कुराकानी । गृहमन्त्री सुदन गुरुङको पोखरामा २० रोपनी जग्गा भएको समाचारपछि यसमा अहिले फेरि नयाँ ट्वीष्टहरु थपिएका छन् ।
अहिले त्यस जग्गाको जग्गाधनीले सुधन गुरुङ्ले जग्गा भाडामा लिएको र ५ बर्षदेखि भाडा नतिरेको भन्दै तुरुन्त सम्पर्कमा आउन मिडिया मार्फत नै आह्वान गरेका छन् ।
जग्गाधनीको आह्वानपछि यस घटनामा अब फेरि पिडित सुदन गुरुङ नै भएको देखिएको छ । अहिले पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङले आफू नै ठगिएको दाबी गरेका छन् ।
जग्गाधनीले मापदण्डभित्रको जग्गा भन्ने तथ्य लुकाएर आफूलाई लिजमा दिएको भन्दै मन्त्री गुरुङले कानुनी उपचारमा जाने बताएका हुन् ।
गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८-१० वर्षअघि पोखरामा साहसिक पर्यटन प्रवर्द्धनका लागि भनेर उनले योजना बनाएका थिए।’एड्भेन्चर स्पोर्ट्स नेपाल’ को सोही योजनाका लागि लिजमा लिइएको जग्गा फेवातालको ६५ मिटरको मापदण्डभित्र परेको हो ।
जग्गा भाडामा लिने बेला जग्गाधनीहरूले उक्त जग्गा मापदण्डभित्र नपर्ने भनी विश्वास दिलाएको गुरुङको दाबी छ। ‘लालपूर्जामा समेत जग्गा सुरक्षित देखाइएको थियो, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ,’ मन्त्री गुरुङले भने, ‘हामीलाई झुक्याएर ठगिएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ ।’
एउटा युवा उद्यमीको रूपमा आफ्नो सपना र लगानीमाथि खेलबाड भएको भन्दै उनले यो अन्याय विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् । यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो विषयलाई लिएर गृहमन्त्रीमाथि आजै प्रश्न उठाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै साम्पाङले गृहमन्त्रीको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गरेका थिए ।
साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै तत्काल पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन मन्त्री गुरुङलाई आग्रह गरेका थिए। ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! जवाफ नदिए जनताले विश्वास गर्दैनन् र प्रहरीले समेत टेर्न छोड्नेछ,” साम्पाङले लेखेका थिए । गुरुङलाई जग्गा भाडामा दिने धनीले आफूले ५ वर्षदेखि भाडा नपाएको बताएका थिए ।