
कुराकानी । नेपाली फिल्ममा चलेको प्रेमकथा भन्ने वित्तिकै आउने नाम हो, प्रेमपिण्ड । फिल्म बन्नुअघि नै पुस्तकको रुपमा लोकप्रिय नाटक “प्रेमपिण्ड” को कथामा बनेको यो फिल्मले तत्कालिन शक्तिशाली राणा शासक, सरकारी जागिरे नकुल र सामान्य नर्तकी सविनाबीचको त्रिकोणात्मक प्रेमकथालाई निकै रोचक र न्यायपूर्ण ढंगले फिल्ममा उतारेको छ । यो फिल्म वियोगान्त प्रेम कथामा आधारित छ ।
“प्रेमपिण्ड” पछि धेरैले सम्झने अर्को अर्गानिक र आइकोनिक प्रेम कथा भएको फिल्म हो, “मुनामदन” । यो पनि महाकवि लक्ष्मिप्रसाद देवकोटाद्वारा लिखित लोकप्रिय खण्डकाब्यबाट तयार पारिएको फिल्म हो । तर “मुनामदन” जति पुस्तकमा चर्चित भयो त्यति सिनेमाघरमा भने जम्न सकेन । त्यो भावलाई सिनेमाले उतार्न नसकेको समिक्षकहरुको तर्क छ । वियोगान्त प्रेमकथामा आधारित खण्डकाव्य भएकाले यसमा पनि अन्त्य वियोगान्त देखाइएको छ ।
त्यस्तै १० बर्षअघि प्रर्दशनमा आएको सिनेमा “प्रेम गीत” ले नयाँ पुस्ता माझ प्रेम चिनायो । युवा पुस्ताले अहिलेसम्म बनेको नेपालको आइकोनिक र अर्गानिक प्रेमकथा भएको फिल्ममा “प्रेम गीत” लाई लिने गर्दछन् । “प्रेम गीत” मा प्रेम र गीत पात्रको प्रेम यात्रालाई रोमान्चक ढंगले देखाइएको छ । यो फिल्म पनि वियोगान्त प्रेम कथामा आधारित छ ।
चर्चित भनिएका तिनओटै फिल्मको अन्त्य वियोगात्मक छ । के वियोगात्मक अन्त्यले नै प्रेम अमर र चाखलाग्दो बनाउने हो भन्ने प्रश्नमा निर्देशक तथा स्कृप्ट डाक्टर मनोज पण्डितले भन्छन्, प्रेमको मुख्य द्वन्द्व नै वियोग हो ।
उनका अनुसार वियोग विना प्रेम अधुरो हुन्छ । जसरी मिठो हुन नमिठोको अस्तित्व चाहिन्छ, राम्रो हुन नराम्रोको अस्तित्व चाहिन्छ त्यस्तै प्रेम हुन वियोग चाहिन्छ । त्यहि वियोग कन्भिन्सङ नहुने भएकाले नै अहिलेका प्रेमकथाहरुमा प्रेम अनूभूती गर्नेखालको नहुने हो ।
प्रेम ? यो त सब भन्ने कुरा न हो !
लामो समय फिल्म पत्रकारिता, समिक्षा गरेका सामिप्यराज तिमल्सिना अहिले फिल्म लेखनमा पनि सक्रिय छन् । उनले भने नेपाली साहित्य वलियो भए, त्यसको असर सिनेमामा पनि पर्ने बताए । त्यसैको असर स्वरुप उनको दिमागमा पनि अर्गानिक र आइकोनिक प्रेमकथामा आधारित फिल्म भन्ने वित्तिकै मुना मदन र प्रेमपिण्ड नै आउने रहेछ ।
उनले भने, विश्वभर पनि फिल्मको प्रेमकथा रोमियो र जुलियटको न्यारेटिभलाई लिएर बनेको पाईन्छ । नेपालमा पनि यि बाहेक सम्झन लायक खासै गतिलो प्रेमकथा लेखिनै सकेको छैन ।
अहिलेका युवा पुस्तामा हेर्ने हो भने प्रेमगीतले यसमा केहि काम गरेको उनले बताए । भने तर यस्ता प्रेमकथाले पनि कुनै एक समाज, एक भुगोल, एक बर्गलाई मात्रै समेट्न सकेको छ । सबैलाई समेट्ने प्रेमकथा बन्नै सकेको छैन ।
उनले अगाडी भने, अहिले प्रेमकथा कस्मेटिक बनेको छ । म तिम्रो लागि ज्यान दिन्छु टाइपको संवादमा सिमित भएको छ, इमोशन नै छैन । संवादमा मात्रै सिमित भएकाले दर्शकलाई पनि प्रेमकथा भएको फिल्म भन्ने वित्तिकै भरोसा नै उठिसक्यो । उनिहरुले इन्जोय नै गर्न छाडिसके ।
तिमल्सिनाले भने, अहिले प्रेम भन्ने शब्द नै यो त सब भन्ने कुरा न हो भन्ने भएको छ ।
न्यारेटिभ नै कमजोर, त्यसैमाथी कपि गरिएका प्रेमकथाले गर्दा यो मुखले मात्रै भन्ने, भावनामा नहुने विद्या बन्न पुगेको छ अहिले ।
उनका अनुसार, विश्वमा सबैभन्दा धेरै सिनेमा बन्ने बिषय प्रेम र अपराध हो । नेपालमा अपराध विद्यामा खासै फिल्म बनेको पाईँदैन तर मिसिएर ९० प्रतिशत फिल्ममा प्रेम आउँछ । तर यसका क्यारेक्टर र सिक्वेन्स फितलो भएकाले फिल्ममा खासै अस्तित्व नराखेको पनि उनले स्वीकार गरे ।
एउटै मापदण्डमा सिमित रह्यो फिल्मको प्रेमकथा
अहिलेका चल्तिका स्कृप्ट राइटर महेश दवाडी अर्गानिक र आइकोनिक फिल्मको अभाव आफूलाई पनि भएको तर लेख्न नसकिएको बताउँछन् । उनले भने, प्रेमकथा त हरेक फिल्ममा मिसिएर आएको हुन्छ तर त्यसले नेपाली स्वाद पस्कन सकेको छैन ।
कोरियाबाट प्रभावित भएका प्रेमकथाहरु जसमा कपालदेखि लुगासम्म उस्तै देखिने केटा र केटीले उतैको शैलीमा प्रेम गरेका कथा देखाइएकाले पनि अर्गानिक र आइकोनिक प्रेमकथा महसुस गर्न नसकिएको हो कि जस्तो उनलाई लाग्छ । उनले भने, यदि हाम्रै वरपर देखिएका, भेटिएका प्रेमकथालाई उठाएर पर्दामा देखाइने हो भने त्यसमा आफूलाई राख्न सकिन्थ्यो कि ।
नेपालको अर्गानिक र आइकोनिक प्रेमकथा भन्ने वित्तिकै धेरै भएपनि दिमागमा झट्ट नआएको उनले सम्झिए । भने, मलाई भारतमा बनेको लञ्च बक्स जस्ता फिल्महरु मन पर्छ । जसमा सामान्य प्रेमकथा छ, जसको माध्यम लञ्चबक्स बन्न पुगेको छ । सामान्य कथामा बनेको भएपनि फिल्म कस्तो बलियो छ । यस्ता कथा त हामीसँग कति छन् कति तर अर्गानिक कथा मन पराइरहेको समयमा अर्गानिक प्रेमकथामा आधारित फिल्म भने पाउन सकेको छैन ।
यसमा उनि आफूलाई पनि केहि हदसम्म दोष दिन्छन् । उनले भने, के गर्नु निर्माता निर्देशक र कलाकार अनुसार स्कृप्ट लेख्नुपर्ने हुन्छ । म चाहेर पनि अर्गानिक प्रेमकथामा काम गर्न सकिरहेको छैन ।
यहि कुरामा सहमती जनाउँछिन्, स्कृप्ट राइटर सम्पदा मल्ल पनि । उनले भनिन्, धेरै नेपाली फिल्महरुले प्रेमको आयाम र गहिराइलाई अनौठो तरिकाले प्रस्तुत गरेको जस्तो मलाई लाग्दैन । अधिकांश रोमान्टिक फिल्महरुले परम्परागत प्रेम र रोमान्सलाई एउटै मापदण्डमा सिमित राखेका छन् ।
त्यसो त उनलाई केहि समयअघि बनेको फिल्म जारीलाई प्रेमको गहिराइमा पुगेको फिल्म मान्छिन् । प्रेमिहरुको पुर्नमिलन र तिनीहरुको पात्र बिकासलाई सुन्दर तरिकाले देखाएको उनको भनाई छ । त्यस्तै पानीफोटो र हालै प्रर्दशनमा आएको फिल्म शाम्भालामा पनि गहिरो तरिकाले प्रेम प्रस्तुत गरिएको उनलाई लाग्छ ।
ग्ल्यामरले छेकिएका पो हो कि !
पुस्तकबाट तयार पारिएको फिल्म “प्रेमपिण्ड” र एक “प्रेम गीत” बाहेक अहिलेसम्म खासै सम्झनैपर्ने प्रेमकथा भएको अर्गानिक र आइकोनिक नेपाली फिल्म नबनेको बताउँछन्, निर्माता, निर्देशक हुँदै अहिले कलाकार बनेका नरेश पौड्याल । उनले भने, ‘अहिलेको पुस्ताले बनाएको “प्रेमगीत” पनि राम्रो प्रेमकथा लागेको थियो तर त्यसपछि कहिले “प्रेमगीत २”, ३ त कहिले “म यस्तो गीत गाउँछु” भन्दै अनेकन् फिल्म तयार पारेपछि प्रेमगीत आकोनिक र अर्गानिक बन्न नसकेको उनको भनाई छ ।
उनले भने, ‘फिल्म चल्यो भनेर “प्रेमपिण्ड”को पनि थरीथरीका पार्ट बनेका भए त्यो पनि आइकोनिक हुने थिएन होला ।’
२०२२ सालदेखि नेपालमा नेपाली फिल्म बन्न थालेको स्मरण गर्दै पौड्यालले भने, ‘पहिले शहर र गाउँको प्रेम देखाइन्थ्यो, गरिव र धनिको प्रेम देखाइन्थ्यो । यी दुईको मिलनमा आउने संघर्ष देखाईन्थ्यो । अहिले त खै प्रेम पनि परिवर्तन भएको छ फिल्ममा ।’
प्रेम परिवर्तन भएपनि देखाउने तरिका भने उस्तै रहेको पौड्यालको भनाई छ । उनले भने, ‘पहिले प्रेम त्याग हो भन्ने सिद्धान्तबाट फिल्म बनेको पाइन्थ्यो भने अहिले ह्याप्पी इन्डिङ अर्थात प्राप्ती नै खुशी हो भन्ने तरिकाले प्रेम देखाइन्छ ।’
यहि कारण पनि प्रेमलाई देखाउने तरिका फिल्ममा अर्गानिक र आइकोनिक नभएको हो कि भन्ने उनलाई लाग्छ । उनले भने, ‘हुन त सम्पुर्ण फिल्ममा रोमान्स अटाएकै हुन्छ । एक्सन होस्, क्राइम होस्, चाहे हरर नै । तर यी बिद्यामै पनि प्रेम अटाउँछ र त्यो गज्जवको प्रेम कथामा आधारित फिल्म बन्न सक्छ भनेर अहिलेका पुस्तामा प्रष्टता नभएको हो कि भन्ने मलाई लाग्छ ।’
यहि कुरामा सहमती जनाउँछिन्, निर्देशक समुन्द्र भट्ट पनि । उनलाई, अहिलेका फिल्म लेखकले प्रेम र वासनाबीच भिन्नता छुट्याउन सकिरहेका छैनन् कि जस्तो लाग्छ । उनले पनि फिल्म “प्रेमपिण्ड” कै उदाहरण दिँदै भनिन्, ‘न कुनै नग्नता, न कुनै कामुकता न त अंग प्रर्दशन नै । मुटु गाँठो पारेर रुवाउने प्रेमकथा त्यहि फिल्ममा त छ ।’
पहिले नेपाली फिल्म बलिउड, कोरिया, रसिया, टर्की लगायतका प्रेमकथाबाट उठाइएका हुन्थे । तिनले जतिनै मन जितेपनि नेपाली फिल्म मान्न गाह्रो हुने बताउँदै उनले भनिन्, ‘अहिले त अवस्था झनै डरलाग्दो भएको छ ।’
नेपाली फिल्ममा परेको दक्षिण भारतिय प्रभावलाई उनि डरलाग्दो मान्छिन् । भनिन्, ‘हिरोइज्म देखाउन केटाले एक्कैचोटी हजार जना मारेको देखाउँछ । अनि केटी त्यसैमा लट्ट परेको देखाइन्छ । हिरोको प्रेमीका बन्न मात्रै त्यहाँ महिला अटाएका छन् र त्यसैको नक्कल नेपाली फिल्ममा पनि बढिरहेको छ । यसैलाई प्रेमकथा नाम दिइएको छ ।’
उनले अझै जोड दिएर भनिन्, ‘कविर सिंह र एनिमल जस्ता टक्सिक प्रेमकथा बोकेका फिल्मको अगाडी प्रेमपिण्ड नै नेपाली फिल्मको टक्कर हो । जहाँ एक शक्तिशाली राणाले रोक्ने कोसिस असफल भएपछि हार मानेको छ र केटीलाई उसको प्रेमीकोमा जान दिएको छ ।’
कथा टन्नै छ, उनले भनिन्, ‘सामाजिक सञ्जालबाट चर्चामा आएका विवेक पंगेनी र सिर्जनाको प्रेममै पनि फिल्म बनोस् कति सुन्दर हुन्छ होला । यहाँ सिर्जनाको भुमिकामा विवेक पनि हुन सक्लान्, त्यो लेखकले लेख्ने कुरा भयो ।’