नाटक समीक्षा

सरकारले सुकुम्बासी बनाएका भूपू सेनाकाे संघर्ष ‘झोडा’

सरकारले सुकुम्बासी बनाएका भूपू सेनाकाे संघर्ष ‘झोडा’

  • कुराकानी

  • मङ्लबार, फाल्गुन २२, २०८०

  • 183
    SHARES
सरकारले सुकुम्बासी बनाएका भूपू सेनाकाे संघर्ष ‘झोडा’
सामाजिक सञ्जालबाट

काठमाडाैं । कथा सुरु हुन्छ, हिमालबाट । तुम्बाको मिठो आतिथ्यतासँगै आफ्नाबाट छुटिएर एक परिवार तराई झर्छ ।

सानो छोरा, श्रीमती र भूपु सैनिक श्रीमान । देउरालीमा फूल चढाएर सन्तानको भविष्यको मिठो सपना साँचेर तराई झरेको त्यो परिवारको संघर्ष नै झोडा हो । झोडामा समेटिएको यो कथा काल्पनिक हैन, वास्तविकता हो ।

वि.सं. २००७ सालमा क्रान्तिले निरंकुश जहानीया राणा शासनको अन्त्य गर्यो । प्रजातन्त्र स्थापनापछि देशमा आम निर्वाचन हुन दशकौं कुर्नुपर्यो । वि.सं. २०१५ फागुन ७ गते बहुमतको सरकार गठन भयो तर राजनैतिक स्थिरता रहेन ।

पञ्चायती शासन व्यवस्थान लागु हुनुका साथै २००७ सालको क्रान्तिमा होमिएका भूपू सैनिकहरु प्नि तितरवितर भए । पछि वि.सं. २०२१ सालमा भूमि ऐन लागू भएसँगै किपट पनि खारेज भयो ।

किपट भनेको सुदुर पूर्वमा लिम्बुहरुको राजनैतिक स्वामत्विको भूमि अधिकार हो । पञ्चायती शासन व्यवस्थाको बिरोधी भूपू सैनिकलाई आफ्नो पक्षमा राख्न दरवारले दिएको थियो उक्त किपट । तर भूमि एन लागू भएसँगै उक्त किपट खारेज भयो ।

आफ्नो पुख्र्यौली थातथलो छाडेर सन्तानको भविष्यका लागि तराई झरेका भूपू सैनिकहरुले झार फाँडेर तयार पारेका त्यति झोडामा भएका उथलपुथललाई रोमाञ्चक तरिकाले नाटकमा प्रस्तुत गरिएको छ ।

इलामस्थित चुलाचुली नाट्य समूहले काठमाडौँसम्म नाटक ल्याएर मञ्चन गरेको हाे । गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ उपन्यासमा आधारित रहेर नाटक ‘झोडा’ तयार गरिएको छ ।

नाटकमा विशेषतः झोडामा जग्गा आबाद, त्यसको स्वामित्व र अधिकार प्राप्तिका लागि सुदूर पूर्वका आदिवासीहरूले पञ्चायत कालमा भूमिसुधार ऐन लागु भएपछि गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ ।

पूर्वी मधेसमा बसोबास गर्ने प्रमुख आदिवासी धिमाल र कुमाल जातिले जङ्गललाई प्रचलनको भाषामा ‘झार’ भन्ने गरिन्छ । धिमाल भाषामा दुईखोला बीच फैलिएको जङ्गलको भूभागलाई ‘झोरा’ भनिन्छ । त्यहीँ ‘झोरा’ अपभ्रंश भई ‘झोडा’ भएको कथन छ ।

सुखको आसले मधेश झरेका किराँतीहरू उल्टै भूमिहीन र सुकुम्वासी बन्न पुगे । तिनै पूर्वी पहाडियाहरू मधेशमा झरेपछि उनीहरूले खेपेको दुःखको वृत्तान्त नै नाटक ‘झोडा’ हो ।

किराँतीहरू आफ्नो थातथलो छोडेर मीठो सपना बोकेर मधेश झरेका थिए । आफ्नो जाएजेथा र लालाबाला बोकेर मधेश झरेका किराँतीहरूले झोडामा नयाँ वासस्थान बसाउने सपना बोकेर जङ्गल आबादी गरे ।

त्यसैमा आफ्नो टाउको लुकाउने ठाउँ बनाएका उनीहरूमाथि तत्कालीन शासन व्यवस्थाले झुटो आश्वासन दिए । त्यहाँ पनि उनीहरूलाई भूमिको स्वामित्व दिइएन । भूमिकै लागि किराँतीहरू पक्राउ परे, यातना सहे र भूमिहीन बने । परिवारहरू तितरबितर बने । यस्तो अवस्थामा पनि उनीहरूमाथि तत्कालीन राज्यले दया देखाएन ।

यी सबै नाटकका दृश्यहरूमा हेर्दै गर्दा पूर्वी पहाडका आदिवासी समुदायमाथि राज्यले गरेको व्यवहार क्रूर लाग्छ । नाटकमा पूर्वी किराँती समुदायको लवज र आवरणले उतैको संस्कृतिको झलक दिन्छ । धिमाल जातिको संस्कृति देखाउने सङ्गीत र नृत्यले पूर्वी मधेश झोडाको झल्को दिन्छ ।

नाटकको शुरुवातको विषय नै भूमिसुधार ऐन लागुले खारेज गरेको ‘किपट’ प्रणालीपछि मधेश छिरेको किराँतीहरूको लहर देखिन्छ । खासमा भूमिसुधार ऐनले खारेज गरेको ‘किपट’ बारे दर्शक अनविज्ञ हुन्छन् ।

हिजोदेखि आजसम्म आदिवासी जनजाति तथा सीमान्तकृत समुदायले आफ्नो भूमि र स्वामित्व कसरी गुमाइरहेका छन् र राज्यबाट कसरी उनीहरूको अधिकार चीरहरण भइरहेको छ भन्ने यथार्थलाई नाटकले चित्रण गरेको छ । भूमिपुत्र रहेर पनि राज्यकै कारण भूमिहीन बनिरहेका आदिवासीहरूको कथा केवल नाटक मात्र नभएर दस्ताबेज पनि हो ।

रङ्गकर्मी चेतन आङथुपोले आफ्नै समुदायको एउटा इतिहासलाई नाटकका रूपमा परिकल्पना तथा निर्देशन गरेका छन् । सुमन लिङ्देनले नाटकका रूपमा ढालेका छन् ।

यी दुवैले लिम्बुवानको भूमि इतिहास, त्यसैमा चलेको राजनीतिक चलखेल र समुदायको सङ्घर्षलाई रङ्गमञ्चमा ल्याउने प्रयास नै प्रशंसनीय छ । जसले यो समयको पुस्तालाई इतिहासको झलक दिने काम गरेको छ ।

नाटकमा प्रयोग भएका सङ्गीतका ध्वनिहरू र लवजमा किराँती सौन्दर्यलाई सुगन्ध दिएको छ ।

फागुन २२ गतेसम्म मञ्चन हुने नाटकमा मनकुमार योङ्गहाङ, रमिला राई, उदय वेघा, बोन्पो सन्तोष, मनिष मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, बाल कलाकार प्रिन्स तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology