कुराकानी । प्रतिनिधिसभा बैठकमा सोमबार एउटा रोचक दृश्य देखियो।
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राई बोल्न रोस्टममा त पुगे, तर भाषण सुरु गर्नुको सट्टा मन्त्रीहरूको हाजिरी जाँच्न थाले। जसमा अधिकांश मन्त्रीले बैठक बंक गरेको पाइयो।
यतिबेला ९ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ। राईको प्रश्न सरल थियो, जब ९ मन्त्रालयको बजेटमाथि बहस हुँदैछ भने सम्बन्धित ९ जना मन्त्री कहाँ छन्?
उनले यसअघि पनि अर्थमन्त्री खोज्नुपरेको प्रसंग सम्झिए र आफू मन्त्री खोज्ने अभियानमा ननिस्किएको प्रष्ट्याए।
जसलाई सुनाउनुपर्ने कुरा हो, उनीहरू नै उपस्थित नभएपछि बोल्नुको अर्थ नहुने उनको तर्क थियो।
राईले बारम्बार “विधि” को कुरा उठाए। उनका अनुसार संसद् विधिअनुसार चलाउने हो भने सम्बन्धित सबै मन्त्री उपस्थित हुनुपर्छ।
उनले ठट्यौली पारामै भने, “अहिले त २ जना मात्रै मन्त्री रहेछन्, बाँकी ७ जनालाई बोलाउनुस्, अनि म दनादन आफ्नो कुरा राख्छु।”
सभामुख डोलप्रसाद अर्यालले पटक–पटक बोल्न आग्रह गरे। तर राई आफ्नो अडानबाट टसमस भएनन्। मन्त्री नआउँदासम्म नबोल्ने भन्दै उनी रोस्टममै उभिइरहे।
अवस्था यस्तो भयो कि सांसद बोल्दैनन्, सभामुख बैठक अगाडि बढाउन सक्दैनन्। अन्ततः सभामुखले “उभिराख्दा अप्ठ्यारो भयो, अब अगाडि बढ्नुस्” भन्दै सम्झाउने प्रयास गरे। राईले भने थिति बिग्रन नहुने अडान दोहोर्याइरहे।
रोस्टममा सांसद मौन बसेपछि र मन्त्रीहरू पनि नदेखिएपछि सभामुख झन् अप्ठ्यारोमा परे।
अन्ततः संसद्को कामकारबाही नै अघि बढ्न नसक्ने अवस्था बनेपछि उनले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्यो।
नियम बनाउने, सरकारलाई जवाफदेही बनाउने र जनताका मुद्दा उठाउने जिम्मेवारी बोकेर संसद् पुगेकाहरूले कहिलेकाहीँ यस्ता दृश्य देखाउँछन् कि संसद् कम, स्कुलको कक्षा बढी जस्तो लाग्छ।
एकातिर मन्त्रीहरू बैठक बंक मार्छन्, अर्कोतिर सांसदहरू बोल्नै नमानेर रोस्टममा अडिन्छन्।
अन्त्यमा कामकारबाही नै रोकिएर बैठक स्थगित हुन्छ। जनताले भने फेरि उही प्रश्न सोध्छन्, यो सबै कसका लागि?
अब त स्कुलले विद्यार्थी आकर्षित गर्न पुरस्कार, हाजिरी योजना र विभिन्न स्किम ल्याएझैँ संसद्ले पनि मन्त्रीहरूलाई बैठकमा तान्न कुनै “उपस्थिति योजना” ल्याउनुपर्ने हो कि जस्तो देखिन थालेको छ।
व्यंग्य जस्तो लागे पनि विडम्बना के छ भने देशको नीति र बजेटमाथि छलफल हुने संसद्मा मन्त्री उपस्थित गराउनै संघर्ष गर्नुपरेको अवस्था आफैंमा गम्भीर विषय हो। जनताले सांसद र मन्त्रीलाई नौटंकी हेर्न होइन, काम गर्न पठाएका हुन्।