कुराकानी । ‘मिठो खुवा बनाउन शुद्ध दुध हुनुपर्छ, प्रेमलाई एउटा सफा निष्कपट मन चाहिए जस्तै । खुवा र प्रेम उस्तै उस्तै हो ।’
तर यहि खुवा बनाउने दुधमा झुक्किएर रक्सी मिसियो भने, के बन्छ होला त ? यसको उत्तर हो मनसरा ।
बच्चा पेटमा नआएर घर छाडेकी र बच्चा पेटमा आएर घर छाडेकी दुई महिलाको कथा फिल्ममा देखाइएको छ । दुवै महिलाको पिडा उस्तै छ, तर निर्देशकले यसलाई एउटा रक्सी र अर्को दुधका रुपमा व्याख्या गरेका छन् । यी दुई मिसिएर बनेको खुवा नै मनसराको मुख्य कथा हो ।
फिल्मको समीक्षा सुरु गरौं यसको बलियो पक्षबाट 😊
फिल्मको केन्द्रमा एक बाहुन पुरुष छन्, दधिराम पौड्याल (प्रविण खतिवडा) । तर कथा भनिएको छ, महिलाको मनोविज्ञानबारे । केहि दृष्यमा पुरुषको दृष्टिकोण आएपनि समग्र फिल्मले महिलाको कथा भनेको छ ।
मनरानी लिम्बु (मिरुना मगर) अविवाहित आमा हुन् । जो बाउको ठेगान नभएको सन्तान लिएर नख्खिपोटमा बंगुर पालेर बसेकी छन्, रक्सी पारेर जीविकोपार्जन गरेकी छन् ।
उनकै छिमेकमा छन् दधिराम, जो भैंसी पालेर बसेका छन्, दुध बेचेर जीविकोपार्जन गर्छन् । नेवार थरकी श्रीमती नानीमैयाँ (मेनुका प्रधान) सँगको वैवाहिक जीवन सुन्दर तरिकाले अघि बढिरहेको छ तर सन्तान सुख प्राप्त हुन सकेको छैन ।
अन्तरजातिय विवाह गर्ने हिम्मत भएको दधिराम कहिले पर्दामा बलियो देखिन्छ त कहिले नामर्द । अझ भनौं, पितृसत्तात्मक समाजले पिडित पात्र हो दधिराम । यसरी हेर्दा पितृसत्ताले महिला मात्रै हैन पुरुष पनि पिडित छन् भन्ने देखाउन फिल्म सफल छ ।
एक दृश्य छ, जसमा दधिराम नुहाइरहेकी मनरानीलाई अकस्मात् देख्न पुग्छ । मनरानीको शरीर देखेपछि उ आफ्नी श्रीमतीलाई जोरजबर्जस्ती शारिरीक सम्पर्क गर्न खोज्छ । यसले नेपाली समाजलाई छर्लङ्ग बनाएको छ । छोटो कपडा लगाएको देख्दा या साना बच्चाको नाङ्गो शरीर देख्दा समेत आफुलाई संयममा राख्न नसक्ने पुरुषको यौन मानसिकतालाई यो दृश्यले मज्जासँग देखाएको छ ।
फिल्ममा हँसाउदै गम्भिर विषयवस्तु पस्किन सफल छन् निर्देशक, उपेन्द्र सुब्बा ।
उनी आफै पनि फिल्ममा कलाकार छन्, महत्व भुमिकामा । किनभने उनकै कारण फिल्मको अन्त्य सफल हुन्छ ।
कवड्डी सिरिजको झाँक्री पात्रबाट चर्चित भएसँगै कविबाट कलाकारको पद थपेका उनले मनसरामा पनि त्यो चर्चालाई रमाइलो तरिकाले प्रस्तुत गरेका छन् । सन्तान नभएकी महिला उनकै कृपाले आमा बनेको मात्रै हैन, निख्खुर सेतो दुध समेत सँगै फिल्ममा देखाउँदा दर्शक पेट मिचिमिची हाँस्न बाध्य हुन्छन् तर यदि कवड्डीको झाँक्री नचिन्नेलाई भने यी दृष्य खासै वाउ जस्तो लाग्दैन । 😂
फिल्ममा धेरै लेयरमा कथा भनिएको छ । धेरै थरिका कथा भनिएको छ । निःसन्तान दम्पती, अविवाहित आमा, बदला, हराएकी प्रेमीका खोजी लगायतका बिषय एक्कैसाथ फिल्ममा अटाएका छन्, त्यो पनि एक अर्कासँग जोडिएर । यो पनि फिल्मको अर्को बलियो पक्ष हो ।
फिल्ममा सुब्बाले लिम्बु संस्कृतिलाई पनि मिठो तरिकाले पस्केका छन् । पालममा भएका भाका र कथालाई सुन्दर ढंगले फिल्ममा बुन्ने उनको शैली लोभलाग्दो छ ।
फिल्मको अर्को शसक्त पाटो भनेको पात्र चयन पनि हो । उनले पात्र चयनमा निकै मेहनत गरेको देखिन्छ ।
सबै कलाकारहरुको अभिनय मौलिक छ । अझै मन चोर्ने अभिनय बाल कलाकार नेनाहाङ राईको छ । उनले बोलेका संवाद र अभिनयले फिल्मलाई अगाडी बढाउन मद्दत गरेको छ ।
फिल्ममा मुख्य कलाकारहरुको अभिनय ग्रे, सेतो र कालो मिसिएर बनेको रंग अर्थात सकारात्मक र नकारात्म दुबै भावना भएको मान्छे जस्तै छ । जसले गर्दा यि पात्रहरु हाम्रै वरपर भेटिरहने मानिस जस्ता लाग्छन् ।
फिल्मको आकर्षक पक्ष संवाद पनि हो । तर केहि ठाउँमा भने दुइअर्थी संवाद अनि क्लिसे बौद्धिकताले दर्शकको ध्यान टुट्न पुग्छ ।
फिल्मको सम्पादन पक्ष सुन्दर छ । कतैपनि जर्क कट छैन । एक दृष्यबाट अर्को दृश्यमा फिल्म पुग्दा दर्शकको ध्यान भंग हुँदैन । त्यस्तै फिल्मको खिचाइ र क्राफ्टहरुको प्रयोग पनि सुन्दर लाग्छन् ।
फिल्मको नाम मात्रै कृषिसँग जोडेका छैनन् निर्देशकले । यसमा प्रयोग भएका हरेक प्रप्स र क्राफ्टहरु पनि कृषि पेशासँग सम्बन्धित छन् । यो पनि फिल्मको अर्को सशक्त पक्ष हो ।
फिल्ममा केहि कमजोरीहरु पनि छन् । यी कमजोरीले ठाउँठाउँमा किरकिर त लाग्छ नै तर पुरै स्वाद भने बिगार्दैन । 🤗
एक दृश्य छ, जसमा मनरानी दधिरामको घरमा जन्छिन् र तिमी पनि उस्तै रहेछौ बाजे भनेर ओछ्यानमा पल्टिन्छिन् । यो दृश्य अलि दोधारे छ । आँखिर दधिराम चाहन्थ्यो चैं के, लिम्बुनीको शरिर या सन्तान, यो दर्शकले बुझ्ने गरेर प्रष्ट हुन सकेको छैन ।
फिल्ममा केहि दृष्य अलि लामो लाग्छन् । ती दृष्यलाई छोट्याउन सकेको भए अझै गज्जव हुनेथियो ।
फिल्ममा लिम्बु संस्कार, सस्कृतिलाई स्थान दिइरहँदा, बाहुनका संस्कारलाई पनि केहि हदसम्म देखाउन सकिन्थ्यो होला । जनै चुटिँदा नबोल्ने दृश्यलाई बारम्बार दोहोर्याइएको छ त्यो पनि ब्यांग्यात्मक शैलीमा । त्यसो नगरी, केहि बाहुनका संस्कार संस्कृतिलाई पनि फिल्ममा समेट्न सकेको भए, त्यसले मनसरा लहलह झुल्न अझै मद्दत गथ्र्यो होला ।
समग्रमा फिल्म कथा दुध र रक्सी मिसिएको खुवा हो । जसले नेपाली समाजलाई छर्लङ्ग बनाएको छ । फिल्म रमाइलो छ, हेर्न लायक बनेको छ । तर फिल्म भने नेपाली स्वादको बनेको छ, शुद्ध दुधबाट बनेको खुवाजस्तै, बिना मिसावटको । 😌