फिल्म समीक्षा

खै, कस्तो कस्तो शाम्बाला !

खै, कस्तो कस्तो शाम्बाला !

बच्चा कसको हो त्यो प्रश्न होइन, बच्चा आफैमा महत्वपुर्ण हो भन्ने भावकाे फिल्म लेख्ने लेखककाे दोगलापन यहाँ प्रष्टिन्छ ।

  • कुमार विनोद पौड्याल

  • आइतवार, भदौ ३०, २०८१

  • 1.0K
    SHARES
खै, कस्तो कस्तो शाम्बाला !

कुराकानी । हलमा लागिरहेको फिल्म शाम्बालाले यतिबेला मानिसहरुको ध्यान खिचिरहेको छ । चर्चाका बिषयहरु बनेका छन्, नेपालको तर्फबाट ओस्कर नोमिनेसनमा परेको, ८ बर्ष लगाएर खिचिएको र १५ करोड लगानी ।

त्यसो त, शाम्बाला भन्दा पहिले यसको नाम थियो चिसो बर्ष । कलाकार, पर्दा पछाडी रहेर काम गर्नेहरु, लेखक र निर्देशक सबैको कडा मेहनतले तयार भएको फिल्मले यतिबेला मिश्रित प्रतिक्रिया पाईरहेको छ ।
केही दर्शकले यसलाई कला र आध्यात्मको मिलनका रुपमा हेरिरहेका छन् त कतिले फिल्म मान्नै इन्कार गरेर डकुमेन्ट्रीको संज्ञा दिइरहेका छन् ।

सकारात्मक पक्ष
फिल्म शाम्बालाले तीन दाजुभाइसँग विवाह गरेकी पेमा (थिन्ले ल्हामो) को पेटमा हुर्किरहेको बच्चाको बाउ खोज्ने अनिश्चित यात्रालाई देखाइएको छ । फिल्म पढ्ने र यसमा चासो राख्ने दर्शकका लागि फिल्म शाम्बाला छुटाउनै नमिल्ने खालको बनेको छ ।

यसको सबैभन्दा सकारात्मक पक्ष भनेको कथा भन्ने तरिका हो । प्रायः नेपाली फिल्म चुक्ने गरेको तर शाम्बालाले प्रष्टसँग देखाएको एक पक्ष हो– फिल्मसँगै यात्रा गराउने पात्र । यो फिल्म पेमाको दृष्टिकोण हो । २ घण्टा ३० मिनेटको सम्पुर्ण कथा पेमाको नजरबाट देखाइएको छ ।

दर्शकको मनमा कौतुहलता त हुन्छ, टासी कता के गर्दै होला, कर्म गुम्बामा कसरी दिन बिताइरहेको हुँदो हो, या त्यो चञ्चले फुच्चे दावा, पेमा हिडेपछि कसरी घर व्यवहार चलाइरहेको होला । तर यी कौतुहतामै सीमित रहन्छ, किनभने यो पेमाको नजरबाट भनेको कथा हो । यसलाई सजिलो तरिकाले भन्दा पेमाको नजरले नदेखेका कुरा दर्शकले पनि देख्दैनन् ।

पेमा फिल्मको प्रमुख र कथा भन्ने पात्र भएपनि उनी ग्रे छिन् । आफुलाई बहादुर ठान्छिन् तर अरुको कुरा सुनेर घर नफर्कने लोग्नेको खोजी गर्न छाड्दिनन् । दुःख यतिबेला लाग्छ, जतिबेला लोग्नेको खोजमा उनले आफ्नो प्यारो नाम्खा (घोडा) लाई समेत गुमाउँछिन् । नाम्खा र पेमाको सम्बन्धले कथालाई अगाडी बढाइरहन्छ ।

फिल्मको संवादहरु शक्तिशाली छ । हरेक संवादले जीवन दर्शनका बारेमा सोच्न बाध्य पार्छ । उदाहरणका लागि फिल्ममा कर्म र पेमाबीच एक संवाद छ । जसले एक्लोपनाको बारेमा गहिरो संवाद गरेको छ ।
कर्मले आफु बच्चा हुँदा रिम्पोछे मरे हुन्थ्यो भन्ने कामना गरेको थियो । तर अहिले उ रिम्पोछे आफु नभएको समयमा मर्ने हो कि भनेर डराउने भएको छ ।

यसले मानिसहरुमा भएको एक्लोपनलाई दर्शाएको छ । अर्थात भोली कर्म पनि रिम्पोछे जस्तै एक्लो हुनेछ भन्ने डर उसको मनमा आजैदेखि छ । फिल्ममा यस्ता जीवन र बिज्ञान बुझाउने संवाद धेरै छन् ।

फिल्ममा कलाकारहरुको अभिनय गज्जवको छ । राम सर बनेका कर्मा शाक्यले सकिनसकी बोलेका तिब्बतीयन भाषा प्राकृतिक लाग्छन् । टासीको भुमिका निर्वाह गरेका तेन्जिन दोला, कर्मको भुमिका निर्वाह गरेका सोनम तोप्देन र दावाको भुमिका निर्वाह गरेका बाल कलाकार कर्मा गुरुङ सबैको अभिनय मौलिक लाग्छ । मुख्य भुमिका निर्वाह गरेकी कलाकार थिन्ले ल्हामोको अभिनयले नै सम्पुर्ण फिल्ममा उत्सुकता थपिरहन्छ । उनको निर्दोष आँखा फिल्मको सबैभन्दा शसक्त पाटो हो ।

फिल्मको सिनेमेट्रोग्राफी सुन्दर छ । कलाकारले लगाएका पहिरन, त्यहाँको संस्कार र संस्कृति अर्को चासो लाग्ने बिषय हुन् । महिलाले साँचो बोलेको या झुट भन्ने बिषयमा बाण हान्ने चलन र बहुपति प्रथा दुबै उपल्लो हिमाली भेग बाहेककालाई नयाँ र रोचक लाग्ने बिषय हो ।

नकारात्मक पक्ष
नेपालमा चलिआएका भन्दा बिलकुलै फरक बिधामा यो फिल्म बन्नु बलियो पक्ष भएतापनि केहि विषयमा चुक्दा फिल्म खल्लो बन्न पुगेको छ । चाहिने भन्दा बढी स्लो र लामो भएकाले फिल्मले बेलाबखत उकुसमुकुस बनाउँछ ।
फिल्ममा उठान गरिएका कथामा समेत समस्या देखियो ।

बहुपति प्रथाको कथा उठान गरिसकेपछि फेरि बच्चा कसको हो भन्ने विषयमा सम्पुर्ण फिल्म केन्द्रित हुँदा कताकता तालमेल नमिलेको भान भयो ।

बच्चा कसको हो, सिर्फ आमालाई थाहा हुने बिषय हो । यस्तो अवस्थामा बहुपति प्रथा भएको समुदायबाट आएको पात्रले बच्चा अर्केको हो भन्दैमा बच्चाको आमालाई नसोधी घर छाडेर हिडेको देखाउनुले फिल्मको कथानकलाई कमजोर बनाएको छ ।

फिल्ममा पितृसत्तात्मक सोच देखाइएको छ । उदाहरणका लागि पेमाले टासी खोज्न जान्छु भन्दा आमाले जान नदिनु तर सानै भएपनि दावाको साथमा जान्छु भन्दा केहि नभन्नु । त्यस्तै, सानै भएपनि दावाले श्रीमान बनेको अहम पनि फिल्मको एक दृश्यमा देखाइएको छ ।

तर यसअघि को–हस्ब्याण्ड भन्ने डकुमेन्ट्रि हेर्दा त्यहाँ हरेक अधिकार महिलाको हातमा भएको र पुरुष पिडित बनेको देखाइएको थियो । हाम्रै एक माननियले पनि आफु कान्छो श्रीमान भएको र श्रीमतीले दाइलाई माया गर्ने भएकाले पिडित बनेको त्यहि डकुमेन्ट्रिमा बताएका थिए ।

यहि फिल्ममा पनि कर्म गुम्बा जाँदा रातो खाममा राखेर पैसा दिने पेमा थिइन् । आर्थिक अधिकार र घरको सम्पुर्ण कारोबार हेर्ने भएकाले महिला शक्तिशाली हुने विभिन्न लेखहरुमा पनि पढ्न पाइन्छ । तर फिल्ममा भने मुख्य कलाकार भएपनि, रिम्पोछे जस्ता शक्तिशाली मानवलाई जन्म दिनसक्ने भएपनि लेखक नारीबादी बन्न खोज्दा कतै वास्तविक कथाबाट चाहिने भन्दा धेरै सिने लिवर्टी खोज्न पुगे कि भन्ने पनि देखिन्छ ।

अर्को कमजोरी भने लेखकको सोचमा देखिन्छ । त्यो हो बहुपति प्रथाको कथा भन्दा पेमा र टासीको मात्रै सम्बन्ध देखाउनु ।

बेश्यालयमा बेचिएकी हिरोइनलाई कुमारी देखाएको फिल्म कोहिनुरको उदाहरण यहाँ पनि मेल खान जान्छ । फिल्मकी मुख्य पात्र पेमा कसरी तीनजना दाजुभाइसँग सुत्न सक्छे ? सायद यहि सोचाइ थियो निर्देशकको । बच्चा कसको हो त्यो प्रश्न होइन, बच्चा आफैमा महत्वपुर्ण हो भन्ने कथा भन्ने निर्देशकको दोगलापन यहाँ प्रष्टिन्छ ।

जे होस्, पेटमा हुर्किरहेको बच्चाको बाउ को हो भन्ने प्रश्न भन्दापनि पेटमा भएको बच्चा आफैमा महत्वपुर्ण हो भन्ने सत्यलाई कलात्मक चेतका साथ दृश्यभाषामा देखाउन सक्नु यसको सबैभन्दा सकारात्मक र सफल प्रयास हो । फिल्म सबै दर्शकका लागि मनोरन्जक नबनेपनि यसले नौलो स्वाद भने चखाएको छ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology