ट्रेलर समीक्षा

गाउँ आएको बाटो, आखिर विकास कि विनाशकाे कथा ?

गाउँ आएको बाटो, आखिर विकास कि विनाशकाे कथा ?

समय अनुसार परिवर्तन हुन नसक्ने र दोषजति सडकलाई लगाएको फिल्म हो भने, यसलाई विकास भनेको सहरमा मात्रै हुनुपर्छ भन्ने सोचबाट प्रभावित फिल्म पनि भन्न सकिन्छ ।

  • कुराकानी

  • बुधबार, जेष्ठ २३, २०८१

  • 298
    SHARES
गाउँ आएको बाटो, आखिर विकास कि विनाशकाे कथा ?

कुराकानी । कुरा सुरू गराैं केहि दिनअघि मात्रै सार्वजनिक भएकाे गीतबाट 😊

राई माइलाले गाउँ छोड्यो रे
बाटो छेकिदेउ न
कुन गाडीमा चढ्यो होला
कुन घुम्ती काट्यो होला
ढाट राखी देउ न
ए फर्क भनिदेउ न, राई माइलाले गाउँ छोड्यो रे…

यो गीत हो, गाउँ आएको बाटो फिल्मको । यहि जेठ २५ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म गाउँ आएको बाटो निर्माण समुह यतिबेला तिब्र गतिमा प्रचारप्रसारमा व्यस्त छ ।

गीतमा भनेजस्तै, गाउँमा बाटो पुगेपछि सामान्य जीवन बिताइरहेका मानिसहरुमा आएको परिवर्तनको कथा फिल्मको ट्रेलरमा देखाइएको छ ।

ट्रेलर हेर्दा, चोयाको काम गरेर जीविकोपार्जन गर्ने एक सामान्य परिवारमा विकाससँगै प्रविधि भित्रिएपछि आएको उचारचढाव हेर्न सकिन्छ ।

सात या आठ बर्षको छोरा, बाबु अनि आमा भएकाे तीन जनाकाे सानो परिवार । हाँसीखुसी चलिरहेको यो परिवारमा आखिर बाटो हिरो बनेर प्रवेश गरेको होला या भिलेन ।

विकासको नाम गरेर पुगेको बाटो र बाटोसँगै पुगेका अन्य प्रविधि । यसले रहनसहनमा ल्याएको परिवर्तनले सकारात्मक प्रभाव पर्यो होला या नकारात्मक । ट्रेलरमा यिनै बिषयवस्तु देखाउने कोसिस गरेकाे छ ।

छोरा र श्रीमतीको इच्छा पुरा गर्न एक अधबैंशे पुरुषले भोग्नुपरेको चुनौतीको कथा जस्तो पनि लाग्छ यो फिल्म ।

ट्रेलर हेर्दा, गाउँको परम्परागत पेशा गुमाएसँगै बैदेशिक रोजगारीका लागि लाममा उभ्भिएका तमाम युवाहरुको झल्को राई माइलाको अनुहारमा देखिन्छ 🥺

श्रीमानले बिदेश गएर कमाउला र परिवारको जीवन सहज होला भन्ने महिला, बाबुले घरमा टिभी ल्याइदेओस्, कालो चस्मा र खाजामा चाउचाउ अनि कोकको आस गर्ने छोराले गाउँको असली चित्र देखाएको अनुभूति हुन्छ ।

त्यसो त, ट्रेलर हेरिरहँदा, कहिँ कतै यसले विकासको विरोध गरेको पो हो कि भन्ने भान पनि हुन्छ ।

समय अनुसार परिवर्तन हुन नसक्ने र दोषजति सडकलाई लगाएको फिल्म हो भने, यसलाई विकास भनेको सहरमा मात्रै हुनुपर्छ भन्ने सोचबाट प्रभावित फिल्म पनि भन्न सकिन्छ ।

त्यसो त, मानिसको स्वभाव, परिवर्तन स्वीकार्न गाह्रो हुनेमा पनि पर्ने मानवशास्त्रीहरु बताउँछन् । पहिले खुट्टाले हिँडेर सात दिनमा घर पुगिन्थ्यो, अहिले सात घण्टा या ७० मिनेटमा पुगिन्छ । मानिस अहिलेको सहजता भन्दा उहि पुरानो कुरामा रमाउन पुग्छन् । भन्न सक्छन्, डाँडाकाँडा हेर्दै, मानिसहरुसँग कुरा गर्दै, बास बस्दै ठाउँ ठाउँको चिसो पानी खाँदै हिड्नुको मज्जै अर्को । अहिले त खुरुरुरु एक्कै छिनमा, के मज्जा भयो त ! 🧐

प्रविधिको विकासले अहिले संसार एक औंलामा सिमित भएको छ । विश्वको आँखा अब एआइमा पुगेर अड्केको छ । आकाशमा भएका ग्रह, उपग्रह र ताराहरु सबैतिर चाहर्न थालिसके अन्य देशका बैज्ञानिकहरु ।

तर हाम्रो जस्तो विकाशोन्मुख देशमा विना तयारी पुगेका सानाे सडक बाटाेले समेत कयाैं परिवारकाे पेशा धरापमा परेको तितो यथार्थ यो फिल्मको ट्रेलरमा देखाइएको छ ।

सडक भनेको विकासको सबैभन्दा महत्वपुर्ण कडी हो । जहाँ सडक पुग्छ, त्यहाँ शिक्षा, स्वास्थ्य देखि मानिसको आधारभुत आवश्यकताहरु पनि सँगै पुग्छ । विकास पनि पुग्छ । तर हरेक राम्रा कुराको अर्को पाटो नराम्रा कुराहरु पनि सँगै हुन्छन् ।

गाउँमा विकास पुग्नु राम्रो कुरा हो । तर यससँगै लोप हुँदै गएका संस्कार, संस्कृति, हाम्रा परम्पराहरु जोगाउने जिम्मा पनि सायद देशको नै हो । लामो समयसम्म परम्परागत काम गरेर जीवन धानिरहेका मानिसहरुमा समय सँगै परिवर्तन हुनसक्ने अवस्थामा पुर्याउन नसक्नुको जिम्मा लिनुपर्ने सायद राज्य चलाउँछु भन्नेहरु र राजनिती गर्नेहरुले नै हो ।

विकास भनेको, जनताको खुशीसँग पनि दाँजिने कुरा हो । यदि जसका लागि विकास पुगेको हो, उनिहरू नै यसबाट दुखी हुन्छन् या छन् भने त्यस्तो विकासको के अर्थ !

सुखी नेपाली समृद्ध नेपाल, समृद्धिको यात्रामा कोहि पनि छुट्नेछैनन् । ट्रेलरमा बस गाउँ पुग्दा गरिएको यो भाषण वडो मर्मस्पर्सी लाग्छ ।

बससँगै पुगेको पाल अनि चोयाको काम गरेर जिवीकोपार्जन गर्दै आएको राई माइलाको कथाले ट्रेलरमै पनि भावुक बनाउँछ । पहिले यो बनाइदेउ माइला, त्यो बनाइदेउ माइला । तिम्रो हातले बनाएको साह्रै राम्रो भन्ने मानिसहरु अब रोड खन्न किन नगा’को, प्रदेश किन नगा’को भन्नेमा परिर्वत भए । यस्तै भावको संवाद बोल्दै चोया फाल्दाको दृृश्यले परम्परागत पेशाबाट पलायन भएका धेरै
राई माइलाहरूकाे कथा देखाएको छ  😭

ट्रेलरको अन्त्यतिर छोरा हराएको संवाद छ । त्यहि गाउँ गएको बाटो र त्यहाँ पुगेका बससँगै सहरमा हराएका बालकहरुको झल्को पनि यो फिल्मले दिएको देख्न सकिन्छ ।

समग्रमा, फिल्मले उठान गरेको विषयवस्तु, नेपालका हरेक विकट गाउँको तितो सत्य हो । यो सत्यलाई निर्देशकले कसरी दृश्यमा उतारेका छन् त्यो भने हेर्न बाँकी नै छ । देशको भौगोलिक राजनितीलाई समावेश गरेर बनाएको फिल्मले अन्तराष्ट्रिय फिल्म फेष्टिभलहरूमा सबैकाे मन जितिसकेकाे छ । अब  नेपालका हलहरुमा पनि यसले सफलता चुमाेस्, सम्पुर्ण टीमलाई शुभकामना 🥰

ट्रेलर हेर्नुस्ः


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology