भरियादेखि आरोही बन्दासम्मको कथा लेखेँ : डेण्डी शेर्पा

भरियादेखि आरोही बन्दासम्मको कथा लेखेँ : डेण्डी शेर्पा

  • कुरौटेपाटी

  • आइतवार, भदौ २४, २०८०

  • 106
    SHARES
भरियादेखि आरोही बन्दासम्मको कथा लेखेँ : डेण्डी शेर्पा

काठमाडौं । पर्वतारोहण क्षेत्रमा डेढ दशक लामो अनुभव सँगालेका पर्वतारोही लाक्पा डेण्डी शेर्पाले पर्वतारोहण क्षेत्रमा भरियादेखि सफल आरोहणसम्मका अनुभव बाँडेका छन्।

डेढ दशकको अनुभवमा शेर्पाले ११ पल्ट सफल हिमाल आरोहण र दुई पटक गिनिज बुक अफ वल्र्डमा आफ्नो रेकर्ड कायम गरिसकेका छन्। १३ वर्षकै उमेरमा उनी भरियाका रुपमा पर्वतारोहण क्षेत्रमा आएका थिए।

‘त्यो समयमा हाम्रो गाउँमा रोजगारीका लागि अरु केही थिएन। विदेश जाने चलन पनि थिएन’, उनले भने, ‘दुई चार पैसा कमाएर सानो तिनो रहर पूरा गर्ने नै ट्रेकिङ व्यवसाय मात्र माध्यम थियो।’

गाउँमा कोही भरिया, कोही पर्वतारोही एवं कोही होटल व्यवसायी गरी सबैजसो पर्वतारोहण क्षेत्रमा नै आवद्ध थिए। शेर्पाले पनि त्यही सिको गरे। उनले सोलुखुम्बू जिल्लाको ६ हजार मिटर उचाइको ‘आइसल्याण्ड पिक’ आरोहण गरेका थिए। यो पिक विश्व प्रसिद्ध इम्जा तालको शिखरमा अवस्थित छ।

पर्वतारोहणको कुनै औपचारिक ज्ञान र तालिमबिना नै हिमाल आरोहण गरेको उनले सुनाए। ‘त्यतिबेला मैले हिमाल चढ्ने कुनै औपचारिक तालिम लिएको थिइनँ। अरुसँगै त्यतिकै चढेँ। माथि पुगेपछि हिमालबाट देखिने दृश्यले अझै हिमाल चढ्न आकर्षित भएँ’, उनले आफ्नो अनुभव साटे।

हिमाल चढ्ने क्रममा पाइला–पाइलामा मृत्यु बोकेर ज्यानको बाजी लगाएर हिँड्नुपर्ने नमीठो अनुभव पनि उनले साटे। उनका अनुसार प्राविधिक रुपमा सबै कुरा मिलपनि कहिलेकाहीँ प्राकृतिक विपत्ति आइपर्छ। त्यस्तो विपत्तिमा आरोहीहरु सफल रुपमा फर्किने ठेगाना हुँदैन।

उनले भने,‘कतिपय आरोही साथीहरु मरिरहेको पनि हुन्छ। त्यसलाई नकरात्मक रुपमा नलिइकन मन बलियो बनाएर अगाडि बढ्नुपर्ने पनि हुन्छ। कतिपय ठाउँमा दुर्घटना र अक्सिजन नभएर साथीहरुले रेस्क्यु गर्नुपर्ने पनि हुन्छ। त्यो पनि गरेको छु।’ उनले जोखिमपूर्ण र समाजमा महिला कमजोर हुन्छन् भन्ने कतिपय मानसिकताले महिलाहरुको संख्या अलिकति थोरै देखिएको बताए। यद्यपि यस क्षेत्रमा अहिले महिलाको संख्या निकै बढिरहेको उनको भनाई छ।

पर्वतारोहण र यसमा हुने जोखिम तथा संघर्षबारे समेटेर शेर्पाले ‘हिमालयन मेभरिक’ आत्माकथा सार्वजनिक गरेका छन्। पुस्तकले हिमालको संघर्षलाई विश्वमा पुर्याउने उनको ठहर छ। हिमालको कथा, संघर्ष र चुनौतीलाई मध्यनजर गर्दै नेपाल सरकारले पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने धारणा राखे।

हिमालको दुर्घटना र फोहोर व्यवस्थापनमा विशेष रुपमा हेर्नुपर्ने उनको मत छ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology