
कुराकानी । दाफा संगीतको प्रयोग गरेर ‘हारती माँ: अ म्युजिकल जर्नी अफ करेज’ नामको दृष्यकथा निर्माण गरिएको छ ।
नेवारी भाषामा तयार पारिएको यस म्युजिकल डकुमेन्ट्रीले दाफा गीत र संगीतको प्रयोग गरेर बालबालिकाको देवीका रुपमा पुजिने माँ हारतिको कथा भनेको छ । यसको प्रिमियर सो अशोजको ९ गते विहिवार हुने भएको छ ।
परम्परागत रुपमा चलिआएको लोक कथालाई आधार मानेर करिव ४५ मिनेटको दृष्यकथा तयार पारिएको घिनताङ् दाफा समाजकी अध्यक्ष शारदा ढंगोलले जानकारी दिएकी छिन् ।
समाजको पहिलो प्रस्तुती स्वरुप यो दृष्यकथा तयार पारिएको उनको भनाई छ ।
दाफा नेवारी संस्कृतिमा लोप हुँदै गइरहेको भक्तिगान भएको भन्दै ढंगोलले यसलाई संरक्षण गर्न र नयाँ पुस्तालाई यसबारे जानकारी गराउन आफूहरुले दृष्यकथा तयार पारेको बताइन् ।
यस दृष्यकथाका पटकथाकार तथा निर्देशक दर्शन विर शाक्यले नयाँ पुस्ता र अन्य गैर-नेवारले समेत बुझ्ने गरेर दृष्यभाषामा कथा भन्ने प्रयास गरेको बताए ।
यसमा कलाकार मदनकृष्ण श्रेष्ठ, प्रेमा शाक्य, सुजन बज्राचार्य, सुजिना शाहि, रोजिना सुवाल, किशोर चिपलु, नविन थिच्व्मल, रविन्द्र तुलाधर, विपश्याना शाक्य, देस्ना शाक्य, बिन्सा महर्जन, सनज डंगोल, श्रीजना शाहि, प्रविना श्रेष्ठ, रिकेश शाहि, अञ्जली शाहि, अर्की शाहि, राजेश श्रेष्ठ, सिताराम माका, जिवन तिवारी, विक्रम खड्गी, रमन महर्जन, सुनेश श्रेष्ठ, उज्वल शाहि लगायत छन् ।
त्यस्तै दाफा गाउनेमा गायकहरु दीपेन्द्र बज्राचार्य, त्रि रत्न मानन्धर, रमेश डंगोल र विनय महर्जन रहेका छन् । त्यस्तै, गायिकाहरु पुष्पा पलाञ्चोके, बबिता बज्राचार्य, मिना प्रजापति र सिल्भिया प्रजापति रहेका छन् ।
बाजाहरुमा खिन बजाउने श्रद्दा डंगोल र रमेश डंगोल, पोङ्ग बजाउने राकेश महर्जन, बेस गीतार रिजु तुलाधर, आर्कष्टिक गीतार फिरोज बज्राचार्य, ता:, तिन्चु , बाबुचा बजाउनेमा श्री रत्न महर्जन रहेका छन् ।
पहिलो पटक रेकर्ड गरिएको यस दाफाको रेकर्डिष्ट विनय महर्जन र मिक्सिङ् र मास्टरिङ् फिरोज बज्राचर्यले गरेका हुन् ।
दाफा भनेको के हो
दाफा नेवा समुदायको भक्तिमूलक संगीत हो । यो संगीत शास्त्रीय राग र तालमा आधारित हुन्छ ।
प्राचीन संगीत परम्परामा दाफा खलः भनिने समूहले सामूहिक रूपमा प्रस्तुत गर्ने नेपालकै सबैभन्दा पुरानो जीवित भक्तिमूलक संगीतलाई जोगाउन यस दृष्यकथाले मद्दत गर्ने घिनताङ् दाफा समाजको बुझाई छ । यो प्रस्तुती सेभ दाफा अभियानकै एक हिस्सा भएको पनि अध्यक्ष शारदा डंगोलले बताईन् ।
दाफाको स्वरुप हजार भन्दा बढी हुन्छ । हरेक मेला, महोत्सव र पर्वहरुमा पहिले दाफा गाइने गरेको तर अहिले ति दाफाहरु पश्चिमा संस्कारको ओझेलमा परेको डंगोलको बुझाई छ ।