
कुराकानी । १० बर्ष पुरा भयो, अस्मिता खनालले कलाकारिता सुरु गरेको । ८ कक्षामा अभिभावक भेलाको दिन देखाएको चेलिबेटी बेचबिखनबारे नाटकमा उनले केटी किन्ने पात्रको चरित्र निर्वाह गरेकी थिइन् । पान चपाउँदै केटीको मोलमोलाई गरेको उनको त्यो पात्रलाई सबैले मन पराए । जसको कारण जन्मियो, कहिल्यै नअघाउने अभिनयको भोक ।
एमआर थियटर, एक्टर्स स्टुडियो हुँदै मण्डला थियटरसम्मको यात्रा तय गरेकी उनले विभिन्न वेव सिरिज हुँदै फिल्म ‘कथा काठमाडौं’, ‘घर’ र ‘होस्टल ३’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।
जतिपनि फिल्ममा काम गरिन्, सबैतिरबाट प्रशंसा पाइन् । उनले पहिलो फिल्मको स्पेसल स्कृनिङ सम्झँदै भनिन्, ‘त्यो समयमा ५ जना निर्देशकले आफै आएर अभिनयको प्रसंसा गरे, अनि फोन नम्बर मागरे लगे । त्यो रात खुशिले निदाउन सकिनँ । तर त्यो खुशि निरासामा परिणत हुँदै गयो, कसैले फोन गरेनन्, म पर्खिएको पर्खियै भएँ ।’
अस्मिताको शरिर, नेपाली समाजले तोकेको मापदण्ड भन्दा कम छ । हिरोइन भनिएकाहरुको जस्तो ब्युटि स्ट्याण्र्ड उनलाई प्रकृतिले दिएको छैन । अझै भनौं, भगवानले फुर्सतमा बनाएको भन्ने उखान उनलाई सुहाउँदैन भन्छ, सोकल्ड समाज । त्यसैले उनि कलाकार हुन्, सहायक कलाकार हुन् तर हिरोइन हैनन् ।
हाँस्य पात्रका रुपमा आफूले फिल्ममा काम गरिरँदा नराम्रो लाग्छ । उनले भनिन्, तर के गर्नु मुख्य भुमिकामा त जतिसुकै राम्रो अभिनय भएपनि पाउनुपर्यो नि ।
उनले दुखेसो पोख्दै भनिन्, म पनि नेपाली फिल्मको राजपाल यादव बन्न तयार छु यदि रिस्क लिने निर्माता, निर्देशक र बितरक फेला परेमा ।
महिला कलाकारले तोड्न नसकेको सुन्दरताको हेजिमोनी
फिल्मको हिरोइन भन्ने वित्तिकै तपाईको दिमागमा केके आउँछ ? पक्कै पनि कम्मर पातलो, नितम्ब र छात्ति फराकिलो, दुब्लो शरिर, लामा खुट्टा, स्पष्ट अनुहारको बनोट, गोरो र चम्किलो छाला, लामो कपाल अनि अंग्रेजी लवजमा नक्कल पारेर बोलिने मसिनो बोली ।
यो बाहेक अलिकति मोटो शरिर हुने बित्तिकै उ हिरोको लागि अझैसम्म पनि फिट भएको मानिँदैन ।
उदाहरणका लागि, फिल्म सारंग । फिल्म हेर्नेहरुको प्रतिक्रिया थियो, फिल्मको हिरोइन, हिरो भन्दा बढी उमेरको देखियो । हिरो कान्छो देखियो, जोडी सुहाएन । त्यस्तै, फिल्म मायावीमा पनि उस्तै प्रतिक्रिया आयो, हिरोइन मोटी देखिई, हिरो भन्दा बढी उमेर देखियो, दिदीभाई जस्तो भयो, जोडी सुहाएन ।
यहि बिषयमा नायिका दिपीका प्रसाईँ केहि हदसम्म नायकको परिभाषा फेरिएपनि नायिकाको हकमा पहिलेको भन्दा अझै कमजोर रहेको बताउँछिन् । उनले भनिन्, चलचित्रमा अहिले पनि नायिका छान्दा शारिरीक बनावट नै हेरिन्छ । पुरुषको तुलनामा महिला माथिको दृष्टीकोण आज पनि समान नभएको उनको भनाई छ ।
नारी प्रदान चलचित्र खासै नबनेको भन्दै प्रसाईँले भनिन्, पहिले केहि हदसम्म त्यस्ता सिनेमा बनेका थिए, कलाकारले ति भुमिका निर्वाह गरेको देख्न सकिनथ्यो र दर्शकले ति पात्रलाई आत्मसात गरेको पनि देखिन्थ्यो, अहिले यो अवस्था झनै कमजोर बनेको छ ।
सुन्दरताको मापनले लेपिएका नायिकाहरु नै आवाज उठाउन चाहँदैनन्
सायद, महिला बोल्न हुँदैन, या कम बोल्नुपर्छ भन्ने संस्कारबाट हुर्किएकाले होला, नेपाली हिरोइनहरु लाउने, खाने र सुन्दर देखिने बाहेक अन्य बिषयमा बोल्न हिचकिचाउँछन् । आफूलाई अपडेट राख्न खोज्दैनन् र त बौद्धिक रुपमा सधैं हाँसोको पात्र बन्छन् ।
नेपालको प्रधानमन्त्री को हो, उनिहरुलाई मतलव छैन । आफ्नो भुगोले के हो, धरातल कस्तो छ, बुझ्न चाहँदैनन् । ब्युटी अर्थात सुन्दरता भए हिरोइन बनिन्छ भन्ने पुरातन धारणले गर्दा पनि हुनसक्छ, उनिहरु मेकअपबारे कुरा गर्छ रुचाउँछन्, खाना पकाउने, सपिङ गर्ने जस्ता बिषयमा रमाउँछन् । तर गम्भिर बिषयमा बहस गर्न रुचाउँदैनन् ।
फिल्ममा किन नायिकालाई ग्ल्यामर देखाउन मात्रै प्रयोग गरियो होला ? उनिहरुको शरिरलाई बस्तुकरण किन गरियो ? बिजय बराल, दयाहाङ राईले फिल्ममा मुख्य भुमिका निर्वाह गरेर हिरो बनिरहँदा महिला कलाकारहरु किन मुख्य भुमिकामा आउन सकेनन् होला ? उनिहरुको नजरमा किन फिल्म बन्न सकेन होला ? यी बिषयमा प्रश्न गर्दा उनिहरु तर्सिन्छन्, भाग्छन् । फेरि कहाँ फसिएला भनेर असुरक्षित महसुस गर्छन् ।
सिनेमामा महिला कलाकारको मापनबारे कुरा गर्न दर्जन बढि सोकल्ड सुन्दरी नायिकालाई टेलिफोन घुमाउँदा बोल्नै मानेनन् । कसैले बिषय थाहा पाएपछि ब्यस्त भन्दै फोन काटे, कतिले बोल्न नचाहेको भन्दै पन्छिए त धेरैले बिषयबस्तु थाहा पाएपछि पछि कुरा गर्ने भन्दै फोन नै उठाएनन् । म्यासेजमा बिषयबस्तुबारे प्रकाश पार्दासमेत उनिहरुले वास्ता गरेनन् ।
हलिउड, बलिउडमा महिला कलाकारले विभिन्न मुभमेन्टहरु सञ्चालन गरेका छन् । उनिहरु बौद्धिक बहस, मानसिक स्वास्थ्यबारे जनचेतना, बलात्कार र महिला हिंसावारे वकालत गर्छन् । हाम्राहरु एउटाले दुःख पाए, मौका पाइयो भनेर खुशि हुन्छन् । त्यसैले त सधैं साउथ इंडियन फिल्ममा जस्तै हिरोको प्रेमिका या श्रिमतीको भुमिकामा आफूलाई राख्न बाध्य छन् । जब बिचारै नभएका कठपुतलीहरु फिल्म उद्योगमा छन्, तब निर्माता, बितरकले किन लगानी गर्नु, यो पनि सोचनिय बिषय हो ।
महिला निर्देशक कृषा चौलागाईँ समेत महिलामा ग्याल्मर खोजिनु सामान्य मान्छिन् । उनले भनिन्, सुन्दर र ट्यालेन्ट हुँदा समेत सबैभन्दा लामो १० बर्षसम्म दर्शकले हेरेको अनुहार रेखा थापाको मात्रै हो । एउटा फिल्मबाटै अघाउने र नदोहोरिने हिरोइन कति छन् कति ।
अझै पनि फिल्ममा महिला भनेको सिम्बोल अफ ब्युटी (सुन्दरताको प्रतिक) कै रुपमा लिईने उनको भनाई छ । उनले भनिनु, फरक यत्ति हो, अहिले सुन्दर मात्रै भएर हुँदैन, ट्यालेन्ट पनि हुन जरुरी छ, ब्युटी वीथ ब्रेन । मिस नेपाल यसको गतिलो उदाहरण भएको उनको भनाई छ ।
नारीप्रधान फिल्म नबन्नु समस्या
निर्देशक दिपेन्द्र लामा, अहिले महिला कलाकारण चरित्र निर्माणमा पनि ध्यान दिन थालेको अनुभव बाँड्छन् । उनले भने, शाम्बला, गाउँ आएको बाटो, राजागंज जस्ता फिल्महश्र छन्, जसमा महिला कलाकारले आफ्नो चरित्रमा ध्यान दिन पाएका छन् । तर यो पर्याप्त भने छैन ।
लामाका अनुसार नारीप्रधान चलचित्र नबनेकाले महिलाको शरिर र ग्ल्यामरलाई बढी ध्यान दिइएको हो । उनले भने, पुरुष प्रधान सिनेमा लेखिन्छ । त्यसमा महिलाको स्थान नै दिदीबहिनी, आमा, प्रेमिका या श्रीमती मात्रै हो ।
हिरोको प्रेमिका या श्रीमती ग्ल्यामर देखाउनै पर्यो, कथाको माग अनुसार लामाले भने ।
यति मात्रै हैन, उनले जोड दिँदै भने, कला पैसासँग जोडिएपछि जे बिक्छ त्यहि देखाइन्छ । महिलाप्रधान कथा बेच्न सकिन्दैन भन्ने बितरण र निर्मातालाई भ्रम छ । जसले गर्दा उनिहरु पुरुष प्रधान फिल्ममा मात्रै लगानी गर्न चाहन्छन् । हिरोइन सुन्दर र ब्युटी स्ट्याण्र्ड राख्नुपर्छ भन्ने उनिहरुको माग हुन्छ ।
कलात्मक अभिव्यक्ति पैसामा रुपान्तरण हुँदा महिला कलाकारमा हिरोइनबारे धारण परिवर्तन हुन नसकेको उनको भनाई छ ।
एउटा फिल्म बनाउँदा धेरै सर्तहरु पालना गर्नुपर्ने तितो सत्य पनि उनले ओकले । भने, फिल्ममा करोड लगानी हुन थाल्यो । यसमा बितरकको फिल्म बेच्ने क्षमता, निर्माताको स्वार्थ र निर्देशकको शक्ति सबैमा सर्तहरु हुन्छन् । यी सबैको सर्त र स्वार्थ मिलाउँदै सिनेमा निर्माण गर्दा नायकहरुमा पनि बाहिर देखेजस्तो परिवर्तन आउने सकेको छैन ।
लामाका अनुसार, पहिले राजेश हमालको टाउको बेच्थे अहिले दयाहाङ र बिजय बरालहरको टाउको बेच्छन् । यो भनेको जो चल्छ, उहि बिक्छ भन्ने परम्परा हो । रामबाबु गुरुङ र निश्चल बस्नेतले पैसा कम भएका कारण दयाहाङ र सौगातहरु लिएकैले आज यो दिन आएको उनको भनाई छ । भने, अहिले उनिहरु पनि यहि सर्कलबाट बाहिर जान सकेका छैनन् । यसको मतलव रिस्क लिन कोहि पनि चाहँदैनन् ।