तिहारै आयो

सुर्यमायाका हातहरु, जो पाला बनाएर थाक्दैनन्… (फोटोकथा)

सुर्यमायाका हातहरु, जो पाला बनाएर थाक्दैनन्… (फोटोकथा)

चाडवाड झिलिमिली बनाउन पाला बनाउने सुर्यमायाको कथा

  • कृष्पा श्रेष्ठ

  • शनिबार, कार्तिक २, २०८२

  • 27
    SHARES
सुर्यमायाका हातहरु, जो पाला बनाएर थाक्दैनन्… (फोटोकथा)

कुराकानी । बुढ्यौली लागेका हात, जसमा माटो लतपतिएका छन् । माटो बिना उनको काम अधुरो छ । किनकी उनले पाला (पाल्चा) बनाउने काममा हात हालेकी छन् र उनका हातहरु यसैमा रमाइरहेका छन् ।

अब त १० वर्ष हुन लागिसक्यो तरपनि उनका हातले माटो छाड्न मानेका छैनन् । हो, यी हातहरु उनै ६४ वर्षिया सुर्यमाया प्रजापतीका हुन्, जसले बाल्यकालदेखि अनवरत रुपमा काम गरिरहेका छन् र पनि अहिलेसम्म थाकेका छैनन्।

अहिले उनि तिहारको छेको पारेर पाला बनाउन व्यस्त छिन् ।

अनुभवी हातले फटाफट पाला बनाइरहेका छन्। सुन्दर आकारका आकर्षक पालाहरुको जन्म भइरहेको छ । यी सब हेरिसकेपछि कुराकानी अघि बढाउँदा उनले हाँस्दै भनिन्, “अहिले त मेसिनले सजिलो बनाएको छ । पहिले त हातैले पो पाल्चा बनाउन पर्थ्यो ।”

हातले पाला बनाउन थालेको केहि वर्षपछि सिरामिक नामको संस्थाले मेसिनबाट पाला बनाउने तालिम खुलायो । यो खबर पाउने बित्तिकै उनि फर्म भर्न गईन् ।

तर उनलाई कसैले विश्वासै गरेन। ‘नाति भएकी मान्छेले तालिम लिन्छे!’ भनेर उल्टै जिस्क्याए। फर्म भर्नसमेत कसैले साथ नदिएपछि उनि खिन्न भइन् । तर हार मानिनन् । घर फर्केर नागरिकता लिइन् र संस्थाको अगाडी राखिदिईन् । बल्ल संस्थाका मानिसले फर्म भरिदिए । उनले गर्विलो स्वर बनाउँदै भनिन्, “त्यसमा म पहिलो महिला हुँ, जसले नागरिकता देखाएर तालिम लियो।”

तीन महिनाको तालिम सम्पन्न हुँदासम्म उनी सबैभन्दा अनुशासित र मेहनती विद्यार्थीका रूपमा चिनिइन्। तालिमपछि पनि उनले आफ्नै वेल मेसिन किनिन् र घरमै पल्चा बनाउन थालिन्।

अहिले उनी दैनिक ३ सय देखि ८ सय ओटासम्म पल्चा बनाउँछिन् । जसलाई गोटाका दरले १५ देखि ३० रुपैयाँसम्ममा बेच्छिन् । हिसाव गर्ने हो भने, उनको दैनिक कमाई ५ हजारदेखि २५ हजारसम्मको हाराहारीमा हुन्छ ।

पाला बनाउने क्रममा उनलाई एउटा घटना भने सधैं अविस्मरणीय लाग्छ । भनिन्, “ भर्खरै पाला बनाउन थालेकी थिएँ, एकैपटक १ लाख बराबरको पालाको अर्डर आयो । मेरो क्षमता भन्दा धेरैको माग थियो तर पनि सक्दिन भनिनँ । हुन्छ भनें र सबै साथीहरुलाई पाला बनाउन लगाएर केहि पैसामा किँने अनि १ लाख पुर्याएँ ।” सम्झनामा रहेसम्म त्यो समयमा एक पालाको उनि एक मोहर मात्रै लिन्थिन् ।

आजका दिनसम्म पनि पाला किन्न उनकै घरमा ग्राहकहरु आउने गरेका छन् ।

आर्थिक कठिनाइका कारण उनले विद्यालयमा लामो समय पढ्न पाईनन्। तर उनी सधैं सीपमूलक काममा अग्रसर रहिन्। “हामी घरका जेठी छोरी। काम नगरेको दिन घरमा चुलो बाल्न पनि गाह्रो हुन्थ्यो,” उनले पुराना दिन सम्झँदै भनिन् ।

२०३३ सालतिरको कुरा हो, उनले बुद्धको ‘शिष्य’ प्रतियोगितामा भाग लिएर दोस्रो कक्षासम्म पढिन् र पुरस्कार समेत जितिन्। दिनभरी कपडा बुन्थिन्, साँझमा पढ्न जान्थिन्।

कहिलेकाहीँ असनको इन्द्रचोकमा आफ्नै बुनेको कपडा पाँच रुपैयाँमा बेच्थिन् पनि। “पढ्न नपाए पनि मेहनत गर्‍यो भने खर्च जोडिन्छ भन्ने विश्वास सधैं थियो,” उनी भन्छिन्।

महिलाले पढे पनि विवाहपछि अर्काको घर जानैपर्छ भन्ने सामाजिक सोचले उनको पढाइ रोकियो। उनलाई लाग्छ, पढ्न पाएको भए गीतकार बन्थें, या गायिका । किनभने सानो बेला रेडियोमा गीत बज्दा म पनि यस्तै गीत गाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो उनलाई ।

२०३७ सालमा उनले घर नजिकका बुद्धि बहादुर प्रजापतीसँग विवाह गरिन्। चार सन्तानकी आमा बनेकी सुर्यमायाका तीन छोरी र एक छोरा छन्। अहिले सबै विदेशमा छन्। “म पढ्न पाइनँ, तर छोराछोरीले राम्रो पढुन् भन्ने चाहना थियो त्यो पूरा भएको छ,” उनी गर्वका साथ सुनाईन् । अहिले तीन जना छोराछोरी त विदेशमै छन् ।

फागुन महिनाको चिसो दिनमा उनी र उनका श्रीमान् छोरी रेजिनालाई भेट्न जापान पुगे। पहिलोपटक प्लेनमा चढेकी उनलाई वाटर भनेको पानी हो भन्ने थाहा थियो । चिसो मौसम छ, वाटर मागेपछि तातै आउला भन्ने उनलाई लागेको थियो तर चिसो पानी ल्याएर दिए एयरहोष्टेजले । दुई पटकसम्म पनि वाटर भन्दा चिसै पानी दिएपछि दुबैजना पानी समेत नपिई जापान पुगे ।

छोरी भेट्ने वित्तिकै वाटर माग्दा जतिवेलै चिसो पानी मात्रै दिएको गुनासो गरिन् सुर्यमायाले । छोरीले हाँस्दै भनिन्, तातो पानी चाहिएको हो भने हट वाटर भन्नुपर्छ नि । त्यो क्षण सम्झेर अहिले पनि सुर्यमायालाई मुर्छा परेर हाँसो लाग्छ ।

कोभिडको समयमा तीन महिनाको टुरिस्ट भिसामा जापान पुगेकी उनी र उनका श्रीमान् उडान बन्द भएपछि छ महिनासम्म उतै रोकिए। त्यो बीचमा छोरीको साथले उनले सेनिटाइजर प्याक गर्ने कम्पनीमा एकदिन काम गर्न पाईन्।

दिनभर काम गरेको पैसा खाममा राखेर दियो । घरमा आएर हेर्दा जम्मा १० येन । उनलाई सुरुमा त आफूले दिनभर काम गरेर पनि जम्मा १० येन पाएकोमा खिन्न लाग्यो । पछि छोरीले यो पैसा त नेपालको करिव १ लाख रुपैयाँ हो नि भन्दा झण्डै बेहोस भईनन् । त्यो नै उनको जिन्दगीको एक दिनको सबैभन्दा धेरै कमाई हो । त्यो पैसालाई माया गरेर छोएर सम्झना अहिले पनि उनको मनसपटलमा ताजै छ ।

दोस्रो पटक भने उनि एक्लै जापान गईन् । एयरपोर्टमा सोधपुछ गर्न अफ्ट्यारो पर्यो । नेपाली कोहि नभेटेर तनाव परिरहेको थियो । अकास्मात उनको अगाडी चिनेको अनुहार आयो । त्यो अनुहार थियो अभिनेत्री गौरी मल्लको । “बिरानो ठाउँमा नेपालको चर्चित अभिनेत्री देख्दा सुरुमा त म भावुक नै भएँ नि ! उनले आँखा चम्किलो बनाउँदै भनिन्।”

माटोबाट पाला बनाउँदै गर्दा उनका दिमागमा मेसिन सँगै यी र यस्ता स्मृतिहरु पनि सँगै घुम्छन् ।

अहिले उनलाई पेट पाल्न कामै गर्नुपर्ने बाध्यता छैन । उनका श्रीमानले पनि पहिले त काम नगर आराम गर नै भन्थे । जापानमा ८० कटेका मानिसले पनि काम गरेको देखेर भने उनि अचेल केहि बोल्दैनन्, काम सघाउन वरपर डुल्छन् ।

त्यसोभए काम किन जरुरी रह्यो त भन्ने प्रश्नमा सुर्यमाया भन्छिन्,“काम नगरेको दिन मनै अशान्त हुन्छ, दिमागमा नराम्रा कुरा मात्र आउँछन्।”

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology