फिल्म समीक्षा

मास्टरपिस बन्नै आँटेको फिल्मः बोक्सीको घर

मास्टरपिस बन्नै आँटेको फिल्मः बोक्सीको घर

अनुहारको भावभंगीबाट समाजले बोक्सी बनाउँदाको पिडा सुनाउन सकेको भए यो मास्टरपिस बन्ने थियो ।

  • कुराकानी

  • मङ्लबार, बैशाख १८, २०८१

  • 509
    SHARES
मास्टरपिस बन्नै आँटेको फिल्मः बोक्सीको घर

कुराकानी । बोक्सी शब्द सुन्ने बित्तिकै तपाईको दिमागमा कस्तो चित्र आउँछ ?

समाजको मापदण्डले तोकेको जस्तो सुन्दरता नभएको, कपाल जिङ्ग्रिङ्ग परेको, असुहाउँदो मेकअप गरेको देख्दै डरलाग्दो, ठ्याक्कै फिल्म बोक्सीको घरकी ठुली जुनु जस्तै । हो यस्तै चित्र कोरिदिएको छ हाम्रो समाजले बोक्सीका बारेमा ।

टिजर अनि ट्रेलर र गीत ‘बुझिन मैले’ हेरिसकेपछि यो फिल्मले दर्शकको मनमा कौतुहलता पैदा गर्यो । फलस्वरुप यतिबेला प्रायः हलहरुमा फिल्म हाउसफुल चलिरहेको निर्माता निर्देशकको दाबी छ ।

फिल्मको कथालाई दुईओटा टाइमफ्रेमबाट अघि बढाइएको छ । एउटा टाइमफ्रेममा अटाएको छ – आकलझुकल घर आउने, प्रायः कान्छी श्रीमतीको घरमा बस्ने बाउकी छोरी सानी जुनु, उनकी आमा, बाल्यकालका साथीहरु, शिक्षक, गाउँले, पधेंरो, अनि रोटे पिङ ।
अर्को टाइमफ्रेममा छन् – पत्रकार स्वेछा, उनको सहकर्मी भाई, सहकर्मी भाईका दाई भाउजु, गाउँले, खोलाको बगर, ढुङ्गा, बोक्सी अनि पिपलको बोट ।

दुईओटा टाइमफ्रेम मध्ये कुनले अघिको अनि, कुनले पछिको समयको कथा भनेको होला त ? त्यो छुट्याउने जिम्मा भने तपाईहरुकै । 😆

अब कुरा सुरु गरौं फिल्मका सकारात्मक पक्षहरुका बारेमा ।

अहिलेसम्म बनेका फिल्ममध्ये बिरलै फिल्ममा महिलाको दृष्टीकोणबाट कथा भनिन्छ । यो फिल्म त्यहि बिरलैमा परेको छ, यो सबैभन्दा सकारात्मक पाटो हो ।

फिल्मले महिलाको यौन मनोविज्ञानलाई पनि थोरै छोएको छ । एक दृष्य छ, जसमा ठुली जुनु कामुक शैलीमा प्रस्तुत भएको देखाइन्छ । तर जब श्रीमती सक्रिय हुन्छिन्, श्रीमान लाचार हुन्छन् । सधैं लाचार श्रीमतीसँग वलात्कारको शैलीमा यौनइच्छा पुरा गरिरहेको पुरुषले महिलामा यौनइच्छा पैदा हुँदा पन्छाएको र लाचार भएको दृष्यले पितृसत्तात्मक समाज देखाएको छ । यसै दृष्यसँग जोडिएर आएको बाल मनोविज्ञान, ‘एक जनाले माया गरे पुगिहाल्छ, तिमीले किन गर्नुपर्यो’ भन्ने संवादले महिला कसरी बाल्यकालदेखि नै साँघुरिन्छन् भन्ने देखाउन मद्दत गरेको छ । तर दुःखको कुरा यो सशक्त दृष्यको तादाम्यता मिलाउन नसक्दा खासै फिल्ममा प्रभावकारी भने भएको छैन 😥

अर्को यस्तै गम्भिर र गज्जवको दृष्य हो, विवाह गरेको रात जुंगे दाईसँगको जुनुको सम्बन्ध । माइतीमा फर्किएपछि आमासँग, ‘तपाईलाई पनि बाबाले यसैगरी माया गर्नुहुन्थ्यो हो’ भन्ने संवादले मन कटक्क बनाउँछ । त्यस्तै उनको पढाइ मोहले रगताम्मे भएपनि सरको अगाडी परिक्षाबारे राखेको जिज्ञासाले पनि मन छुन्छ ।

फिल्ममा सिम्बोलका रुपमा प्रयोग गरिएको सेतो र रातो रंगको प्रयोग अर्को सशक्त पक्ष हो । जब निर्दोष बालिकाको जिवनमा रातो रंग (विवाह) अनि सेतो रंग (श्रीमानको मृत्यु) को प्रवेश हुन्छ, उनको बाल्यकाल र जीउने जीवन हराउँछ ।

एक दृष्यमा श्रीमान मर्नुअघि खोलामा सेतो धोति र रातो फुल बगेको देखाइन्छ । जसले फिल्ममा अब के हुन्छ भन्ने दर्शकले सहजै अनुमान लगाउन सक्छन् । दर्शकलाई संकेत मार्फत अगाडी के हुँदैछ भन्ने जानकारी दिन र फिल्मलाई कलात्मक बनाउन यो दृष्यले मद्दत गरेको छ ।

सानी जुनु (सुपला अधिकारी) को अभिनय फिल्ममा अर्को आकर्षक पक्ष हो । उनले निकै मौलिक अभिनय गरेकी छन् । त्यस्तै डेब्यु फिल्ममा पत्रकार बनेकी र वास्तविक जीवनमा पनि पत्रकार स्वेच्छा राउतको अभिनय पनि उस्तै मौलिक लाग्छ । फिल्ममा अभिनय गरेका सबै कलाकारहरुको अभिनय मौलिक छ, ठुली जुनु बनेकी केकी अधिकारीको बाहेक । उनको भने अभिनय भन्दा चिच्याहट बढी भएजस्तो लाग्छ ।

फिल्मको अन्त्य पनि अर्को सशक्त दृष्य हो । यसले दिएको सन्देश मार्मिक छ । समाजको भन्दा फरक सोच, बिचार र काम गर्ने मानिस नै समाजको नजरमा बोक्सी हो भन्ने सन्देश दिन फिल्म सफल भएको छ ।

फिल्ममा प्रयोग गरिएका ब्याकग्राउण्ड म्युजिक सामान्य छन् । मेकअप, पहिरन र पुरानो समय देखाउन प्रयोग गरिएका प्रप्सहरु सुन्दर लाग्छन् ।

अब कुरा गरौं फिल्ममा भएका कमजोरीका बारेमा । फिल्मको सबैभन्दा गम्भिर समस्या भनेकै कथा कसको नजरबाट भनियो भन्नेमा छ ।

एक पत्रकारको नजरबाट बोक्सीको घरको कथा भन्ने प्रयास गरिएको छ । पत्रकारितामा कसको अन्तवार्ता लिने, कसको नलिने भन्ने आचारसंहिता नै हुन्छ । स्मरण शक्ति गुमाएका, मानसिक रुपमा असन्तुलित भएका मानिसहरुसँग पत्रकारले अन्तवार्ता नलिन सुझाउँछन् पत्रकारिताका गुरुहरु । तर यहाँ एक पत्रकारले मानसिक रुपमा बिचलित, बलात्कृत र होस गुमाएकी एक महिलाको अन्तवार्ता लिने प्रयास गरेको देखाइएको छ । त्यस्तै पत्रकारमा स्टोरी सक्काउन भएका हुटहुटी मात्रै हैन, त्यस्तै स्टोरी लेखेर पुरस्कार समेत थापेको प्रसंग उल्लेख गरिएको छ ।

पत्रकारको दृष्टीकोणबाटै कथा भन्नुथियो भने बरु समाज र अन्य ब्यक्तिको अन्तवार्ता समाबेश गरेर टुङ्गोमा पुगेको देखाउन सकेको भए फिल्मलाई न्याय मिल्नसक्थ्यो कि 🤔 नत्र पत्रकारले आफै मानसिक रुपमा विछिप्त हुनुहुन्छ पनि भन्ने अनि उसैलाई खोतली खोतली कथा पनि सुनाउने ! फेरि मानसिक रुपमा विछिप्त पात्रले सुनाएकै भरमा दर्शकले बोक्सीको कथा पत्याउने आधार नै भएन ।

फिल्ममा अर्को समस्या भनेको दृष्य मार्फत समय देखाउन नसक्नु पनि हो । हुन त विद्यालयमा कार्यक्रम भइरहेको एक दृष्यमा २०५० साल लेखेको ब्यानर छ । तर ब्यानर बाहेक अन्य दृष्यमा फिल्मले समय देखाउन सकेको छैन ।

ब्यानरमा भएको समयलाई आधार मान्ने हो भने जुनु बोक्सी भएको समय २०५८/५९ सालतिरको हो । त्यो समयमा देशमा सशस्त्र द्धन्द्ध चर्किएको थियो, राजा बिरेन्द्रको बंशनास भएको थियो । अझ भनौं देशमा हत्या, हिंसा र अशान्ती थियो । तत्कालिन् बिद्रोही समुह माओबादीहरुको अभियान अन्तर्गत अन्धविश्वास र कुसंस्कार अन्त्य गर्ने भन्नेपनि थियो । ति कुराहरु पनि फिल्ममा समावेश गर्नसकेको भए, फिल्म अझै वास्तविक कथामा आधारित हुनसक्थ्यो । यत्तिकै सत्य कथामा आधारित लेख्दैमा त्यसमा विश्वास गर्ने वातावरण फिल्ममा बन्न सकेको छैन ।

विकास र प्रविधिले २०५० साल भन्दा २०५८/५९ साल अगाडी बढ्नुपर्ने हो तर फिल्मको सेटिङ र फ्रेमले २०५० साल बर्तमान र २०५८/५९ साल भने पुरानो समय जस्तो लाग्छ । यसलाई पनि उल्ट्याउन सकेको भए अझै मज्जा आउने थियो ।

फिल्ममा केकी अधिकारीको अभिनय लाउड छ । उनी प्रायः समय चिच्याइरहेकी हुन्छिन् र म बोक्सी हो भन्ने शब्द मात्रै बोलिरहेकी हुन्छिन् । उनको कुनै संवाद बोलिहाले, त्यो यति भारी हुन्छ कि, दर्शकलाई पत्याउनै गाह्रो पर्छ । त्यसो त संवादको कुरा गर्दा सानी जुनुले पनि अपेक्षा नै गर्न नसक्ने संवाद र कार्य गरेको देखाइन्छ । त्यो पनि वास्तविकता भन्दा टाढा लाग्छन् ।

समग्रमा, फिल्म बोक्सीको घर कमजोरी सहितको कलात्मक प्याकेज हो । सानो मेहनतमै सुधार्ने प्रशस्त ठाउँ हुँदाहुँदै पनि कमजोर बनेका दृष्यलाई फिल्मको बलिया पक्षले जितेको छ, र त फिल्म हेर्न लायक बनेको छ ।

कलात्मक बनाउने चक्करमा कतिपय ठाउँ नाटकका भर्चुअल रुपजस्ता पनि भएका छन् । फिल्म र नाटकलाई फरक नै राख्न सके अझै गज्जव हुनेथियो ।

नाटकमा केकी अधिकारीको मेकअप र गेटअपले मन जित्यो । यो सँगै यदि उनले चिच्याउँदै बोल्नुको सट्टा अनुहारबाट त्यो पिडा देखाउन सकेको भए, आँखा र अनुहारको भावभंगीबाट समाजले बोक्सी बनाउँदाको पिडा सुनाउन सकेको भए यो मास्टरपिस बन्ने थियो ।

 

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology