काठमाडौं । निलहिरा समाजले विभिन्न संघसंस्थासँग सहकार्य गरेर बनाएको श्रृंङ्खला हो दुरबीन । ब्लु डायमण्ड सोसाइटी नेपालको, युट्युव च्यानलमा प्रसारण गरिएका सबै भागका कथाहरुले दर्शकलाई बाँधेर राख्न सफल छ । झण्डै २ घण्टामा सबै भाग हेरेर पनि सकिन्छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा केहि जिज्ञासा मेटाउन चाहनुहुन्छ भने, युट्युवमा निशुल्क हेर्न पाइन्छ तर १६ बर्ष माथिका दर्शकले मात्रै । १६ बर्षभन्दा मुनिका बालबालिकालाई भने यो श्रृंखला हेर्न स्वीकृति दिइएको छैन ।
सुरुमा छोटकरीमा सबै भागहरुको कथा भन्न चाहन्छु ।
पहिलो भागमा समलिंगी महिला अर्थात लेस्वियनले पुरुषसँग बिबाह बन्धनमा बाँधिनुपर्दाको पिडा देखाइएको छ । बर्तमानलाई रंगिन अर्थात कलरफुल र बितेको समयलाई स्यामस्वेत अर्थात ब्ल्याक एण्ड ह्वाइटमा देखाइएको छ । कसरी एक लेस्वियन महिला पुरुषसँग बिबाह गर्न बाध्य हुन्छिन्, कसरी हरेक रात बलात्कृत हुन्छिन् र घरेलु हिंसा बेहोर्छिन् भन्ने बिषय यस भागमा समेटिएको छ ।
दोस्रो भागमा दुई समलिंगी पुरुषहरुको प्रेम देखाइएको छ । होटलमा काम लगाउने हाकिम अर्थात बोस र काम गर्ने कर्मचारी बीचको प्रेम यो भागमा देख्न सकिन्छ । यो भाग अहिलेका युवापुस्ताले हेर्ने बीएल अर्थात ब्वाइज लभ जस्तै फेन्सी छ । पृष्ठभुमिमा रेड, ह्वाइट एण्ड रोयल ब्लु किताव देखाएर झनै तिनै कथाहरुबाट प्रभावित भएजस्तो देखाइएको छ ।
तेस्रो भागमा तेस्रोलिंगी महिला अर्थात ट्रान्सजेन्डर ओमन डान्सरको कथा भनिएको छ । काठमाडौंकी एक तेस्रोलिंगी महिला विविध करणले गर्दा तराइमा पुग्छिन्, त्यहाँ नाच्न जाने क्रममा बलात्कृत हुन्छिन् ।
त्यस्तै, चौंथो एपिसोडमा दुइलिंगी अर्थात बाइसेक्सुअल पुरुषको कथा भनिएको छ । बिबाहित पुरुष, श्रीमतीको साथीसँग आकर्षित हुँदा निम्तिएका परिघटनाहरु यस भागमा देख्न सकिन्छ ।
पाँचौं एपिशोडमा अन्तलिंगी अर्थात इन्टरसेक्सको कथा भनिएको छ, जसमा गाउँमा जन्मिएको एक बच्चालाई लिंग अभिभावकले अपरेशन गरेर छोरी बनाइदिन्छन् तर पछि उ छोरा हुन्छ ।
र छैंटौं एपिसोडमा तेस्रो लिंगी महिलाको आँखाबाट नेपाली मिडियालाई जोड्दै सबै एपिसोडका हरेक पात्रहरुलाई न्यारेट गर्ने काम गरेको छ । जसमा यस समुदायलाई काम गर्ने ठाउँमा गर्ने ब्यवहारदेखि घरपरिवारसम्म जोडिएको छ ।
सबैभन्दा पहिले त, अल्पसंख्यक समुदायको बारेमा अधिकांश कलाकार यसै समुदायको राखेर यत्तिको श्रृंखला बनाउनु हिम्मतको काम हो । जसका लागि निलहिरा समाज र यसका निर्देशक दिनुप मगर धन्यवादको पात्र बनेका छन् ।
तर दुरबीन श्रृंखलाका सबै भागहरु हेरिरहँदा केहि कुराहरुको भने अभाव खट्किन्छ ।
सबैभन्दा धेरै खट्केको पाटो हो इमोशन । घटनाहरुले बास्तबिक पृष्ठभुमि देखाउन नसकेकाले पनि हुनसक्छ, सबै भागहरुमा दर्शक र पात्रबीच भावनात्मक सम्बन्ध स्थापित हुन सकेको छैन ।
पहिलो भागमा एक समलिंगी महिला बलात्कृत हुन्छिन्, उनको बच्चा गर्भवाटै तुहिन्छ । दुबै घटना हृदयबिदारक हुन् तर दर्शकलाई त्यस्तै अनुभूति हुँदैन । उनको श्रीमानले यो बच्चा कस्को भन्दै गरेको घरेलु हिंसासँग त झनै कथाको पृष्ठभुमि नै मिल्दैन ।
दोस्रो भागमा पनि यस्तै महशुष हुन्छ । काम गर्ने केटोले एक्कासी आएर उसको लैंगिक पहिचान अर्थात जेन्डर आइडेन्टिटी खुलासा गरिरहेको हुन्छ । जसले गर्दा दर्शकलाई किरिकिरी लाग्छ ।
तेस्रो भागमा तेस्रोलिंगी महिला नाच्नकै लागि तराइ पुगेको हो के हो स्पष्ट छैन । उनको पारिवारीक पृष्ठभुमि के हो थाहा नहुँदा दर्शक अन्योलमा पर्छन् र भावनात्मक रुपमा जोडिन सक्दैनन् ।
चौंथो भागमा पनि उस्तै समस्या छ । रक्सी खाएको समयमा श्रीमतीको केटा साथीलाई चुम्बन गर्न खोजेको देखाइएको छ । त्यहि मुद्दा उठाएर श्रीमतीले छाडेर हिडेको छ । जसले बाइसेक्सुअल भनेको एकै समयमा केटा र केटी दुबैसँग शारिरीक सम्बन्ध राख्न सक्छन् भन्ने भाष्य समेत बन्न पुग्छ ।
पाँचौं भागमा पनि उहि भावनात्मक कनेक्सन छैन ।
जे होस्, पहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा खासै फिल्म या सिरिजहरु प्राथमिकतामा पर्दैनथे । अहिले यो बिषयलाई कलाकारहरुले ध्यान दिन थालेका छन् । यो नै सबैभन्दा सकारात्मक पाटो हो ।