कुराकानी । प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले बलात्कार र हत्याजस्ता गम्भीर अपराधको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेका बेला अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि अदालतको फैसला नआउँदै नावालिगको बयान भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रिया नभएको बताएका छन्।
श्रेष्ठले सत्य बाहिर आउनुपर्ने र दोषीले कानुनअनुसार सजाय पाउनुपर्नेमा जोड दिँदै न्यायको प्रक्रियामा संवेदनशीलता र मानवीय मर्यादा कायम गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार पीडितको पीडालाई ‘कन्टेन्ट’ र अभियुक्तको बयानलाई ‘भाइरल सामग्री’का रूपमा प्रस्तुत गर्नु उचित होइन।
“न्याय चाहिन्छ, तर न्यायको बाटोबाट। सत्य चाहिन्छ, तर संवेदनशीलतासहित। समाचार चाहिन्छ, तर मानवीय मर्यादा जोगाएर,” श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले विशेषगरी नाबालकसँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा थप संवेदनशील हुनुपर्ने सन्देश दिएका छन्।