ट्रेलर समीक्षा

अब अनमोलले दर्शकसँग माफी माग्न नपरोस्

अब अनमोलले दर्शकसँग माफी माग्न नपरोस्

उनले आफ्नो अभिनयको साख कसरी जोगाउलान् भनेर सबैले हेरिरहेका बेला, अनमोलले यो पटक आफुलाई प्रमाणित गर्नैपर्ने चुनौती समेत थपिएको छ ।

  • कुराकानी

  • मङ्लबार, बैशाख ११, २०८१

  • 444
    SHARES
अब अनमोलले दर्शकसँग माफी माग्न नपरोस्

कुराकानी । २०७९ सालको अन्त्य र २०८० साल नायक अनमोल के.सी.का लागि खासै सुखद बन्न सकेन । फिल्मी करियरको सुरुवातका केहि फिल्ममा सफलता चाखेका अनमोलले यस अवधिमा गतिलो पाठ सिके । यस समयमा उनले पहिलोपटक नेपाली दर्शकलाई सुपर फ्लप फिल्म छड्के २.० दिए । त्यसको केहि समयपछि फेरि उनी आपराधिक विश्वासघातको अभियोगमा केहि दिन हिरासत बसे ।

नयाँ बर्ष २०८१ सालको सुरुवातसँगै उनी नयाँ फिल्म ‘फर्कि फर्कि’ लिएर अभिनयमा फर्किएका छन् । सार्वजनिक ट्रेलरले फिल्मी क्षेत्रमा चासो राख्ने मानिस र अनमोलका फ्यानहरुको ध्यान तान्न सफल भएको छ । कस्तो छ त, ‘फर्कि फर्कि’को ट्रेलर, आउनुस् समीक्षा सुरु गरौं 🙂

नेपाली फिल्ममा पनि टाइम ट्राभलको कथा
सार्वजनिक ट्रेलर हेर्दा, कुनै गल्ती गर्ने बित्तिकै वर्तमान समयबाट पुरानो समयमा यात्रा गर्ने विषयमा आधारित फिल्म हो कि जस्तो देखिन्छ । अझ भनौं जहाँबाट कुरा बिग्रन्छ, त्यहिँबाट सबैकुरा रिस्टार्ट हुन्छ । उदाहरणका लागि कुनै कम्प्युटरको हार्डवयरमा समस्या आयो भने, सफ्टवेरले सुरुदेखि काम गर्न थाल्छ न कि, बिग्रिएको ठाउँबाट 😋

साइन्स फिक्सन (साइफाइ) र आधुनिक प्रविधिको प्रयोग गरेर बनेका फिल्मका साथै टाइम ट्राभलका विषय नेपालमा अहिलेसम्म खासै प्राथमिकतामा नपरेका कथा हुन् । प्रविधि, दक्ष जनशक्ति, लगानी आदिको अभावमा नेपालमा यस्ता फिल्म बन्न नसकेको चलचित्रकर्मीहरुको बिश्लेषण छ ।

यस्तो अवस्थामा नेपाली फिल्म ‘फर्कि फर्कि’ले टाइम ट्राभलको बिषयमा फिल्म बनाउने कोसिस गरेको छ, यसलाई फिल्मीबृत्तले सकारात्मक रुपमा लिएको छ । फिल्म निर्माणकर्ताले भने यसलाई टाइम ट्राभल नभनी टाइम लुप पनि भनेका छन् । ट्राभल हाे या लुप त्याे पनि फिल्म प्रर्दशन पश्चात नै थाहा हाेला ।

हलिउड र बलिउडमा महंगा प्रविधिको प्रयोग गरेर टाइम ट्राभलका बिषयमा फिल्महरु बनिसकेका छन् । अहिले फस्टाइरहेका कोरियन, चाइनिज लगायतका ड्रामाहरुमा पनि यो बिषयका कथा प्रशस्त मात्रामा देख्न सकिन्छ ।

ट्रेलर हेर्दा, विदेशी टाइम ट्राभल बिधाका फिल्म हेरिसकेका दर्शकका लागि कथा खासै नौलो लाग्दैन, तर यसको प्रस्तुतीकरण कस्तो छ, मौलिकतामा कत्तिको ध्यान दिइएको छ, दृश्यमा कथा कसरी भनिएको छ र कलाकारले कत्तिको न्याय दिएका छन् भन्ने कुराले महत्व राख्दछ ।

यसको द्धन्द सिर्जना कसरी गरिएको छ, नेपालीपन मिलाउन के कस्ता कारक दिइएको छ ती बिषय फिल्म सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।

भिएफएक्समा चिप्लने हो कि !
फिल्म सार्वजनिक भएको छैन, तर ट्रेलर हेर्दा अहिलेदेखि नै ढुकढुक बनाउने पक्ष भनेको भिएफएक्स रहेको छ । ट्रेलरमा एक दृश्य छ, जहाँ आफुलाई भगवान बनाउँदै पात्र उडिरहेको हट एयर बेलुनबाट हाम फालेको देखाइन्छ । हाम फाल्दाको दृश्यमा भिएफएक्स खासै चित्तबुझ्दो छैन । गुरुत्वआकर्षको नियम पढ्नेहरुलाई यो दृश्य चित्त बुझ्दैन । खैर, अब फिल्ममा निर्देशकलाई सिने लिवर्टी दिनुपर्छ भन्छन्, हेरौं भगवान उड्न सक्ने पनि हुनसक्छ । 😉 हाम्रो कामना भनेको क्यापटेनमा जस्तो क्रोमा र भिएफएक्स नेपाली फिल्ममा फेरि पनि फर्कि फर्कि नआओस् भन्ने नै हो ।

ट्रेलर कटाई अझै आकर्षक बनाउन सकिन्थ्यो
सार्वजनिक ट्रेलरले दर्शकको ध्यान त तानेको छ तर यसलाई अझै आकर्षक बनाउन भने चुकेको देखिन्छ । सबैभन्दा ठुलो चुक भनेको निर्माण पक्षले फिल्मको सस्पेन्स नै रिभिल गरिदिएको छ । हुन त टाइम ट्राभललाई प्रचारको फण्डा बनाउन निर्माण टिमले यसलाई सतहमा ल्यायो होला तर यसलाई सस्पेन्स नै राखेर ट्रेलर काटिएको भए फिल्म प्रर्दशनमा आएपछि दर्शक खुसी हुनेथिए ।

अनमोलले धानेको बिडो
ट्रेलरमा नायक अनमोल के.सी.लाई धेरै फुटेज दिइएको छ । हुन त यसलाई ट्रेलर १ भनिएको छ, अर्को ट्रेलर पनि आउने सम्भावना छ । अहिले सार्वजनिक भएको ट्रेलरमा भने अनमोल के.सी.लाई राम्रै स्थान दिइएको छ ।

उनको अभिनय र चरित्र निर्माणमा गरिएको मेहनत देखिएको छ ट्रेलरमा । मुख खोल्यो कि, ‘गइल भैंस पानीमे’ भन्ने भनाइबाट यसपटक बच्ला कि, किनभने सार्वजनिक ट्रेलरमा डबिङमा गरेको परिश्रम देखिन्छ ।

त्यसो त, अनमोलको काँधमा यो पटक जसरी हुन्छ, फ्यानको मन जित्नैपर्ने बाध्यता पनि छ । किनभने उनले छड्के २.० फ्लप भएपछि सामाजिक सञ्जालमा माफी माग्दै अबदेखि बल्ल फिल्मको यात्रा सुरु भएको बताएका थिए ।

जति मेहनत गर्नुपर्ने हो, त्यहि नसकेको र फ्यानलाई दुखी नबनाउने भन्दै फिल्म छाडेकाले नै आपराधिक बिश्वासघातमा परेको रे भन्ने हल्ला पनि बजारमा ब्यापक छ ।  उनले आफ्नो अभिनयको साख कसरी जोगाउलान् भनेर सबैले हेरिरहेका बेला, अनमोलले यो पटक आफुलाई प्रमाणित गर्नैपर्ने चुनौती समेत थपिएको छ ।

फिल्मकाे सबै टिमलाई शुभकामना । थप शुभकामना अनमाेललाई  🥰

हेर्नुस् फर्कि फर्किकाे ट्रेलर


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology