कुराकानी । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध पार्टी सभापति चयन भएका छन्। निर्वाचन प्रक्रियामा कुनै प्रतिस्पर्धा नदेखिएपछि सभापतिसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली औपचारिक रूपमा पढेर सुनाउँदै सबै पदमा निर्विरोध निर्वाचन भएको घोषणा गरेको थियो। घोषणा पश्चात सभापति गगन थापालाई तत्कालै शपथ ग्रहण गराइएको छ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसोका लागि तय गरिएको छ।
महाधिवेशनको अन्तिम चरणमा मध्यरातपछि सुरु भएको घोषणा कार्यक्रम करिब बिहान २ बजेसम्म चलेको थियो। उपसभापति चयन भएका विश्वप्रकाश शर्माले नयाँ केन्द्रीय कार्यसमिति पूर्ण रूपमा विधिको माध्यमबाट चयन भएको दाबी गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाइएको बताएका छन्।
नयाँ कार्यसमितिमा उपसभापतिका रूपमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
सहमहामन्त्रीतर्फ समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समूहबाट नेतृत्व चयन गरिएको छ। महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन्।
दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टीलाई संगठनात्मक एकता, नीतिगत स्पष्टता र समावेशी राजनीतिक अभ्यासतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।