
कुराकानी । यो बर्ष दशैंका लागि घुमघाम ठप्प बनेको छ । जेनजी आन्दोलनले थला परेको पर्यटन व्यवसाय दशैंमा समेत उठ्न सकेन । त्यसैमाथी पानी परेर बाटोमा पहिरो गएकाले सबैभन्दा धेरै प्रभाव पर्यटन क्षेत्रलाई नै परेको देखिन्छ ।
अघिल्लो वर्षकै कुरा गरौं । बन्दीपुरमा दशैंको समय पर्यटकले भरिन्थे ।
दशैंको समयमा समेत दैनिक एक हजार भन्दा बढी पर्यटक बन्दीपुर पुग्थे र प्रकृतिको सुन्दर ठाउँ झनै गुल्जार बन्थ्यो ।
तर यो बर्ष दशैं निराश बनेको छ बन्दीपुरका लागि ।
गएको भदौं महिनामा भएको आन्दोलनको प्रभावले त्यो समयदेखि नै बन्दीपुर सुनसान बनेको थियो । दशैंमा केहि होला कि भनेर पर्यटक कुरिबसेका होटल तथा होमस्टेका सञ्चालन यतिवेला निराश बनेका हुन् । आन्दोलन हुनुअघि त्यहाँका होटल तथा होमस्टेमा पर्यटकको अकुपेन्सी शत प्रतिशत रहेको व्यवसायीहरु बताउँछन् ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका हुन् ।
बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् ।
दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ ।
उनका अनुसार, दसैँ तिहारजस्ता पर्वमा बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय हो । तर यस वर्षको दसैँ तिहारका लागि बन्दीपुरको अवस्था जेनजीको प्रदर्शनपछि बदलिएको छ ।
दसैं तिहारमा अघिल्लो वर्ष उल्लेख्य मात्रामा पर्यटक आउने गरेपनि यस वर्ष भने भएको बुकिङ समेत रद्द हुन थालेको उनको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाले केही समय अगाडिमात्रै काठमाडौँमा बन्दीपुर भ्रमण वर्षको भव्य प्रचारात्मक कार्यक्रम गरेको थियो । त्यसले यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास थियो । तर जेनजी प्रदर्शनपश्चात् परिस्थति बदलिएको गुरुङको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित छ भन्ने सन्देश दिएर पर्यटकलाई आमन्त्रण गर्नुपर्ने चुनौती बताउँछन् ।
अध्यक्ष थापाले आगामी विश्व पर्यटन दिवसका दिन बन्दीपुर आउने पर्यटकलाई स्वागतको कार्यक्रम राखिएको छ ।
विसं २०८१ मा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ ।
यस वर्ष त्यसको दोब्बर पर्यटक भित्र्याउने लक्ष्य थियो । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
म्याग्दी पनि सुनसान
मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् ।
जेनजी आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए ।
गएका वर्षहरुमा असोज लागेसँगै मुस्ताङ जानेआउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे ।
घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो ।
सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्टमात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए ।
घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् ।
असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने गर्दथे ।
म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे–घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ ।
बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ ।
भुरुङ–तातोपानी बेनी–जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो । भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताए ।