त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सल्यानकोट देखि त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पूजा–पाठ गरिएको जात्रा आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीस्थित आगिन्चोक, सल्यानबेसीको मन्दिरतर्फ झारिएसँगै सम्पन्न भयो। मङ्सिर महिनामा पर्ने यो जात्रा देवीलाई आफ्नो ‘मूलघर’बाट ‘माइतीघर’मा न्वागी खान लैजाने पुरानो परम्परा अनुसार विशेष साइत हेरी आयोजना गरिन्छ।

अनौठो परम्परा र अद्भुत सांस्कृतिक संगम
यस शक्तिपीठमा नेपालभरिका अन्य मन्दिरभन्दा फरक प्रथा कायम छ—भक्तजनले देवीको प्रतिमा प्रत्यक्ष देख्न पाउँदैनन्। देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले छुन नपाउने शताब्दीयौँ पुरानो पवित्र परम्परा आजसम्म जस्ताको तस्तै रहेको छ। देवीलाई मूलघरबाट माइतीघर झार्ने क्रममा झण्डै तीन घण्टाको कठिन ओह्रालो बाटो पुजारीले पिठ्युँमा बोकेर पार गर्ने दृश्य नै जात्राको मुख्य आकर्षण थियो।

पञ्चेबाजा, अविरयात्रा र हजारौँ भक्तजनको उत्साह
जात्रा स्थल सम्पूर्ण रूपमा सांस्कृतिक उमङ्गले गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खड्ग–खुकुरी प्रदर्शन, अविरयात्रा, शंख–घण्टाको ध्वनि र भक्तहरूको जयघोषसँगै वातावरण उत्सवमय बनेको थियो। देवीको प्रतिमा नहेरी बाटोमै बसेर पूजा गर्ने परम्पराले भक्तजनको अटुट श्रद्धा झनै प्रकट गराएको छ।

किंवदन्ती र शक्तिपीठको उत्पत्ति
त्रिपुरासुन्दरी भगवतीको उत्पत्ति हिन्दू ग्रन्थमा वर्णित शक्तिपीठ कथासँग जोडिएको मानिन्छ। किंवदन्तीअनुसार सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’ मा त्रिपुरासुन्दरी प्रकट भएकी मानिन्छिन्। स्थानीय कथन अनुसार वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा स्थान देखाइदिएपछि यो मन्दिरको स्थापना भएको हो।

पृथ्वीनारायण शाहसँग जोडिएको ऐतिहासिक प्रसङ्ग
यस स्थलको ऐतिहासिक महत्व पनि उत्तिकै गहिरो छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारीका क्रममा सल्यानकोट पुगेका बेला देवीले बालिकाको रुपमा प्रकट भई दुई हातले खड्ग प्रदान गरेको विश्वास गरिन्छ। यही ‘देवीको खड्ग’ नुवाकोट तथा त्यसपछिका विजययात्राको शुभसंकेत भएको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।

बीसौँ हजारभन्दा बढी भक्तजनको सहभागिता
यस वर्ष सल्यानकोटबाट सुरु भएको भक्तियात्रा बेसी पुग्दा २० हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताए। सोमबार बेसीमा न्वागी चढाएपछि जात्रा औपचारिक रूपमा सम्पन्न भएको हो।
