कुराकानी । पर्साको वीरगञ्जमा साम्प्रदायिक तनाव बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कुनै पनि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने भएको हो।
मस्जिद तोडफोड र आगजनीको घटनापछि आइतबार मुस्लिम समुदाय र सोमबार हिन्दुवादी समूहको प्रदर्शन उग्र बनेपछि अवस्था तनावग्रस्त भएको हो। प्रदर्शनका क्रममा ढुङ्गामुढा भएपछि प्रहरीले थप सुरक्षा बल परिचालन गरेको छ। मकालु चोक क्षेत्र सबैभन्दा संवेदनशील रहेको प्रहरीले जनाएको छ।

पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्। आदेश उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।