कुराकानी । एउटा सुन्दर गाउँ छ । त्यो गाउँमा घ्यु खोला छ । गाउँलेहरु छन् र छ एक राई परिवार । उक्त घरमा एक जोडी श्रीमान र श्रीमती मात्रै बस्छन् । जति प्रयास गर्दा पनि उनिहरुको बालबच्चा हुन सकेको छैन ।
हो, त्यहि परिवारमा प्रवेश हुन्छ बालक बलराम भट्टको । उसका बाउआमा कता गए के भए केहि थाहा छैन । त्यसैले उ राईको घरमा हुर्कन पायो । जातको हैन मायाको डोरीले बाँधिएर उसको नाम बाबुराम भट्ट राई रहन गयो ।
उसको राई बाउ पनि ट्याक्टर ड्राइभर । फलस्वरुप उ पनि ड्राइभर बन्यो । गाउँमा बलरामलाई माया गर्ने साथीभाई छन् । घरमा माया गर्ने आमाबा छन् । साथमा मन परेकी केटी पनि । बलरामको जिन्दगी साह्रै गज्जवसँग बितिरहेको थियो ।
तर एकदिन घरमा दुईजना मानिस आउँछन् र ६ महिनादेखि ट्याक्टर लिँदाको ऋणको किस्ता नतिरेको भन्दै अबको एक महिनामा पनि किस्ता तिर्न नसकेमा ट्याक्टर नै उठाएर लैजाने धम्की दिन्छन् । अब बलरामले के गर्ला त ? कसरी ट्याक्टरको ऋण तिर्ला र आफ्नो बनाउला ? थाहा पाउन नजिकको सिनेमाघरमा गएर फिल्म हेर्नुहोला ।
ए ! कथाजति त सबै यहिँ लेखिदिएछ अब किन जानु फिल्म हेर्न भन्ने सोच्नुहोला है फेरि । यति कुरा त फिल्मको ट्रेलर हेर्दा समेत थाहा पाउन सकिन्छ ।
फिल्म हेर्न जाने भनेको कथा कस्तो छ भनेर थाहा पाउन हैन, यसलाई पर्दामा कसरी देखाईएको छ भनेर हो । बलिष्ठ नामको हेपाहा प्रवृति भएको ब्यापारी र बाबुराम जस्तो इमान्दार ट्याक्टर चालकको द्वन्द र त्यो सँगै जोडिएर आउने विभिन्न घटना परिघटनालाई दृष्यमा कसरी देखाइएको छ भनेर हेर्नका लागि हो ।
अब सुरु गरौं फिल्मको समीक्षा है त ।
फिल्मको पटकथामा नौलोपना भेटिन्छ । अहिलेसम्म नेपाली फिल्ममा खोलाको ठेकेदार र ट्याक्टर चालकको द्वन्द देख्न पाईएको थिएन । त्यसैले यो हामीलाई रोचक पनि लाग्छ । आफ्नै घरगाउँको झल्को समेत दिलाउँछ । क्रसर उद्धयोग र यसका विवादले ज्यानै गुमाएका घटनाहरुको याद पनि आउँछ । जथाभावी र क्षमता भन्दा बढी गिट्टी बालुवा निकाल्दा पुरै बस्ती धरापमा परेको समाचारहरु पनि मनसपटलमा घुम्छ भलै फिल्मले यी विषयमा नबोलेकै किन नहोस् ।
तर पटकथा एकातिर जानुपर्ने अर्कोतिर गएर भने समस्या निम्त्याउँछ । यहाँ मुख्य पात्र घ्यु खोला पनि हो । तर यो घ्यु खोलालाई राम्रोसँग पर्दामा स्थापित गर्न सकिएको छैन । त्यसो त यसको पनि द्वन्द पनि कमजोर नै छ । राई दम्पति त्यतिसम्म गरिव पनि छैनन् जति ट्याक्टरको केहि लाख रुपैयाँ पनि जम्मा गर्न नसकोस् । कमाई पनि राम्रै देखाईएको छ । तरपनि ठिकै छ कमायो रमायो होला तर त्यसलाई स्पष्ट तरिकाले पर्दामा देखाउन सकिएको छैन ।
यी त सबै सामान्य समस्याहरु भए जसलाई सिने लिबर्टीको रुपमा लिन सकिने भयो । यसको सबैभन्दा ठुलो समस्या भनेको चाहिँ देखाउन खोजेको कथाले गन्तव्य भुल्नु । स्कृनप्ले चुस्त छैन । आरोह अवरोह छ पात्रको तरपनि कथाले बाटो बिराउँदा देखाउन खोजेको के हो र कसको दृष्टीकोणबाट कथा भनिएको हो छुट्यान गाह्रो हुन्छ ।
त्यस्तै, मामासँग बलरामको सम्बन्धलाई पनि फरक तरिकाले सिनेमामा ल्याण्ड गर्न सकिने ठाउँ थियो । बलराम भट्ट राई थियो तर मामाको भान्जा त भट्ट मात्रै थियो । यी दुई कुरालाई जोडेर कानुनी रुपमा अंगदान गर्नु सजिलो कुरा हैन भनेर मामा पात्रलाई ल्याण्ड गर्न सकिन्थ्यो तर फिल्मको अन्त्य चित्तबुझ्दो छैन ।
फिल्मले सरकारी कर्मचारी र प्रहरी कतिसम्म भ्रष्ट हुन्छन् र यदि उनिहरुले चाहेमा जे पनि सम्भव छ भनेर देखाउने प्रयास गरेको छ, त्यो भने प्रसंसनिय छ ।
फिल्ममा अभिनयको कुरा गर्ने हो भने सबै कलाकारले आफ्ना चरित्रलाई न्याय दिएका छन् तर केहि ठाउँमा भने इमोसनल रुपमा पात्रहरुसँग कनेक्ट हुन सकिँदैन । बलरामको भूमिका निर्वाह गरेका कलाकार बिजय बरालको अभिनय समेत एउटै फ्लोमा अगाडी बढ्न सकेको छैन । उनका हरेक स्वरुपमा चाहे रिसको बेलामा, चाहे प्रेमको माहोलमा या रोएको समयमा हरेक ठाउँमा एउटा ग्याप महशुस हुन्छ ।
टुक्रा टुक्रा जोडिएको जस्तो । रोएको दृष्यमा पनि उनि डाँको छाडेर रोएपनि त्यहाँ इमोशनल कनेक्सन भेटिन्न । घ्यु खोलाको किनारमा बसेर भगवानसँग गरेको बिलौना होस् या अन्त्यमा आमा छोरा रुँदाको दृष्य होस् दर्शक जोडिन सक्दैनन् ।
बलिष्ठ बनेका दयाहाङ राईको अभिनयमा भने नौलोपना देख्न सकिन्छ । उनलाई फरक चरित्रमा समेत देख्न सकिन्छ । जसरी यो पात्र पर्दामा आउँछ र यस चरित्रको ल्याण्ड हुन्छ, त्यो न्यायोचित लाग्छ ।
नवनायिका समृद्धी अर्यालको अभिनय पनि प्राकृतिक लाग्छ । तर उनको चरित्रलाई भने अलि जर्क तरिकाले लेखिएको भान हुन्छ । उनि सायद बलरामको जिन्दगीको घ्यु खोला हुन् जो छिनमै रिसले बाढीको रुप लिन्छिन् त छिनमै मायालु पनि लाग्छिन् ।
पशुपति राईको अभिनय पनि मन छुने छ । उनले ढोकाबाट चिहाएर बाउ छोराको कुरा सुन्दा आफ्नै घरको आमा याद दिलाउँछ । माओत्से गुरुङको अभिनय पनि गज्जवकै छ ।
बाबुरामको घर नजिकको छिमेकी, साथीभाई, प्रहरी र मामाको अभिनय पनि मज्जाको लाग्छ । केमियोमा रहेकी सिर्जना सुब्बा र प्रमोद अग्रहरीको उपस्थितीले फिल्मलाई झनै मिठो बनाएको छ ।
अभिनय राम्रो भएपनि फिल्म चाहिने भन्दा लामो छ । केहि दृष्यहरु हटाउन पाएको भए झनै मजा आउने थियो । प्राविधिक रुपमा पनि साउन्डमा कमजोर लाग्यो । अझै केहि दृष्यमा त डब गरेको आवाज समेत थिएन । सम्पादन पक्षमा अलि ध्यान दिन पाएको भए राम्रो हुनेथियो ।
समग्रमा भन्दा यो फिल्म मिठो हलुवा थियो तर त्यहाँ घ्यु खोलाको बालुवा पनि मिसियो ।
यो फिल्मलाई म दिन चाहन्छु ५ मा २.५ स्टार । ०.५ स्टार यसको स्कृनप्लेका लागि, १.५ स्टार अभिनयका लागि र ०.५ स्टार नौलो बिषयमा फिल्म बनाएकाले ।
भिडियो समीक्षा
पुष्पा थपलिया