चाैताराे

नेपाली चलचित्रः त्यो बेला अनि यो बेला

नेपाली चलचित्रः त्यो बेला अनि यो बेला

द्वन्द्वका पछिल्ला वर्षहरूमा नेपाली चलचित्रको निर्माण र प्रदर्शन ठप्प भएको थियो, धेरै कलाकार र चलचित्र निर्माताहरू कामको खोजीमा देश छाडेर बाहिरिन बाध्य भएका थिए ।

  • कुमार विनोद पौड्याल

  • शनिबार, फाल्गुन १२, २०८०

  • 1.3K
    SHARES
नेपाली चलचित्रः त्यो बेला अनि यो बेला

नेपाली चलचित्रको इतिहास त्यति धेरै लामो छैन। तर देशको सांस्कृतिक सम्पदामा चलचित्र उद्योगको आफ्नै स्थान छ । पहिलेका अधिकांश नेपाली चलचित्रहरू भारतीय चलचित्र उद्योगबाट प्रेरित र प्रभावित देखिन्छन् ।

लामो समयसम्म नेपाली चलचित्रमा गीत देखि कथाहरुपनि बलिउड शैलीका नै प्रयोग हुन्थे । प्रायः त्यो बेलाका चलचित्रहरू १६ मिलिमिटरमा (एम.एम.) को नेगेटिवमा छायांकन गरेर ३५ एम.एम. मा ब्लोअप गरेर देखाईन्थ्यो। ‘राँको’ (निर्देशक स्व. किशोर राना) त्यो पहिलो चलचित्र हो, जुन ३५ एम.एम. मा खिचेर सिनेमा स्कोपमा देखाइएको थियो। अहिले डिजिटल युगमा नेपाली चलचित्र प्रवेश गरेपनि केही निर्देशक भने त्यो १६ वा ३५ एम.एम. मा खिचेको जस्तो सन्तुष्टी अहिलेको डिजिटलले दिन नसकेकाे गुनासो गर्छन्।

नेपाली भाषामा छायांकन भएको पहिलो नेपाली चलचित्र डी.बी. परियारको ‘सत्य हरिशचन्द्र’ भन्ने गरिन्छ, जसले नेपाली चलचित्रको सुरुवात गरेको थियो । तर याे कुरामा विवाद भने कायम छ । यो कलकता, भारतबाट निर्माण गरिएको थियो र वि. सं. २००८ भाद्र २९ गते शुक्रबार रिलिज भएको थियो।  त्यस्तै, नेपालमै निर्माण गरिएको पहिलो चलचित्र भने ‘आमा’ मान्ने गरिन्छ र यो वि. सं. २०२१ असोज २२ गते बुधबार रिलिज भएको थियो ।

श्री ५ को सरकारको सूचना विभागद्वारा निर्माण गरिएको थियो ‘आमा’। हिरा सिंह खत्रीद्वारा निर्देशित यो चलचित्रका मुख्य कलाकार शिव शंकर मानन्धर र भुवन थापा थिए, जसलाई नेपाली चलचित्र उद्योगको इतिहासमा पहिलो नेपाली चलचित्रका कलाकार मानिन्छ।

निजी ब्यानरमा निर्माण भएको पहिलो फिल्म ‘माइतीघर’ थियो, जुन वि.सं. २०२३ पौष १ गते शुक्रबार सुमोनाञ्जली फिल्म्स प्रा.लि. ले रिलिज गरेको थियो। यो नेपाली चलचित्र भएतापनि निर्माणमा धेरै भारतीयहरुको योगदान रहेको थियो । यसमा सीपी लोहनीसँगै माला सिन्हाको मुख्य भूमिका थियो । यसमा सुनील दत्त र हास्य कलाकार राजेन्द्र नाथको विशेष उपस्थिति थियो। बी.एस. थापाको निर्देशनमा बनेको यस चलचित्रमा भारतीय दिग्गज संगीतकार जयदेवले संगीत दिएका थिए भने पार्श्व गायन लता मंगेशकर, आशा भोस्ले, उषा मंगेशकर र मन्ना डेको साथमा नारायण गोपाल, प्रेमध्वज प्रधान , सीपी लोहनी, अरुणा लामा जस्ता नामहरू थिए।

त्यसपछि सरकारले वि.सं. २०२८ मा शाही नेपाल चलचित्र संस्थानको स्थापना गरेको थियो । संस्थानले निर्माण गरेको पहिलो चलचित्र ‘मनको बाँध’ थियो। यो चलचित्रलाई प्रकाश थापाले निर्देशन गरेका थिए भने नातिकाजी र शिव शंकरको संगीत थियो । अम्बर गुरुङ्गको पार्श्व ध्वनि रहेको थियो । यो फिल्मको प्रिमियर वि.सं. २०२९ मा काठमाडौंमा भएको थियो । ‘मनको बाँध’ लगत्तै वि.सं. २०३३ फाल्गुन ७ गते शुक्रबार कुमारी अनि वि.सं. २०३६ मा ‘सिन्दूर’ र ‘जीवन रेखा’ क्रमश रिलिज भए । यी फिल्महरूको व्यवसायिक सफलताले निजी क्षेत्रका लागि औद्योगिक प्रयासको रूपमा फिल्म निर्माणमा प्रवेश गर्ने बाटो खोलिदियो।

स्वर्णकालीन समय

वि.सं. २०३६ पछि, केहि तुलनात्मक रूपमा धेरै रचनात्मक फिल्महरू बनाइयो र तिनीहरू सफल पनि भए । यसले चलचित्र निर्माणमा व्यावहारिकता  देखिन थाल्नुका साथै निर्माणको संख्या पनि बढ्यो । नेपाली चलचित्र उद्योगमा निजी कम्पनीहरु आएपछि धेरै चलचित्रहरु बने जसलाई नेपाली दर्शकले औधी रुचाएका थिए । ‘सम्झना’, ‘लाहुरे’, ‘बासुदेव’, ‘साइनो’, ‘कोसेली’ र ‘कुसुमे रुमाल’ जस्ता केही चर्चित चलचित्रहरू वि.सं. २०४० देखि २०४९ सम्म रिलिज भएका थिए। त्यसबेलाका प्रमुख कलाकार भुवन केसी र तृप्ती नाडकार थिए जसलाई नेपाली चलचित्र उद्योगको (गोल्डेन कपल) अर्थात् सुनौलो जोडी भनेर पनि भनियो। । दशकको पछिल्ला वर्षहरूमा, राजेश हमाल र करिश्मा मानन्धरको जोडीले आफ्नो उत्कृष्ट केमेस्ट्री सहित सिल्वर स्क्रिनमा शासन गरे।

वि.सं. २०४६ मा प्रजातन्त्रको पुनर्स्थापनापछि चलचित्र उद्योगले तीव्र गतिमा विकासको बाटो समात्यो। करिब ३ वर्षको अवधिमा १४० वटा चलचित्र निर्माण भयो । अनि क्रमशः चलचित्र वितरणको पनि विकास हुन थाल्यो । उ बेलाको विद्यमान बजार हिस्सा बढ्यो र बजार आफै विस्तार भयो। सिनेमा हलको संख्या बढेर ३ सय पुग्यो। नेपाली चलचित्र निर्माताहरू नेपाली बजारमा हावी रहेको हिन्दी चलचित्रलाई नेपाली चलचित्रले विस्थापित गर्नेमा आशावादी भए ।

द्वन्द्वकालीन समय 

चालिसको दशकमा केहि चलचित्र निर्माताहरू प्रायः गैर फिक्शनमा आधारित भएका, नयाँ प्रकारका सिनेमाको लागि क्याम्पियन गर्न थालेका थिए । बलिउड चलचित्रको नक्कल गर्नुको सट्टा स्वदेशी र यथार्थपरक कथा बन्नु पर्छ भन्नेमा सबैको सोच आउन थाल्यो। फलस्वरूप ‘बलिदान’ र ‘सीमा रेखा’ जस्ता केही ऐतिहासिक चलचित्रहरू बने जसले समीक्षकको प्रशंसा पाए । २०४८ मंसिर ४ गते बुधबार परिमार्जन गरिएको विद्यमान चलचित्र ऐन बमोजिम नेपाल सरकारले चलचित्र विकास बोर्डकाे स्थापना गरेको थियो।

नेपाली चलचित्र उद्योगको पतनको सुरुवात माओवादी क्रान्तिको परिणाम हो । द्वन्द्वको युगमा कम बजेटमा कम चलचित्र बनिरहेका थिए, दर्शकको चाप पनि घटिरहेको थियो । द्वन्द्वका पछिल्ला वर्षहरूमा नेपाली चलचित्रको निर्माण र प्रदर्शन ठप्प भएको थियो, धेरै कलाकार र चलचित्र निर्माताहरू कामको खोजीमा देश छाडेर बाहिरिन बाध्य भएका थिए ।

हालको अवस्था

वि.सं. २०६२/६३ मा माओवादी मूलधारको राजनीतिमा आएसँगै नेपाली चलचित्र उद्योगको पुनः विकास हुन थाल्यो । अहिले धेरै चलचित्रहरु निर्माण र रिलिज भइरहेका छन् । निर्माण कम्पनीहरू र उद्योगमा संलग्नहरू देशको नयाँ अवस्थालाई लिएर उत्साहित छन्। साथै निर्माण भइरहेका चलचित्रको गुणस्तरमा पनि सुधार भइरहेको छ तर हामी जस्तो एउटा साधारण र सानो उद्याेगले बलिउड र हलिउड सँग असमान प्रतिस्पर्धा गर्नु परिरहेको छ। जसले गर्दा हामी कहिलेकाहीँ निकै पछाडी परेको भान पनि हुन्छ।

अझैपनि धेरैजसो नेपाली चलचित्रहरूमा वि.सं. २०४७ देखि वि.सं. २०५७ को समयमा बलिउडमा प्रयोग भएका जस्तै कथाहरू नेपाली चलचित्रमा प्रयोग भएको देखिन्छ। केही नयाँ पुस्ताका निर्देशकहरूले फरक कथा देखाएर चलचित्र उद्योगलाई नयाँ रूप दिन खोजिरहेका भए पनि नेपाली चलचित्र उद्योगका सबैभन्दा बढी दर्शक परम्परागत शैलीलाई रुचाउने र साधारण गाउँको जीवनलाई झल्काउने चलचित्रसँग जोडिएका छन् । त्यसैले पनि निर्देशकहरू फरक स्वाद र कथामा आधारित चलचित्र बनाउन जोखिम मोल्न हिचकिचाएको पाइन्छ ।

अहिले नयाँ पुस्ताका साथै केही पुराना पुस्ताका निर्माता निर्देशकहरू जस्तै, दीपक राज गिरी , दीपेन्द्र कुमार खनाल, प्रदीप भट्टराई, दीपेन्द्र लामा, निश्चल बस्नेत, रामबाबु गुरुङ, मिन भाम, दिनेश राउत, दीपक रौनियार, प्रतीक गुरुङ्ग , ज्ञानेन्द्र देउजा , नवल नेपाल आदि बलिउडबाट प्रेरित भन्दा पनि आफ्नो माटो सुहाउँदो सिनेमा बनाउन लागेका छन् ।

कथा ,प्रस्तुति, प्रदर्शन र प्राविधिक उत्कृष्टताका हिसाबले केहीसमय अघि बनेका ‘कागबेनी’, ‘सानो संसार’, ‘मेरो एउटा साथि छ’, ‘पहिलो प्रेम’, ‘कोही मेरो’ ,‘लूट’, ‘छक्का पञ्जा’, ‘नोभेम्बर रेन’, ‘कबड्डी’, ‘पशुपति प्रसाद’, ‘आमा’, ‘हरि’, ‘जात्रा’ , ‘प्रकाश’, ‘चिसो मान्छे’, ‘नाङ्गो गाउँ’ , ‘जारी’, ‘झिङ्गे दाउ’ जस्ता केही गुणस्तरीय सिनेमा यसका उदाहरण हुन् ।

कथाको हिसाबले नेपाली चलचित्र जहाँबाट सुरु भएको थियो, त्यहाँ बाट त्यति धेरै टाढा आउन भने सकेको छैन । तर, युवाहरुको चासो र छनोटलाई मध्यनजर गर्दै र उद्योग तर्फको ध्यानाकर्षण गराउनका लागि नयाँ पुस्ताका केही निर्देशकले चलचित्रको कथामा नयाँ प्रयोग गरिरहेका छन् । र, फिल्ममा दक्ष र व्यावसायिक कलाकार, निर्देशक र टोलीको संलग्नताले पनि चलचित्रको गुणस्तर र कथामा सुधार आएको देखिन्छ ।

हामी भन्न सक्छौं, अहिले नेपाली सिनेमाले आफ्ना पुराना र नयाँ दुवै किसिमका दर्शकलाई सम्हालिरहेको छ ।

-पाैड्यालकाे सामाजिक सञ्जाल फेशबुकबाट साभार


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology