फिल्म समीक्षा

पशुपति प्रसाद २ः भष्मे डन – छ्या! कस्तो रुने हाँस्ने एकै पटक भयो

पशुपति प्रसाद २ः भष्मे डन – छ्या! कस्तो रुने हाँस्ने एकै पटक भयो

संवादमै भनिएको हुन्छ, छ्या! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने ।

  • कुमार विनोद पौड्याल

  • शनिबार, कार्तिक ४, २०८०

  • 2.5K
    SHARES
पशुपति प्रसाद २ः भष्मे डन – छ्या! कस्तो रुने हाँस्ने एकै पटक भयो

बिपत् नै फलिफाप भएको पात्र भष्मेलाई कोरोनाले लखपति बनायो । सम्झनुस् त, यसअघि पनि उ भुइँचालोका कारण बाँचेको पात्र हो नि !

फिल्म पशुपति प्रसादमा भष्मेको थोरै पृष्ठभुमि बताइएको थियो । मुगुमा जन्मिएको, बाउ आमाले संस्थालाई जिम्मा लगाएर पठाएको । संस्थाले पढाउन त बोर्डिङमै पढाएको तर जेलमा जस्तै राखेको । कतिपय साथीलाई खैरेले लगेको तर उ भने मासुभात खाएर भाग्ने तयारीमा लागेको आदि ।

त्यहि समयमा भुइँचालो गयो । उ जिउँदै आर्यघाटमा आयो र बाँच्यो । फिल्मको कथा ‘ पशुपति प्रसाद ‘ को त्यहि पृष्ठभुमिबाट अगाडी बढेको छ ।

सात बर्षमा भष्मेको पात्र धेरै कुराहरु परिवर्तन भएका छन् । पशुपति प्रसाद खकुरेलको मितबा अब उसले बा भएको छ । क्याण्डी क्रस खेल्ने उ अब पब्जी खेल्छ । फिल्ममा बितेका सात बर्षमा भष्मेमा आएका परिवर्तन मज्जासँग देख्न सकिन्छ ।

फिल्मको मुख्य द्वन्द्व ‘ लावारिस ‘ भन्ने शब्दबाट सुरु भएको छ । अब उसलाई जसरी हुन्छ बाबुआमा भेट्नुछ । नागरिकता बनाउनुछ र आफै ठेक्कापट्टाको काम गर्नुछ । फिल्म भुवन बहादुर भामको नाममा नागरिकता बनाउन दौडधुप भष्मेको कथामा केन्द्रित छ ।

फिल्ममा हेर्न बाँकी छ, प्रसादको मृत्यु भएको सात बर्षपछि उसँग पंगा लिन आउने कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को कथा । मरेको लास समेत पैसाका कारण हडपेर राख्ने देशमा भएको अस्पतालको मनोमानीको रिस पोख्न भष्मेसँग ठोकिएको पात्रको यात्रा फिल्ममा कसरी तय होला ? एक सामान्य महिला मैना (स्वस्तिमा खड्का), माताजी कसरी बनिन् होला ? यी कथा र यसै सँग जोडिएका सह-कथा थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्मको सबैभन्दा सशक्त पाटो हो, पात्र निर्माण । सबै पात्रहरु आ–आफ्नो चरित्रमा अब्बल छन् । सुरुमा भष्मेको पात्रबाट कुरा सुरु गरौं ।

भष्मे पात्रले आफुलाई सात बर्षपछि पनि उस्तै जिवित राखेको छ । पर्दामा भष्मे आउँदा ‘ पशुपति प्रसाद ‘ को भष्मे याद आउँछ। उसको अघिपछि डुल्ने साथीहरु सबै फिट छन् । उनिहरुले पात्रलाई न्याय गरेका छन् । भष्मेका बा बनेका प्रकाश घिमिरेको चरित्रले जतिखेरै दर्शकको ध्यान तान्न सफल छ ।

यहि फिल्बाट प्रवेश गरेका दुई पात्र माताजी उर्फ मैनाको भुमिका अभिनेत्री स्वस्तिमा खड्काकै लागि बनेको जस्तो लाग्छ । उनले बोल्नुअघि ‘ ह्या ‘ भन्ने तरिकाले मानव कम देवी ज्यादा सुनिन्छ । उनले आफ्नो चरित्रमा मिहेनत गरेकी छन् ।

उनको अनुहारमा पहेंलो र रातो रंग पोतिएको छ । अनुहारमा पेन्ट लगाउँदा फेसियल एक्सप्रेसन देखाउन सक्नु निकै चुनौतीपूर्ण काम हो । स्वस्तिमाले आँखाबाट मैनाको मनोभाव बुझाएकी छन् । त्यसो त, मैना पात्रलाई जति स्पेस दिनुपर्ने थियो, त्यति नपुगेको हो कि भन्ने भान भने हुन्छ । उनको पात्र स्थापित गर्न अझै केही ठाउँ दिनुपर्थ्यो ।

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ । अन्य फिल्ममा लाउड सुनिने उनि यसमा मौलिक सुनिएका छन् । यसरी हेर्दा, नागा यो पटक भष्मे माथी भारी परेको देखिन्छ । जब नागा पर्दामा देखिन्छ, दर्शकले भष्मे भुल्छन् । नागा रुँदा दर्शक सँगै रुन्छन्, हाँस्दा सँगै हाँस्छन् । भष्मे प्रति भन्दा नागा प्रति दर्शकको सहानुभूति धेरै हुन्छ ।

फिल्ममा भष्मे, नागा या हनुमान सबै पात्रलाई ग्रे देखाइएको छ । यी तिनै पात्रलाई बिच बाटोमै छाडिएको छ । माताजी बनेकी मैनाको भने खासै धेरै पृष्ठभुमी खोतलिएको छैन । आशा गरौं, यी पात्रहरुबारे अझै खुलस्त अर्को फिल्ममा हेर्न पाइनेछ ।

फिल्मका केहि दृश्यहरु निकै मनमोहक र अर्थपूर्ण छ ।उदाहरणका लागि, जब नागा पर्दामा फेरि फर्कन्छ, तब सबै भन्दा माथि उसैलाई देखाइन्छ । बिस्तारै क्यामेरा तल जान्छ र, पशुपतिनाथको मन्दिर माथि पुग्छ। अर्थात्, आफूलाई जति माथि ठानेपनि भगवान भन्दा त उ तल नै छ ।

अर्को सट पनि त्यस्तै मर्मस्पर्सी छ । जब भष्मेले पशुपति प्रसाद सँगको झगडा नगर्ने भनेर खाएको कसम तोड्छ । निकै माथीबाट यो सट लिइएको छ ।

फिल्ममा पशुपति प्रसादसँग सिक्वेन्स मिलाउन पनि हुनसक्छ, केहि सट पहिलेको र अहिलेको मिल्न जान्छ । पशुपति प्रसादमा जब पशुपतिले सतबिज छर्ने ठाउँबाट आकाशतिर फर्केर आमाबालाई स्वर्गको ढोका खुल्न आँटेको बताउँछ । त्यो समयको सट र अहिले भष्मेले पशुपतिसँग कसम तोडेको सट उस्तै छ । तर खिचाइमा भने भिन्नता देखिन्छ । पशुपति सुतेको ठाउँमा नागा सुत्नु, लेखेर वार्निङ दिनु लगायतका दृष्यहरुले पनि पहिलो भाग पशुपति प्रसादसँगको समानता देखाउँछ ।

फिल्ममा अलि ध्यान दिएर फोकस गर्नु पर्ने वस्तु थियो, दुई सिङ्गे गाडी । सिम्बोलिक रूपमा यो गाडीले शक्तिलाई प्रतिनिधित्व गरेको छ । जसको हातमा यो गाडी छ, उ शक्तिशाली बन्छ । बिना रोकतोक गुड्ने यो गाडीको कथा पनि थोरै समेट्न सकेको भए गज्जब हुन्थ्यो ।

फिल्ममा एक दृष्य छ, जहाँ संवादमै भनिएको हुन्छ, छ्या! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने ।

समग्रमा फिल्म सुन्दर बनेको छ । पशुपति प्रसादमा जत्तिको इमोसन महशुस गर्न नसकेपछि फिल्मले तपाईँलाई निराश भने बनाउने छैन ।

तर केहि प्रश्नको उत्तर भने अपुरो छ । जस्तै, के घटनाले भष्मेलाई पशुपति प्रसादप्रति माया पलायो ? पशुपति प्रसादको मितबा कसरी भष्मेको बा हुनपुगे ? ‘ पशुपति प्रसाद ‘ फिल्ममा भष्मे किन हनुमानसँग डराउँथ्यो ? भष्मेले बोकेर हिँडेको स्पीकर किन कहिल्यै बजेन र पछि त्यो एकाएक कता हरायो ? केहि अर्थ नभइ त पक्कै पनि त्यो स्पीकर गलामा झुण्डिएन होला नि । यी सबै प्रश्नको उत्तर अर्को फिल्ममा पक्कै आउला, अहिलेलाई यहि नै आशा गरौं ।

फिल्म समीक्षा- पशुपति प्रसाद २ः भष्मे डन

लाकार- विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे आदि

लेखक- खगेन्द्र लामिछाने

निर्देशक- दिपेन्द्र के. खनाल

रेटिङ- ४/५


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology