फेस टु फेस बहस

अर्काकाे खेतमा घर बनाउने निर्माताको कुरै नगरौं: बितरक सुनिल मानन्धर (भिडियाे सहित)

अर्काकाे खेतमा घर बनाउने निर्माताको कुरै नगरौं: बितरक सुनिल मानन्धर (भिडियाे सहित)

म फिल्म नै नहेरी पैसाको बलमा मात्र फिल्म बितरण गर्दै आएको मानिस हुँ । मेरो बिचारमा म क्रियसन गर्ने मानिस हैन ।

  • कुमार बिनाेद

  • बिहिबार, अशोज २५, २०८०

  • 1.3K
    SHARES

सार्वजनिक कार्यक्रममा खासै मुख नखोल्ने तर मुख खोल्नै परे सबैको पोल खोल्ने बितरक हुन् सुनिल मानन्धर । झण्डै २५ बर्षदेखि नेपाली फिल्म क्षेत्रमा बितरकको काम गर्दैै आएका उनि पाँच बर्षयता आफुले जिम्मा लिएको ९० प्रतिशत फिल्मले लगानी उठाउन नसकेको स्वीकार गर्छन् । आफुले बितरणको जिम्मा लिएका कुनैपनि फिल्म नहेरेको बताउने उनि बितरकको काम जुवा खेल्नुजस्तै भएको बताउँछन् । उनै सुनिल मानन्धरसँग लामो समयदेखि फिल्म क्षेत्रलाई नजिकबाट नियालीरहेका कुमार बिनोद ले गरेको फेस टु फेस बहसको सम्पादीत अंश:

नेपालको बितरकहरुमा फिल्म बजारको ज्ञान कम भएको हो ?
हो, । मैसँग पनि सेल्स इन मार्केटिङको राम्रो ज्ञान छैन, स्वीकार गर्छु । म फिल्म नै नहेरी पैसाको बलमा मात्र फिल्म बितरण गर्दै आएको मानिस हुँ । मेरो बिचारमा म क्रियसन गर्ने मानिस हैन । अहिलेसम्म जति पनि फिल्म चले ति सबै लक (भाग्य) को कारण हो । सुरु सुरुमा त हेर्थेंं, रिसर्च गर्थें तर नराम्रो फिल्म चल्ने र राम्रो फिल्म नचल्ने हुन थालेपछि मैले यो काम छाडिदिएँ ।

करोड लगानी गर्ने मानिसले यस्तो कुरा गर्न मिल्छ ? तपाइको पैसा बोटमा फल्ने हो टक्क ल्याएर हालिदिनका लागि ?
त्यो हैन तर के गर्नु म कहिल्यै आफुले बितरण गर्ने फिल्म हेर्दिन । आज भन्दा १० बर्षअघिको अन्तवार्ता हेर्नुभयो भनेपनि थाहा हुन्छ, मैले भन्दै आएको छु यदि फिल्म हेर्थें भने म नेपाली फिल्मको बितरक नै बन्दैनथें । झुर फिल्म बन्छ अनि । मैले अहिले सम्म तिनओटा फिल्म निर्माण समेत गरेको छु । आफैले निर्माण गरेका फिल्मको त हरेक जिम्मा निर्देशकलाई दिएँ, एकचोटी पनि स्कृप्ट यता उता हेरिनँ ।

तपाईसँग पैसा धेरै भएको हो दाई ?
हैन, पैसा धेरै थोरै भन्ने कुरै हैन । म सँग छ, छैन भन्ने कुरा अर्कोतिर राखौं । बितरक सुनिल मानन्धर भएर मेरो फिल्म बितरण गर्ने तरिका यहि हो । यसमा परिवर्तन गर्ने सोच पनि छैन ।

यसमा सुनिल मानन्धरले आफुलाई परिवर्तन गर्न नखोजेको भनेर हामीले बुझ्न पाउँछौं ?
हो । मैले हेरें, मलाई राम्रो पनि लाग्यो । तर त्यसो भन्दैमा फिल्म ब्यापारको दृष्टिकोणले राम्रो हुँदैन । यदि मैले यी सबै कुरा बुझ्ने र जान्ने हो भने त निर्देशक नै बनिहाल्थें नि, किन बितरक बन्थें होला त । निर्माता बनेको एक दुई बर्षमै मान्छेहरु निर्देशक बनेर मेरै आँखा अगाडी हिँडिरहेका छन् । तर मलाई मतलव छैन । मेरो काम के होे ? पैसा लगाउने हो, फिल्म लिने हो र त्यसलाई बेचेर पैसा कमाउने हो । अहिलेसम्म जे जति फिल्महरु गरेको छु, सबै साथीभाई या चिनेजानेको भरमा मात्रै हो । अब पाँच बर्षजति यो क्षेत्रमा काम गर्ने योजना छ । यी बिचमा पनि म फिल्म छानेर बितरण गर्दिनँ । ५० बर्ष पुग्न एक बर्ष बाँकी छ । ५० बर्षपछि काम गर्दिन भन्ने सोच थियो तर केहि लम्बिएला जस्तो छ । यो पेशामा रहनु भनेको आयु घटाउनु हो । मैले मेरो ब्यक्तिगत जीवन बिताउनै पाएको छैन ।

सबै बितरक र तपाईको तुलना गर्दा, सबैभन्दा नकमाउने बितरक भनेर तपाईलाई भन्न मिल्छ ?
मिल्दैन । मैले नकमाएको भन्न मिल्दै मिल्दैन । किनभने मैले घरबाट एक पैसा पनि ल्याएको छैन । सबै बजारबाटै उठाएको हो, बजारमै राखेको हो । वि.सं. २०७५ पछि भने मैले पाँच पैसा पनि कमाएको छैन । २०६५ देखि १० बर्षसम्म मैले मात्रै पैसा कमाएको हो । ३७ देखि ४२ ओटा फिल्म बर्षमा म एकलैले चलाउँथें । मैले चलाएका सबै फिल्मले पैसा उठाएका थिए । अहिले सक्छ कसैले यस्तो गर्न ? २०७५ पछि मात्रै हो मैले बितरण गरेका फिल्मले पैसा कमाउन छाडेको ।

फिल्म नहेरी बितरण गर्नुहुन्छ । घाटा हुन्छ भन्ने जान्दाजान्दै बितरण गर्नुुहुन्छ खास कारण के हो ? तपाईलाई घाटाको ब्यापार गर्न के ले बाध्य बनायो ?
स्टार्ट हुने गाडी जसले पनि स्टार्ट गर्छ । स्टार्ट नहुने गाडीलाई स्टार्ट गर्नुको मज्जा नै मैले गरिरहेको काम हो । सुचित्रा श्रेष्ठले निर्देशन गरेको फिल्म कसले बितरण गथ्र्यो यदि मैले नगरेको भए । घाटा भएपनि अहिले इतिहासमा नाम छ, नेपालको पहिलो महिला निर्देशकको फिल्म भनेर । कहिलेकाहीं लाग्छ, ब्रेक फेल भएका गाडी चलाउन खोज्नु नै मेरो बिडम्बना हो ।

ब्रेक फेल गाडी भन्ने थाहा हुँदाहुँदै चलाउँदा त सिधै खाल्टोमा पर्छ भन्ने थाहा होला नि ?
त्यहि भएर त भन्दै छु, फिल्म क्षेत्र भनेको एउटा नाम पनि रहेछ । मेरो कारणले धेरै निर्देशकको उद्धार भएको छ । नत्र ति फिल्म हल नदेखेरै कुहिने थिए । म कसैले गरेर यहाँ आइपुगेको मानिस हैन । ३ हजारको जागिर खाएर बसेको केटो आज यहाँ छु । यो न मेरो बाउले गरेको काम हो, न मेरो छोरोले गर्छ । परिवारलाई केहि गर्नु छैन त किन यहि क्षेत्रमा आएका मानिसलाई सहयोग नगर्ने भन्ने पनि हो । अन्य मानिसलाई मैले सकेको सहयोग गर्छु । यहि कारण नै मलाई चिन्छन् मानिसहरुले ।

अर्को प्रसंग जोडें । अहिले कतिओटा हल सक्रिय छन् नेपालमा ?
एक सय बढी हलहरु छ । सबै सक्रिय नहोलान् तर मौसमी चल्ने हल समेत जोड्दा एक सय बढी हुन्छ । फ्लप फिल्म लाग्दा त २५ देखि ३० ओटा मात्रै हो हल नेपालमा । तर हिट फिल्म लाग्दा भने एक सय भन्दा धेरै हलहरुमा चल्छ ।

बितरकलाई एउटा आरोप छ, लगानी नगरी नाफा कमाउँछ भन्ने । यसमा के भन्नुहुन्छ ?
हो पनि । तर निर्माताले पैसा नपुगेको समयमा हामीबाट लिएपछि मात्रै कमिसन दिन्छ । पहिले त हल मिलाएको समेत कमिसन खाने चलन थियो । तर म आएपछि त्यो ब्रेक गरें ।

यसको हिसाव किताब बुझाउँछु हैन छ । यदि फिल्मले १ करोड कमायो भने त्यसको १५ प्रतिशत हामी राख्छौं । अब रह्यो ८५ लाख । यसमा हलको सर्भिस चार्ज यता उता काट्दा ५ लाख हलले लिन्छ । बाँकी रह्यो ८० लाख । ५० लाख एडभान्स काट्ने हो भने त्यसबाट आएको तिस लाख बितरकको कमाइ हुन्छ । यदि फिल्म फ्लप भयो भने एडभान्स सहित खर्च जोडेर निर्माताले बितरकलाई दिनुपर्छ । तर नेपालमा त्यसरी फिर्ता दिने चलन छैन । त्यसैले बितरक डुब्छ । बाइ रुल निर्माता डुबेपनि एडभान्स फिर्ता दिनुपर्ने हो तर यहाँ दिँदैनन् । यदि दिने हो भने चाहिं समस्यामा पर्ने निर्माता नै हो । दुर्घटनामा परेपछि मर्ने चालक नै हो पहिले अनि मात्रै सहचालकलाई समस्या पर्ने हो । तर यहाँ त म मात्रै किन मर्ने भनेर सँगै तान्ने चलन छ ।

बितरक र चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको सेल्स रिपोर्ट किन फरक हुन्छ ?
मेरोमा हुँदैन । नेपालमा बक्स अफिस छैन । म चलचित्र बिकास बोर्डको हिसाव हेर्दिन । हलमा भ्याट बिल तिरेको पैसा मात्रै मेरो हिसावमा आउँछ । आजको मितीसम्म मैले बोर्डले निकालेको हिसाव हेरेको छैन । आएको पैसाबाटै मैले निर्मातालाई दिने हो । मैले दिएको हिसावमा मैले नलिइ चोरेको भए थाहा छैन तर लिएको पैसामा पाँच रुपैयाँ फरक परे म पाँच लाख तिर्न तयार छु । हलवालाले दिएको हिसाव मैले देखाउने हो । हलवाला पनि पहिलेको जस्तो छैन । सिस्टममा छ । पहिले हुन्थ्यो होला अचेल हुँदैन ।

चल्ने फिल्म केहि समयमै ओटीटीमा आए हलमा दर्शक जाँदैनन् भनेर बितरकहरुले यसलाई निरुत्साहित गर्नुहुन्छ रे हो ?         

हैन । फिल्म उद्योगको बिकास हुनु भएको हाम्रो पनि बिकास हुनु हो नि । म त अझै हलमा र ओटीटीमा एकै दिन प्रर्दशनमा आउनुपर्छ भन्छु । किनभने हाम्रो देशमा त शहरमा बाहेक अन्त हलै छैन । गाउँ गाउँका मानिसको हात हातमा सिनेमा पुर्याउन सके त हाम्रो पनि प्रगती हो नि । उद्योग बढे न हामी पनि बाँच्न सक्छौं । यहाँ समस्या त हाम्रा निर्माताहरुमा छ । भाडाको खेतमा घर बनाएजस्तो गरेर पनि कतै हुन्छ त ? ३० लाख खर्चेर गितको सुटिङ गर्छन् अनि १५ लाखमा सर्वस्व अधिकार युट्युवलाई सुम्पिन्छन् । उनिहरुको हातमा आफुले तयार पारेको क्रियसनकै अधिकार हुँदैन । भाडाको खेत जोत्न बन्द गर्दा उनिहरुलाई नि फाइदा होला जस्तो लाग्छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology