नाटकको उथलपुथल

उकुसमुकुसको कथा ‘ब्युँझिएको सिरानी’

उकुसमुकुसको कथा ‘ब्युँझिएको सिरानी’

आफुले आफुलाई माया गरौं अनि, आफुलाई माया गर्ने साथीभाईलाई सोध्न नभुलौं, तिमीलाई कस्तो छ भनेर है त ।

  • पुष्पा थपलिया

  • मङ्लबार, मंसिर २६, २०८०

  • 870
    SHARES
उकुसमुकुसको कथा ‘ब्युँझिएको सिरानी’

काठमाडाैं । आकाश झरेर थिचेजस्तो, धर्ति फाटिएर जमिन मुनि भासिन लागेजस्तो । आउँदा आउँदैको बाटो पहिरोले बगाइलग्यो, अगाडीको बाटोमा बाँदर लड्ने भिर छ, माथीबाट सिंगो पहाड आफुतिर  दौडिरहेको छ । सास फेर्न गाह्रो भएजस्तो, उकुसमुकुस । खै कस्तो कस्तो ।

यो मेरो अनुभूति हो,  अनि म जस्तै लाखौं युवाको पनि । खै कस्तो बन्दी बनिएछ, अगाडी कतै धिपधिपे आशा छ, त्यसैको पिलपिले उज्यालो पछ्याउँदै जाँदा अगाडीको बाटो बन्द हुन्छ, गएको बाटो पनि फर्कन मिल्दैन ।

मानसिक समस्या हामी सबैमा धेरै थोरै हुन्छ, छ । किनभने हामी आफुलाई माया गर्दैनौं । यदि आफुलाई माया गथ्यौं, समय दिन्थ्यौं त यस्ता समस्याहरु आफै हटेर जाने थिए, अनि बल्ल जिन्दगी सुन्दर लाग्न थाल्ने थियो । तर यी सब थाहा हुँदाहुँदै पनि हामी आफुलाई माया गर्दैनौं ।

अपहेलित जिन्दगीमा साथ दिन आइपुगेका यिनै ऐठन, छटपटाहट र उथलपुथलको वरपर घुमेको नाटक हो ‘ब्युँझिएको सिरानी’ अर्थात ‘अवेकन पिलो’ । नाटकले मेरो कथा भन्छ, तपाईको कथा भन्छ अनि हामी सबैको कथा भन्छ ।

नाटकको नाम नै विम्बात्मक छ । लाग्न सक्छ नि, कतै सिरानी पनि ब्यँझिन्छ होला त ? तर जब तपाईले टाउको अडाउने सिरानी रातभर सुत्न सक्दैन नि, तब थाहा पाउनुहुनेछ,  ब्युँझिएको सिरानीको पिडा । ननिदाई भएको छैन,  अँध्यारो रातमा बोटबिरुवादेखि हरेक आकृति हिड्न थाल्छ अनि आँखा झनै तिखा बन्छन् तब महशुष हुन्छ, ब्युँझिएको सिरानीको पिडा ।

जे होस्,  आउनुस् एक्कैछिन नाटक ब्युँझिएको सिरानीको विम्बात्मक पक्षबारे चर्चा गरौं ।

पहिले मञ्चको परिकल्पना बारे कुरा गरौं । पृष्ठभुमिमा छ, आधा सिलाम साक्मा । सि अर्थात मृत्यु, लाम् अर्थात बाटो, साक्मा अर्थात छेक्नु । लिम्बु संस्कृतिमा मृत्युको बाटो छेक्ने सिलाम साक्मा मञ्चको पृष्ठभुमीमा आधा हुनु र आधा मुख्य पात्र सोनामको श्रीमती मेग्माको हातमा हुनुले विम्बात्मक रुपमा सम्पुर्ण कथा भनेको छ । किनभने यो बाँच्न पनि नसकेको, मर्न पनि नसकेको बीचको जिन्दंगीको कथा हो ।

त्यस्तै, विम्बात्मक रुपमा कथा भन्छ धागोले । जब मेग्माले धागो चुडाल्छिन्, कथाको द्वन्द सुरु हुन्छ । अनि त्यहि चुँडिएको धागोसँगै नाटकको उतारचढाव सुरु हुन्छ । पछि सोनमले चुँडिएको धागो बाँध्छ, त्यहाँ गाँठो बाँकी किन नहोस्, नाटकले उज्यालोको मोड लिन्छ ।

यसैगरी नाटकमा सुरुदेखि अन्त्यसम्म बक्सको प्रयोग गरिएको छ । भित्र खाली भएको बट्टाजस्तो बक्सको प्रयोग निकै सुन्दर छ । यसलाई सोनमको सेफ जोन, करियर जसरी पनि हेर्न सकिन्छ । सोनम पिडामा पुग्नुअघि यहि बक्सबाट खुट्टा तान्ने र हुत्याउनेहरु अगाडी बढेको देखाइन्छ र कसैको साथ नपाउँदा लुक्ने बस्तु पनि ।

त्यस्तै, कन्टेम्पोररी डान्सले भनेको कथा उस्तै सुन्दर छ । पात्रमा आएको छटपटी, उकुसमुकुसदेखि खुशीसम्मका कथा कन्टेम्पोररी डान्सबाट देखाइएको छ।

संगितले दर्शकलाई पात्रको मनस्थिती र स्थान बुझाउन मद्दत गरेको छ । प्रकाश संयोजन यो नाटकको अर्को सशक्त पाटो हुन् । कथा डार्क अनि ग्रे कलरमा घुमिरहन्छ, स्यानविच जस्तै । डार्क कलरबाट ग्रे अनि फेरि डार्क अनि फेरि ग्रे । तर अन्त्यमा भने आशा, उत्साह र सम्भावनाका रंगहरु देख्न सकिन्छ ।

अभिनयले दर्शकलाई मञ्चसम्मै डोहोर्याउँछ । नाटकको मुख्य पात्र सोनमको हाउभाउ, भावभंगी र आवरणले हामीलाई मानसिक सन्तुलन गुमाएका हाम्रा आफन्तको सम्झना गराउँछ । आफ्ना आफन्तले मानसिक सन्तुलन गुमाएर गरेका रमाइला, नराइला हर्कतहरुले रुनु न हाँस्नु बनाएका क्षणहरु स्मरण गराउँछ । कथाको भाव र परिस्थिती अनुसार कलाकारको पहिरन डिजाइन गरिएको छ ।

नाटकमा दर्शकले अलिक धेरै हेर्न चाहेको एउटा बिषय, बालमनोबिज्ञान पनि थियो तर निर्देशक जेडी तमुले त्यता खासै समय खर्चिएका छैनन् । सोनामकी छोरी जो निजी बिद्यालयमा पढ्छिन्, उनमा आएको मानसिक बिचलन केहि हदसम्म देखाइएको छ । तर यसलाई बीचमै छाडेर कथा सोनमको मानसिक बिचलनमा केन्द्रित छ । कि छोरोकी पाटोलाई पुरै वेवास्था गर्न सकिन्थ्यो, कि बाल मनोबिज्ञानलाई अझै सशक्त रुपमा उठान गर्न सकिन्थ्यो । छोरीको मानसिक अवस्थाबारे छुस्स मात्रै छोएकाले यो कसको आँखाबाट भनिएको कथा हो भन्नेमा अलि दुविधा भने हुन्छ । यदि आमा, बाबु र छोरी तिनै जनाको नजरबाट कथा भनिएको थियो भने पुरै घर धानेकी मेग्माको मानसिक अवस्था पनि केहि हदसम्म देखाउन सकिन्थ्यो ।

नाटकमा मुख्य कलाकार सोनमको भुमिका निर्वाह गरेका रुपेश लामाले । त्यस्तै, श्रीमती मेग्माको भुमिका निर्वाह गरेकी छिन् वेदना राईले । छोरीको भुमिका निर्वाह गरेकी छिन् लुनिभा महर्जनले अनि निर्देशक छत्रमानको भुमिका निर्वाह गरेका सुरज तमुले । अन्य कलाकारहरु प्रतीना राई, मनि के राई, सुजन सेनेहाङ, सृष्टि मर्हजन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, रामचन्द्र पनेरु, ग्लोरी थापा, सृजना भट्टराइ लगायतले भने आवश्यकता अनुसार मुख्य पात्रलाई साथ दिएका छन् ।

अनिल सुब्बाको कला निर्देशन, गायिका झुमा लिम्बुको संगित संयोजन अनि प्रवृति राई, नविन बयल्कोटी र आयुष रजकको संगितले नाटक आकर्षक बनेको छ ।

अन्त्यमा, हामी दिनमा धेरै मानिससँग जम्काभेट गछौं । धेरैसँग सामाजिक सञ्जालमा गफिन्छौं । तर यो सोध्न भुल्छौं, तिमीलाई कस्तो छ, सञ्चै छौ रु बाहिर हाँसेको मानिस भित्रभित्रै अत्तालिरहेको हुन्छ । तपाईंको यहि सानो प्रश्नले मात्रै पनि अर्को ब्यक्तिले सहज महशुष गर्नसक्छ । आफुले आफुलाई माया गरौं अनि, आफुलाई माया गर्ने साथीभाईलाई सोध्न नभुलौं, तिमीलाई कस्तो छ भनेर है त । अनि नाटक हेर्न छिट्टै गइहाल्नुहोला, मंसिरको ३० गतेसम्म मात्रै मञ्चन हुन्छ है शिल्पी थियटर बत्तिस पुतलीमा ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology