा नेपाली नागरिकको शव घर फर्काउने विषय थियो।

    रास्वापामा यस्ता व्यक्ति छन्, जसले बैदेशिक रोजगारीमा गएकाहरुको दु:ख बेचेरै राजनितीक यात्रा तय गरे ।

    हजुर यहाँ कुरा हुँदैछ, रास्वापा सभापति रवि लामिछानेको । उनि आजको स्थानमा पुग्ने बाटो ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम हो । जसमा आशिकाले उठाएजस्तै समस्या समाधान गर्दै जनताको मन जितेका हुन् उनले ।

    अहिले यहि कुराले एक सांसदले संसद नै छाडेर हिड्नुपरेको छ । अब प्रतिनिधिसभामा सरकार र आफ्नै सांसदबीच असमझदारी बढेपछि रवि लामिछानेले मन्त्री र सांसदबीच छलफल गर्ने त भएका छन् । हेरौं कस्तो निर्णय आउँछ । तपाईलाई के लाग्छ हामीलाई भन्नुहोला है ।