काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) का खेलमा अवैध अनलाइन सट्टेबाजी गराएको आरोपमा पक्राउ परेकाबाट प्रहरीले २ करोडभन्दा बढीको कारोबार फेला पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका १० जनाका डिजिटल वालेटहरूमा २ करोड ५ लाख रुपैयाँ बराबरको ट्रान्जेक्सन भएको भेटिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र आसपासबाट पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक र १ जना नेपाली महिला छन्। उनीहरूमध्ये दुई जनाले म्याच फिक्सिङको प्रयास गरेको आशंका प्रहरीले जनाएको छ, भने बाँकी ८ जना सक्रिय अनलाइन बेटिङमा संलग्न रहेको खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरूले ‘स्टेक डट कम’ र ‘बेटबुक डट कम’ जस्ता विदेशी वेबसाइट तथा एपमार्फत सट्टेबाजी सञ्चालन गर्दै आएको देखाएको छ। पक्राउ परेकालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेकाे छ।
एनपिएललाई लक्षित गर्दै यस वर्ष प्रहरीले ४० सिसिटिभी क्यामेरा, ड्रोन मनिटरिङ, विज्ञ कुकुर, तथा १२२३ सुरक्षाकर्मी परिचालन गर्दै कडा सुरक्षा व्यवस्था गरेको पनि एसपी भट्टराईले बताए।