कुराकानी । २०७९ सालको अन्त्य र २०८० साल नायक अनमोल के.सी.का लागि खासै सुखद बन्न सकेन । फिल्मी करियरको सुरुवातका केहि फिल्ममा सफलता चाखेका अनमोलले यस अवधिमा गतिलो पाठ सिके । यस समयमा उनले पहिलोपटक नेपाली दर्शकलाई सुपर फ्लप फिल्म छड्के २.० दिए । त्यसको केहि समयपछि फेरि उनी आपराधिक विश्वासघातको अभियोगमा केहि दिन हिरासत बसे ।
नयाँ बर्ष २०८१ सालको सुरुवातसँगै उनी नयाँ फिल्म ‘फर्कि फर्कि’ लिएर अभिनयमा फर्किएका छन् । सार्वजनिक ट्रेलरले फिल्मी क्षेत्रमा चासो राख्ने मानिस र अनमोलका फ्यानहरुको ध्यान तान्न सफल भएको छ । कस्तो छ त, ‘फर्कि फर्कि’को ट्रेलर, आउनुस् समीक्षा सुरु गरौं 🙂
नेपाली फिल्ममा पनि टाइम ट्राभलको कथा
सार्वजनिक ट्रेलर हेर्दा, कुनै गल्ती गर्ने बित्तिकै वर्तमान समयबाट पुरानो समयमा यात्रा गर्ने विषयमा आधारित फिल्म हो कि जस्तो देखिन्छ । अझ भनौं जहाँबाट कुरा बिग्रन्छ, त्यहिँबाट सबैकुरा रिस्टार्ट हुन्छ । उदाहरणका लागि कुनै कम्प्युटरको हार्डवयरमा समस्या आयो भने, सफ्टवेरले सुरुदेखि काम गर्न थाल्छ न कि, बिग्रिएको ठाउँबाट 😋
साइन्स फिक्सन (साइफाइ) र आधुनिक प्रविधिको प्रयोग गरेर बनेका फिल्मका साथै टाइम ट्राभलका विषय नेपालमा अहिलेसम्म खासै प्राथमिकतामा नपरेका कथा हुन् । प्रविधि, दक्ष जनशक्ति, लगानी आदिको अभावमा नेपालमा यस्ता फिल्म बन्न नसकेको चलचित्रकर्मीहरुको बिश्लेषण छ ।
यस्तो अवस्थामा नेपाली फिल्म ‘फर्कि फर्कि’ले टाइम ट्राभलको बिषयमा फिल्म बनाउने कोसिस गरेको छ, यसलाई फिल्मीबृत्तले सकारात्मक रुपमा लिएको छ । फिल्म निर्माणकर्ताले भने यसलाई टाइम ट्राभल नभनी टाइम लुप पनि भनेका छन् । ट्राभल हाे या लुप त्याे पनि फिल्म प्रर्दशन पश्चात नै थाहा हाेला ।
हलिउड र बलिउडमा महंगा प्रविधिको प्रयोग गरेर टाइम ट्राभलका बिषयमा फिल्महरु बनिसकेका छन् । अहिले फस्टाइरहेका कोरियन, चाइनिज लगायतका ड्रामाहरुमा पनि यो बिषयका कथा प्रशस्त मात्रामा देख्न सकिन्छ ।
ट्रेलर हेर्दा, विदेशी टाइम ट्राभल बिधाका फिल्म हेरिसकेका दर्शकका लागि कथा खासै नौलो लाग्दैन, तर यसको प्रस्तुतीकरण कस्तो छ, मौलिकतामा कत्तिको ध्यान दिइएको छ, दृश्यमा कथा कसरी भनिएको छ र कलाकारले कत्तिको न्याय दिएका छन् भन्ने कुराले महत्व राख्दछ ।
यसको द्धन्द सिर्जना कसरी गरिएको छ, नेपालीपन मिलाउन के कस्ता कारक दिइएको छ ती बिषय फिल्म सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।
भिएफएक्समा चिप्लने हो कि !
फिल्म सार्वजनिक भएको छैन, तर ट्रेलर हेर्दा अहिलेदेखि नै ढुकढुक बनाउने पक्ष भनेको भिएफएक्स रहेको छ । ट्रेलरमा एक दृश्य छ, जहाँ आफुलाई भगवान बनाउँदै पात्र उडिरहेको हट एयर बेलुनबाट हाम फालेको देखाइन्छ । हाम फाल्दाको दृश्यमा भिएफएक्स खासै चित्तबुझ्दो छैन । गुरुत्वआकर्षको नियम पढ्नेहरुलाई यो दृश्य चित्त बुझ्दैन । खैर, अब फिल्ममा निर्देशकलाई सिने लिवर्टी दिनुपर्छ भन्छन्, हेरौं भगवान उड्न सक्ने पनि हुनसक्छ । 😉 हाम्रो कामना भनेको क्यापटेनमा जस्तो क्रोमा र भिएफएक्स नेपाली फिल्ममा फेरि पनि फर्कि फर्कि नआओस् भन्ने नै हो ।
ट्रेलर कटाई अझै आकर्षक बनाउन सकिन्थ्यो
सार्वजनिक ट्रेलरले दर्शकको ध्यान त तानेको छ तर यसलाई अझै आकर्षक बनाउन भने चुकेको देखिन्छ । सबैभन्दा ठुलो चुक भनेको निर्माण पक्षले फिल्मको सस्पेन्स नै रिभिल गरिदिएको छ । हुन त टाइम ट्राभललाई प्रचारको फण्डा बनाउन निर्माण टिमले यसलाई सतहमा ल्यायो होला तर यसलाई सस्पेन्स नै राखेर ट्रेलर काटिएको भए फिल्म प्रर्दशनमा आएपछि दर्शक खुसी हुनेथिए ।
अनमोलले धानेको बिडो
ट्रेलरमा नायक अनमोल के.सी.लाई धेरै फुटेज दिइएको छ । हुन त यसलाई ट्रेलर १ भनिएको छ, अर्को ट्रेलर पनि आउने सम्भावना छ । अहिले सार्वजनिक भएको ट्रेलरमा भने अनमोल के.सी.लाई राम्रै स्थान दिइएको छ ।
उनको अभिनय र चरित्र निर्माणमा गरिएको मेहनत देखिएको छ ट्रेलरमा । मुख खोल्यो कि, ‘गइल भैंस पानीमे’ भन्ने भनाइबाट यसपटक बच्ला कि, किनभने सार्वजनिक ट्रेलरमा डबिङमा गरेको परिश्रम देखिन्छ ।
त्यसो त, अनमोलको काँधमा यो पटक जसरी हुन्छ, फ्यानको मन जित्नैपर्ने बाध्यता पनि छ । किनभने उनले छड्के २.० फ्लप भएपछि सामाजिक सञ्जालमा माफी माग्दै अबदेखि बल्ल फिल्मको यात्रा सुरु भएको बताएका थिए ।
जति मेहनत गर्नुपर्ने हो, त्यहि नसकेको र फ्यानलाई दुखी नबनाउने भन्दै फिल्म छाडेकाले नै आपराधिक बिश्वासघातमा परेको रे भन्ने हल्ला पनि बजारमा ब्यापक छ । उनले आफ्नो अभिनयको साख कसरी जोगाउलान् भनेर सबैले हेरिरहेका बेला, अनमोलले यो पटक आफुलाई प्रमाणित गर्नैपर्ने चुनौती समेत थपिएको छ ।
फिल्मकाे सबै टिमलाई शुभकामना । थप शुभकामना अनमाेललाई 🥰
हेर्नुस् फर्कि फर्किकाे ट्रेलर