फिल्म समिक्षा

फिल्म परस्त्रीः शक्तिशाली दृष्य तर छैन कनेक्सन

फिल्म परस्त्रीः शक्तिशाली दृष्य तर छैन कनेक्सन

फिल्ममा राम्रा पाटो हुँदाहुँदै पनि केहि ठाउँमा सुधार आवश्यक छ ।

  • पुष्पा थपलिया

  • शनिबार, असार १६, २०८०

  • 134
    SHARES
फिल्म परस्त्रीः शक्तिशाली दृष्य तर छैन कनेक्सन

 

कुरौटेपाटी, काठमाडौं । परस्त्री, पराइकी स्त्री वा आफ्नी पत्नीबाहेककी अन्य स्त्री । नेपाली समाजका लागि परस्त्रीको शब्द र अर्थ महिलालाई होच्याउन प्रयोग गरिन्छ । आफु जस्तै अर्की महिलाको श्रीमानसँग लाग्ने महिला र घरमा श्रीमान हुँदाहुँदै अर्को पुरुषसँग लाग्ने महिला दुबैको अर्थ जान्छ शिर्षकले ।

फिल्मको घोषणा हुँदा नै अन्य फिल्म जस्तै यसले पनि महिलालाई घोचपेच गरेको छ, महिलाको दुस्मन महिला हो भन्ने भाष्य प्रमाणित गर्न खोजेको जस्तो लागेको थियो । तर फिल्मको कथाबस्तुले शिर्षकलाई सार्थक बनाएन । महिलाको दृष्टिकोणले यो फिल्म हेर्ने हो भने यसको सबैभन्दा सकारात्मक पाटो नै शिर्षक सार्थक नहुनु हो ।

आरजे (रेडियो जक्की) आभ्या (शिल्पा मास्के) छिन्, जो फोनमा श्रोतासँग गफ गरेर मनका कुरा बाँड्छिन् । तर उनको मनभरी धेरै कुराहरु गुम्सिएका छन् । धनि घरकी उनी दिमागी हालत ठिक नभएको श्रीमान (कोशिस क्षेत्री) बाट पिडित छिन् । उनका श्रीमान धेरै मायालु छन्, माया गर्छन् तर दिमाग ठिक ठाउँमा नरहँदा श्रीमतीलाई दुःख दिन्छन् । त्यहि समयमा अर्को अविवाहित पुरुष (गौरव बिष्ट) को प्रवेश हुन्छ, जसले श्रीमानले दिन नसकेको आध्याको शारिरीक सन्तुष्टि पुरा गर्छ ।

यहि तीन पात्र वरपर घुमेको फिल्म छ । साइकोपाथ पात्र भएका थ्रिलर फिल्मका यी पात्रहरुको कथा कसरी अगाडी ढाउलान्, थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ । नेपाल र भारतका हलहरुमा फिल्म चलिरहेको छ । फिल्ममा धेरै नौला प्रयोगहरु भएका छन् । क्राफ्टहरुको प्रयोग यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो । उदाहरणका लागि, आभ्यालाई देखेपछि शरिर भोगका लागि पठाइएको भित्री बस्त्र र गुलाफको फुल । यी दुबै क्राफ्टले कोहि मानिस आभ्याको शरिरसँग आकर्षित भइरहेको छ भन्ने देखाउन मद्दत गर्छ । जब सम्बन्धमा दरार आउँछ, गुलाफको फुल ओइलिएको देखाइन्छ ।

चरित्र निर्माणमा धेरै मिहेनत छ । लामो दुरीको प्रेम सम्बन्धमा बसेको अविवाहित युवाको मनोदशा, बालापनमा देखेको घटनाले मनोबिज्ञानमा असर पारेको आइटी इन्जिनियर र यौन कुण्ठाले भरिएकी सञ्चारकर्मी ।

क्यामराको काममा नयाँ प्रयास गरिएको छ । पात्रको मनोदशा अनुसार क्यामरा चलाउन सक्नु यो फिल्मको बलियो पक्ष हो । पात्रको दिमागमा शुन्यता छाउँदा ब्ल्याक बनाइएको दृष्य शक्तिशाली छ । तर कतिपय दृष्यहरुले भने कथालाई स्थापित गर्न सकेको छैन । जस्तै, आभ्यालाई बेहोस् बनाइसकेपछिको ओछ्यानसम्म लैंजादाको दृष्य छ, जसमा क्यामरा छड्केबाट बिस्तारै सिधा हुन्छ । यसले भन्न खोजेको के हो, थाहा हुँदैन ।

कलाकारहरुको अभिनय अर्को राम्रो पाटो हो फिल्मका लागि । साइको पात्रको भुमिकामा कोशिस क्षेत्रीले गरेको काम प्रशंसायोग्य छ । डेब्यु कलाकार गौरब बिष्टको अभिनय मौलिक छ । शिल्पा मास्केले आफ्नो भुमिकालाई न्याय दिएकी छन्, तर केहि ठाउँमा भने उनको अभिनय अलि बढीजस्तो देखिएको छ ।

फिल्ममा राम्रा पाटो हुँदाहुँदै पनि केहि ठाउँमा सुधार आवश्यक छ ।

फिल्मका लेखक दिपेन्द्र के. खनाललाई एक आरोप लाग्ने गरेको छ, कथाको जग कमजोर बनाउनेबारे । त्यहि गल्ती यसमा पनि छ । मानसिक अवस्था ठिक भएको मानिसले शवसँग यौनसम्बन्ध कायम गर्न सक्दैन । बाबुको कारण छोराको मनस्थितिमा असर परेको देखाइएको छ तर बाबुले किन त्यसो गर्यो भन्ने उल्लेख छैन । ति कुराहरु पनि थोरै देखाउन सकेको भए कथाको जग बलियो हुनेथियो ।

कतिपय दृष्यहरु अनावस्यक छन् । जस्तै, आभ्यालाई बेहोस बनाइसकेपछि फेरि कसरी पानीमा बेहोस हुने औषधी मिलाएको थियो भन्ने देखाउन जरुरी थिएन ।

फिल्ममा क्यामराको काम राम्रो छ, तर जुन ठाउँमा काम देखाउन सक्नुपथ्र्यो, त्यहाँ छैन र जहाँ आवश्यक छैन त्यहाँ छ । उदाहरणका लागि, मानिस काटेको सिनमा ब्ल्याक बनाउन सकिन्थ्यो, श्रीमती अर्कोसँग शारिरीक सम्पर्क राखेको ठाउँमा अर्को नयाँ प्रयोग गर्न सकिन्थ्यो । आफ्नी श्रीमतीलाई परपुरुषले कुदृष्टिले हेरेको समेत देख्न नसक्ने मानविय स्वभाव हुन्छ । त्यहाँ त शारिरीक सम्पर्क भइरहेको थियो । तर पात्र आफैले आफैलाई चक्कु रोपेको कल्पना गर्छ तर परपुरुष र श्रीमतीलाई छाडिदिन्छ ।

फिल्मको अर्को कमजोरी भनेको अपराधलाई पुर्ण रुपमा देखाउनु हो । फिल्मले अपराधलाई प्रश्रय दिन्छ । मानिस मारेको र प्रमाण नष्ट गरेको कामहरु सिम्बोलिक रुपमा देखाउन सकिन्थ्यो, तर फिल्ममा पुर्ण रुपले देखाइएको छ ।

कतिपय दृष्यहरु अनावस्यक छन् । जस्तै, आभ्यालाई बेहोस बनाइसकेपछि फेरि कसरी पानीमा बेहोस हुने औषधी मिलाएको थियो भन्ने देखाउन जरुरी थिएन ।

बाउले लाससँग शारिरक सम्पर्क राखेको देखाउँदा सिम्बोल प्रयोग गरिएको छ । त्यस्तै छोराको समयमा पुरै देखाइएको छ । कलात्मक माध्यमबाट देखाउन सकिने कुराहरुलाई सिधै देखाउँदा फिल्म केहि ठाउँमा अफ्ट्यारो लाग्ने बनेको छ । फिल्मको अर्को कन्फ्युजिङ पाटो भनेको रंग संयोजन पनि हो । रातो रंगले धेरै कुरालाई देखाउँछ । माया प्रेम, हिंसा, अपराध सबै । तर रातो रंगको पनि धेरै प्रकार हुन्छ । फिल्ममा त्यो प्रकार देखाउन सकिएको छैन । प्रेमको र हिंसाको रंग उस्तै रातो भइदिँदा त्यसले फिल्ममा जति मज्जा दिनुपथ्र्यो त्यति दिन सकेको छैन ।

फिल्ममा ब्याकग्राउन्ड म्युजिक (बिजिएम) राम्रो छ, तर त्यसको प्रयोग प्रभावकारी ढंगले हुन सकेको छैन । फिल्मको संसारमा लैजान बिजिएम नराम्रोसँग चुकेको छ । फिल्मको सबैभन्दा अल्छिलाग्दो दृष्य बन्न पुगेको अर्को काम हो, संगित । निकै अल्छिलाग्दो र सन्दर्भ नमिलेको म्युजिक फिल्ममा प्रयोग गरिएको छ । त्यो गित हटाएको भए, फिल्म केहि चाखलाग्दो बन्नसक्थ्यो ।

फिल्ममा सबैभन्दा नराम्रोसँग चुकेको ठाउँ भनेको शिर्षक हो । किनभने फिल्मले शिर्षकलाई सार्थक बनाउँदैन । यसको कारण हो, कुन पात्रले कथा भनेको ठम्याउन नसक्नु । फिल्म आधा आभ्याको नजरबाट छ, आधा उनको श्रीमानको नजरबाट । तर परपुरुष जसको आँखाले कथा भनेमात्रै फिल्मको शिर्षक सार्थक हुनेवाला थियो, उसको नजरको कथा छैन ।

फिल्ममा निकै शक्तिशाली दृष्यहरु छन्, जस्तै मेअकप बिगारेर ऐनमा लिपिष्टिकले चित्र कोर्नु । सजिएर ओछ्यानमा द गर्ल हु ड्याङ द मुन किताबसँगै सुत्नु, रातो भित्री बस्त्र लगाएर हस्तमैथुन गर्नु आदि । तर यी सबै सिनहरुको कनेन्सन छैन । सरर यी दृष्य बग्न नसक्दा शक्तिशाली दृष्य भएपनि यसले कथा भन्न सकेको छैन ।

फिल्ममा समस्या छन्, तर यो सुन्दर प्रयास भने हो । नेपालमा डार्क थ्रिलर बिधामा कमै फिल्म बनेका छन् । बिदेशतिर बनेका यिनै बिधाका फिल्महरु हेर्नुभएको छ भने केहि खल्लो लाग्नसक्छ तर प्रयास राम्रो छ । डेब्यु निर्देशनमै यत्तिको कथा भन्न सक्नु सुरज पाण्डेको क्षमता हो, जसको प्रशंसा गर्नैपर्छ ।

यदि मुटु कमजोर छ भने, फिल्म तपाइका लागि हैन । साइकोपाथ डार्क थ्रिलर फिल्मको पारखी हुनुहुन्छ भने फिल्मले तपाइलाई आनन्द दिनसक्छ ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology