फिल्म समीक्षा

जात्रा र जात्रै जात्रा भर्सेस महाजात्रा

जात्रा र जात्रै जात्रा भर्सेस महाजात्रा

जब फिल्मको हिरो र भिलेन अर्थात एन्टागोनिष्ट र प्रोटागोनिष्ट नै कमजोर छन्, अरु पात्रहरु जतिनै सशक्त भएपनि फिल्मलाई न्याय दिएको महसुस गर्न सकिँदैन ।

  • कुराकानी

  • मङ्लबार, चैत्र १३, २०८०

  • 907
    SHARES
जात्रा र जात्रै जात्रा भर्सेस महाजात्रा

काठमाडाैं । खेल पैसाको हो । पैसाले निम्त्याएको ‘जात्रा’, ‘जात्रै जात्रा’ र अझै अहिले ‘महाजात्रा’को । ‘जात्रा’ र ‘जात्रै जात्रा’मा जस्तै फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयस (रविन्द्र सिंह बानियाँ), र मुन्ना (रविन्द्र झा) ले ‘महाजात्रा’ मच्चाएका छन् ।

‘जात्रै जात्रा’मा सुन पचाएपछि फडिन्द्रको परिवारमा नैतिकता थपिएकी छिन् । साथमा नैतिकता र इमानका मामा जुपिटर उनको परिवारको नयाँ सदस्य बनेर आएका छन् । घर र धनसम्पतिको फुर्ति लगाउने ससुरा पनि लुत्रुक्क परेर कान्छी छोरी ज्वाइँको साँघुरो कोठामा थन्किन पुगेका छन् ।

जोयसको परिवार थिएन ‘जात्रा’ र ‘जात्रै जात्रा’मा । तर अहिले परिवारमा आमा थपिएकी छिन् । बाबुको भने ‘जात्रै जात्रा’मा नै निधन भइसकेको छ । ‘जात्रा’मा एक अपरिचित परिवारको उपचारमा लागेको जोयसको तीन ओटै फिल्ममा दोहोरिएको कुरा भनेकै उसको फिल्म प्रतिको मोह हो ।

मुन्नाको परिवारमा उसका दुई छोरालाई फुटेज खर्च गरिएको छैन । छुच्ची सासु र श्रीमतीलाई भने कहिँ कतै देख्न सकिन्छ ।

यो बाहेक यी तीनजनाको जीवनमा केहि नौलो छैन । तर जीवनमा थपिएका बाह्य पात्रहरुले भने अवश्य उनिहरुको जीवनमा नौलोपन ल्याएको छ । के कस्ता उथलपुथल ल्याएको होला त नयाँ थपिएका पात्रहरुले ? थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ । अहिले देश तथा विदेशका हलहरुमा फिल्म चलिरहेको छ है त ।

सवल पक्ष
सुरुमा फिल्मका सवल पक्षबारे कुरा गरौं । पुराना दुई सिक्वेलको स्वादलाई महाजात्रामा पनि निरन्तरता दिन सक्नु फिल्मको सबैभन्दा बलियो पक्ष हो ।

त्यस्तै फिल्ममा बाल मनोबिज्ञानको प्रयोग गरिएको छ । बच्चाको आँखामा आफ्नो बाबुलाई हेर्ने नजर र त्यसैअनुसार प्रयोग गरिएका प्रप्सहरु गज्जव लाग्छन् ।

एक दृष्य छ, जसमा नैतिकता र उनको साथीले सुपरम्यानका लागि झगडा गरिरहेका हुन्छन् । पछि अर्को दृष्य छ, जसमा दुबै सुपरम्यान लडिरहेका हुन्छन् । बालमनोबिज्ञान र सुपरम्यानको प्रयोग निकै सुन्दर लाग्छन् । यस्ता दृष्यहरु फिल्ममा प्रसस्तै देख्न सकिन्छ ।

निर्देशकले शब्दमार्फत पनि कथा भनेका छन् । ट्रकको पछाडी उनले फिल्मको कथालाई अगाडी बढाउने साहित्यहरु राखेका छन् । दृष्य भद्दा नहुने गरेर प्रयोग गरिएका ति पंक्तिहरुले दर्शकको ध्यान तान्न सफल भएको छ, साथमा कथा अगाडी बढाउन पनि ।

फिल्मले हँसाउने चक्करमा कुनैपनि सम्प्रदाय, धर्म लगायलाई आँच आउने काम गरेको छैन । यो बिषयमा एकदमै सजग देखिन्छन् फिल्म निर्माण टोलीहरु यो फिल्मको अर्को सवल पक्ष हो ।

फिल्ममा कलाकारहरुको अभिनय मौलिक छ । तीन पात्रहरुको अभिनयमा पुरानै स्वाद छ, भलै उनिहरुको परिस्थिती फरक होस् ।
सम्पदा अर्थात सम्पु बनेकी बर्षा राउतको अभिनय पनि पहिलेका श्रृंखलामा जस्तै छ । उनले निर्वाह गरेको ‘सामाजिक यथार्थवादी पात्र’ लाई न्याय मिलेको छ ।

इमानको भुमिकामा रहेका बाल कलाकार अर्विन खड्काको अभिनय निकै सुन्दर छ । ‘जात्रा’ देखि ‘जात्रै जात्रा’ हुँदै अहिले ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा पनि निखार आएको छ ।

दोस्रो श्रृंखलाबाट दोहारिएका अर्का पात्र राजाराम पौडेलले दुई फिल्मलाई जोड्न मद्दत गरेका छन् । उनको अभिनय पात्रअनुसार सुहाउँदो छ ।

नयाँ पात्रहरुमा सुमन कार्कीले निर्वाह गरेको भुमिकाले अघिल्ला दुई फिल्मलाई जोड्न मद्दत गरेको छ । उनको भुमिकाले फिल्मभित्र चलिरहेको नाटकलाई पत्यारिलो बनाइदिएको छ ।

शिशिर वाङ्देलले निर्वाह गरेको पात्र पनि सशक्त र उनलाई सुहाउँदो छ । अन्य कलाकारहरु दिव्य देव, गौमाया गुरुङ लगायत बाल कलाकारहरुको अभिनयले कथा अगाडी बढाउन मद्दत गरेको छ ।

‘महाजात्रा’बाट प्रवेश गरेका हरिवंश आचर्यको पात्र पुण्यप्रसादको अभिनय मध्यम छ । उनको पात्र लेखनमा समस्या छ, त्यसबारे हामी तल चर्चा गर्नेछौं ।

फिल्मले भुँइ मान्छेको कथा भनेको छ । भव्य सेट, हिमालका सुन्दर सिनेम्याटिक भ्यु नराखेर पनि सरल र सुन्दर कथा भन्न सकिन्छ भन्ने यो फिल्मले पुष्टि गरेको छ ।

दुर्बल पक्ष
नेपाली फिल्म उद्योगमा एउटा समस्या छ । त्यो हो फिल्म घोषणा हुन पाएको छैन प्रर्दशन मिति तय गरेर छायाँकनमा जाने परिपाटी । त्यो हतारो यो फिल्ममा पनि देखिन्छ । किनभने यसको पटकथा लेखनमा खासै समय र दिमागको प्रयोग गरिएको जस्तो लाग्दैन, या त कथा बनिसकेपछि कुनै दवावमा पात्रहरु थप गरिएका पनि हुनसक्छन् । फिल्म हेर्दा त्यस्तै महसुस हुन्छ ।

फिल्मको हिरो दुई बाल कलाकारहरु हुन्, इमान र नैतिकता । तर उनिहरुलाई जसरी फिल्मले देखाएको छ, त्यसमा दर्शक सहमत हुन गाह्रो पर्छ ।

इमानको युट्युवमा झुकाव देखाइन्छ, तर त्यो दृष्य फिल्ममा स्थापित हुन सकेको छैन । जसका कारण फिल्मको मुख्य पात्र नै अपत्यारिलो बन्न पुगेको छ ।

त्यस्तै, अर्की पात्र नैतिकतालाई पनि फिल्ममा स्थापित गराइएको छैन, उनि पनि फिल्मको हिरो हुन् । नैतिकताकै कुराले पात्रहरुमा व्यापक परिवर्तन आएको छ तर पात्र स्थापित हुन नसक्दा फिल्म विस्वासिलो बन्नबाट चुकेको छ ।

यसरी हेर्ने हो भने फिल्मले मिहेनत गर्ने ठाउँ थुप्रै छाडेको छ । फिल्मको सवल पक्षहरु नै दुर्वल तरिकाले दृष्यमा प्रस्तुत हुँदा समस्या सिर्जना भएका छन् ।

केहि पात्र छायाँकनमा गएपछि थपेजस्तो महसुस हुनुको कारण हो, ती पात्रहरुको महत्वपूर्ण भुमिका तर फितलो तर्क । यसका उदाहरण हुन्, पुण्यप्रसाद, उनका सालो र छोरा । यी पात्रहरुको न चरित्रचित्रण नै बलियो बनाइएको छ, न त उनिहरुको जीवनमा घटेका घटना परिघटनामा नै दर्शक विश्वस्त बन्न सक्छन् । फिल्मको उँधोगति सुरु भएकै पुण्यप्रसादको इन्ट्रीपछि हो । रमाइलो फिल्ममा भिलेन र राजनिती छिरेपछि दर्शकलाई हाइ आउन थाल्छ ।

फिल्मको अर्को कमजोरी हो, मधेशको पात्र । ‘जात्रा’ र ‘महाजात्रा’मा जति स्पेश मधेशको पात्र मुन्नालाई दिइएको छ, ‘महाजात्रा’मा पुरै इग्नोर गरिएको छ । उनको भुमिकालाई सशक्त बनाउन सकिएको छैन । मुन्नाको पनि छोराहरु थिए । बाल मनोबिज्ञान र नजरबाट कथा भनिसकेपछि मधेशमा जन्मिएका दुई बालकलाई पनि फिल्ममा स्पेश दिन सकिएको भए कसैलाई काखा र कसैलाई पाखा गरिएको भान हुँदैनथ्यो ।

जब फिल्मको हिरो र भिलेन अर्थात एन्टागोनिष्ट र प्रोटागोनिष्ट नै कमजोर छन्, अरु पात्रहरु जतिनै सशक्त भएपनि फिल्मलाई न्याय दिएको महसुस गर्न सकिँदैन ।

निर्देशक प्रदिप भट्टराइको ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘महाजात्रा’लाई तुलना गर्ने हो भने ‘जात्रा’ अब्बल मान्न सकिन्छ । ६ बर्षअघि बनेको ‘जात्रा’ काे अघि अहिले बनेको ‘महाजात्रा’ निकै कमजोर लाग्छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology