किताब जात्रा

किताब जात्राका सातौं संस्करण नेपाल पुलिस क्लबमा 

किताब जात्राका सातौं संस्करण नेपाल पुलिस क्लबमा 

  • कुराकानी

  • सोमवार, मंसिर २३, २०८२

  • 43
    SHARES
किताब जात्राका सातौं संस्करण नेपाल पुलिस क्लबमा 

कुराकानी । किताब यात्रा फाउण्डेशनकाे आयाेजनामा हुँदै आएको किताब जात्राको सातौं संस्करण यस वर्ष मंसिर २५ र २६ गते आयोजना हुँदैछ ।

साहित्य, भाषा, कला र संस्कृतिको प्रवर्द्धनको उद्देश्यले आयोजना हुँदै आएको यस जात्रा यो वर्ष पनि काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ ।

सामाजिक गहिराई, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि विभिन्न क्षेत्रका विज्ञहरू दिशाबोधका विषयमा गहन बहस र समीक्षाका साथै सांगीतिक महोलबीच कार्यक्रम हुने किताब जात्रा फेष्टबलका निर्देशक ऋषिराम अधिकारीले बताए।

‘किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ उनले भने। समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिन चाहेको उनको भनाइ छ।

अधिकारीले सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। फेस्टिबलमा दुइ दर्जन भन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको उनको भनाइ छ।

कार्यक्रममा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ। फेस्टिबलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।

किताब जात्रामार्फत नेपाली साहित्यको बजार विस्तारका साथै सांस्कृतिक तथा पर्यटकीय हिसाबले पनि घनिभूत बनाउन खोजेको अधिकारीले बताए। ‘जेनजी आन्दोलनपछि खलबलिएको समाजलाई लयमा ल्याउन किताब जात्रा फेष्टिबलको केही न केही कन्ट्रिव्युशन हुन्छ भन्ने लाग्छ,’ उनले भने।

महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुती, सुदूरपश्चिमेली छलिया नाच, तराई मधेशको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइने छ।

स्वस्ती बाचनबाट सुरु गरिने किताब जात्राको उद्घाटनलाई भव्य बनाउन लाखे नाचसहितको झाँकी, अभिनेता नाजिर हुसेनको कविता बाचन, एआई साहित्यलगायतको प्रदर्शन हुने छ। साथै जात्रामा ऋषभ काफ्ले र प्रभात लामाको स्टाण्डाप कमेडी हुने छ।

एनपीएलको महोल छाइरहेको समयमा क्रिकेटरहरूको सत्रले थप रोचकता थप्ने अधिकारीको विश्वास छ। सिनेमा संवाद, ओपन माइकमा ५० कविका प्रस्तुती, पोर्टेबल लाइब्ररीको उद्घाटन पनि गरिने छ।

साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, कवि, लेखक, गीतकार नवराज लम्साल, लेखक सुबिन भट्टराई, पत्रकार टीकाराम यात्री, बैंकर अनिल केशरी शाह, पत्रकार राजेन्द्र बानिया, रुपेश श्रेष्ठ, विराट अनुपम, संजय सिलवाल गुप्ता, सम्पदा लिम्बु, विश्व लिम्बू, उत्सव रसाइली, दीपक राज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लब प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री, नरेश भट्टराई, लगायत व्यक्तिहरू विभिन्न सेसनका बक्ता रहने छन्।

साथै कार्यक्रममा ‘पोएट आइडल’ विजेता सिम्योन सुकिता राई र महेश बाबू तिनल्सिनाका छुट्टाछु्ट्टै किताब बिमोचन गरिने छ। कार्यक्रमको दोस्रो दिन झुमा लिम्बुको साङितिक प्रस्तुती र कवाली सांगीतिक प्रस्तूति पनि रहने छ।

यसैगरी किताब जात्रा फेष्टिबलका अवसर पारेर किताब यात्रा फाउण्डेशनले दुई जना व्यक्तित्वलाई ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology