कुराकानी । समय नै यस्तै हो कि हावा त्यस्तै बहिरहेछ । यतिबेला कुनै संस्था या व्यक्ति जसले जे बोलेपनि कमेडी फ्लेवर मात्रै आउने क्या ।
कुरा हो, सेन्सर बोर्डको फिल्म अनुगमनबारे।
ट्रेलरदेखि जताततै केदार प्रसाद घिमिरेले बोलेको “ह्वाट द फक” डाइलग हिट छ । यो संवादमा सबै खित्का छाडेर हाँसेकै हुन् ।
तर हलमा फिल्मले धमाल मच्चाइरहँदा यो बीप लगाउने संवाद हो भन्ने कसैलाई याद भएन । फिल्म जेरी अन टपमा समावेश गरिएको यो संवाद यति धेरै दर्शकले ग्रहण गरिसके कि फिल्मले सुपर हिटको केक समेत काटिसक्यो ।
अहिले आएर बोर्डले फिल्मसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गरेको छ । अहिले त २४ घण्टा पनि पुगिसक्यो होला । बोर्डकै सिको गरेर हामीले पनि ढिलै लेख्यौं ।
अँ, काठमाडौं महानगरपालिकाका मेयरले लेखेपछि मात्रै यो शब्द अश्लिल भएको थाहा पाएर त हैन, बोर्डले स्पष्टिकरण सोध्न ढिला गरेको ? तपाईलाई के लाग्छ ।
त्यस्तै अर्को फिल्म कोशेढुङ्गा । यो फिल्म त, हलमा चलेको थियो र ? भन्ने बेला भइसक्यो । गएको भदौ १२ गते अर्थात २ महिना अघि हलमा प्रदर्शन भइसकेको फिल्मलाई यतिवेला आएर प्रदर्शनमा तत्काल रोक लगाउने निर्णय गरिएको रे ।
कछुवा र खरायोको कथा सुनेर हुर्केकाले हो कि, वा टाइम ट्राभलमा निस्कँदा फेरि फर्केर बर्तमान समयमा आउन नसकेर जतिवेलै पछाडी पुगेको पुग्यै गरेर हो ? बोर्डको घडी या क्यालेन्डरमा गलत नम्बर त लागेको छैन नि ? लौ न स्पष्ट पारिदिनुपर्यौ ।
*सच्याइएको