बिहारबाट नेपाल प्रवेश गरेको पानीले कता पार्यौ बढी प्रभाव ?

बिहारबाट नेपाल प्रवेश गरेको पानीले कता पार्यौ बढी प्रभाव ?

  • कुराकानी

  • शनिबार, चैत्र ७, २०८२

  • 0
    SHARES
बिहारबाट नेपाल प्रवेश गरेको पानीले कता पार्यौ बढी प्रभाव ?

कुराकानी । भारतको बिहार क्षेत्रमा रहेको एक प्रणाली बागमती प्रदेशमा प्रवेश गरेर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर-बगाहा हुँदै प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर-पूर्व सर्ने क्रममा छ । यो प्रणाली नेपालमा पहिलेदेखि सक्रिय रहेको वर्षा प्रणालीसँग ठोक्किने भएकाले केहीबेर भीषण वर्षा गराउने उच्च सम्भावना छ।

मौसमविद् उपाध्यायका अनुसार यो प्रणाली पश्चिम चितवनबाट सुरु भएर पूर्वतर्फ बढ्नेछ । यसको प्रभावका कारण चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।

साथै, धादिङ र उत्तरी मकवानपुर हुँदै यो प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यका आइपुग्ने अनुमान छ।

उनका अनुसार यो वर्षाको अवधि बढीमा ३ घण्टाको हुनेछ । काठमाडौं उपत्यका आइपुग्दा यो प्रणाली केही कमजोर भइसक्ने भएकाले उपत्यकामा ठूलो वर्षाको सम्भावना भने कम देखिएको छ ।

यो वर्षापछि भने पश्चिम तथा काठमाडौं उपत्यका र मध्य क्षेत्रको मौसम क्रमशः खुल्दै जाने बताइएको छ । मौसमविद हरिप्रसाद दाहालका अनुसार आजै रातिबाट यो प्रणालीको प्रभाव कम हुँदै जाने सम्भावना छ ।

हिजो मात्रै देशका विभिन्न स्थानमा मेघ गर्जनसहित ठूलो हुरीबतास र असिना पानी परेको थियो । हिजोको सो मौसमी घटनाले जनजीवन केही प्रभावित बनेको थियो भने स्थानीय स्तरमा बालीनाली र संरचनामा पनि सामान्य क्षति पुगेको थियो।

सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा भएको छ । आज बिहान सवा ८ बजेसम्मको विवरण अनुसार लेटाङमा ६१.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

वर्षासँगैको भलबाढी र हावाहुरीले विभिन्न जिल्लामा सडक, विद्युत र सन्चार सेवा प्रभावित भएको समाचार छ ।

शुक्रबारकै प्रणालीकै निरन्तरता र थप विकसित वायुका कारण आज चितवन र आसपासका क्षेत्रमा पुनः वर्षाको सम्भावना बढेको मौसमविदको भनाइ छ ।

मौसममा भइरहेको परिवर्तन र वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । विशेष गरी हुरीबतास र चट्याङको जोखिमप्रति सचेत रहन मौसमविद्हरूको सुझाव छ ।

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो ।

आज बिहान साढे ३ बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिए । उनका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने देखिएको छ ।

यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास भने सुरु गरिएको उनको भनाइ छ ।

यसैबीच वर्षाका कारण बीपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि सवारी साधन ‘होल्ड’ गरेको छ ।उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट काठमाडौँ प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजूले बताए ।

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology