कुराकानी । एक पढेलेखेको बाहुन केटो जसको नाम हो, नारन पन्थी, उ आफन्तको साथमा लागेर लालीबजार पुग्छ, जहाँ देह व्यापार गरेर महिलाहरू जीविकोपार्जन गर्छन् ।
उ लजालु स्वभावको छ । लजाउँदा लजाउँदै साथमा गएको आफन्तले उसलाई एक अँध्यारो कोठामा धकेलिदिन्छ । उक्त कोठामा ज्वरोले थलिएर सुतेकी मधुबाला देख्छ र प्रेममा पर्छ ।
मधुबालालाई नै भेट्ने बहानामा उ करारमा हुलाकी बन्छ र साइकल टिरिङ टिरिङ् पार्दै उक्त वादी बस्ती गैरहन्छ । आफै मधुबालालाई चिठ्ठी लेखेर वाचन गरेर सुनाउँछ ।
उसैको अगाडि मधुबाला अन्य पुरुषसँग यौन शोषणमा पर्दा पनि उसको पुरुष मनोबिज्ञानलाई केहि फरक पर्दैन । किनकी उसको मन ठूलो छ । हृदय महान छ भनौं ।
यो हृदय महान भएको बाहुनको छोरो नारन पन्थीलाई देह व्यापार गर्ने मधुवालासँग घरबार गर्नुछ । उसलाई बादी महिलाहरु बस्ने लालीबजारका ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु ’ भन्ने ठाउँबाट निकालेर, आफ्नो ‘ओम जय जगदिस हरे भन्ने’ ठाउँमा लैजाने रहर छ । अनि यी दुईबाट जन्मेकी छोरी महारानीलाई पढाउनुछ । के उ सफल होला त ?
थाहा पाउन फिल्म हेर्नुहोला । नेपालभरका हलहरुमा यतिबेला फिल्म लालीबजार प्रदर्शन भइरहेको छ ।
ए अँ, अनि त्यो बाहुन केटो नारन पन्थीले ‘दलितको पनि दलित’ मानिएकी मधुवालाबाट जन्मेकी सन्तान महारानीलाई त्यो दलदलबाट निकाल्न गरेको संघर्ष तपाईलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला !
फिल्म हेरिसक्नुभएको दर्शकलाई मैले भनेको कथा त फिल्ममा छैन जस्तो लाग्यो होला ? किनभने त्यहाँ त आमा र छोरीको संघर्षको कथा पो भनिएको छ, कि कसो?
हो, यसलाई भनिन्छ, पोइन्ट अफ भ्यु अर्थात् दृष्टिकोण ! एकै विषयलाई पनि भिन्न भिन्न तरिकाले हेर्न सकिन्छ । ( हाँस्दै ) ए साँच्चै ! म पढाउन आएको हैन फिल्म समीक्षा गर्न पो आएको है ।
सुरुमा फिल्म लालीबजारको कथावस्तुको कुरा गरौं । आज भन्दा ३५-४० वर्ष अघि, चरम गरिबीका कारण देह व्यापार गर्न वाध्य, वादी समुदायको सेटमा भनिएको आमा र छोरीको कथा हो यो ।
यसको कथाबस्तु हृदय विदारक छ । पर्दामा हेर्दा त आँङ् जिरिङ् हुन्छ भने, भोग्नेलाई कस्तो भएको होला । हामीले कल्पना गर्न पनि गार्हो हुने विषयलाई, इन्ट्रेष्टिङ् तरिकाले पर्दामा उतारिएको छ ।
र अझै सताउने कुरा, कथामा देखिएको परिस्थितिलाई कुनै सेट र लैंगिकतामा मात्रै सिमित नराख्ने हो भने यस्ता घटना अहिले पनि घटिरहेका छन् । फरक यत्ति हो, अहिले यसको ट्रेन्डमा परिवर्तन आएको छ ।
फिल्मको स्कृष्ट राइटिङ् एकदमै फर्म्याटमा छ । क्यारेक्टर आर्क देखि यसका हरेक पाटाहरुलाई सन्तुलित बनाउने प्रयास गरिएको छ । पात्रहरूको उतारचढाव, आरोह अवरोहहरु मज्जासँग स्क्रिनमा देख्न सकिन्छ । यसका प्लट र सव प्लट सबैमा राम्रो मेहनत गरिएको छ । फिल्मलाई फिल्मी बनाउने चक्करमा केहि कुराको भने हदै नाघिएको छ । सामाजिक कथामा, फिल्म लिवर्टी लिँदा धेरै इमोसनल बनाउन यस्ता कुराहरु मेन्सन गर्नु तपाईलाई कस्तो लाग्छ ।
उदाहरणका लागि मधुवालाका भाई एक दृष्यमा भन्छ, भान्जीको जन्मदर्ता बनाउन बाउ नपाए मलाई देखा र भन् मैले जवर्जस्ति गरें ।
यतिबेला मधुवाला जत्तिकी राजासावले समेत मन पराउने महिला शक्तिशाली, कि कुकुरको जिन्दगी बिताइरहेको जड्याहा भाईको ? उसको पनि त इतिहास कालै छ । उ त झन् फिल्मकै संवाद अनुसार भन्ने हो भने, छोरा भएर जन्मिएकै कारण दुख मनाएको पात्र हो, हैन र ?
स्कृप्ट राइटिङकै कुरा गरिरहँदा, भाषा पनि एकरुपको बनाउन पाएको भए हुन्थ्यो । यसको मतलब सबै कलाकारको उस्तै बोली भनेको हैन । मुम्वाइवालीको बोलीमा हिन्दी टोन आउनु ठीक छ तर कहिले शुद्द नेपाली, कहिले पश्चिमी टोन नगर्न पाएको भए हुनेथियो । मधुवालाको टोनमा पनि यस्तै भाषागत समस्याहरु छन् ।
त्यस्तै, फिल्ममा कथाको माग, माओबादीको सशस्त्र द्वन्दलाई नकारात्मक तरिकाले देखाउने थिएन जस्तो लाग्छ । केहि खराव प्रवृतिका मानिस सबैतिर छन्, हुन्छन् । त्यसलाई जेनेरलाइज्ड गर्दा गलत भाष्य, गलत इतिहास लेखिन सक्छ, उदाहरणका लागि वादी समुदाय नै काफी छ । देह व्यापार वाध्यतामा परेर सबै जातीकाले गर्थे तर नाम लेखियो वादी महिलाको मात्र ।
त्यस्तै, फिल्म लालीबजारको शसक्त पाटो स्कृनप्ले पनि हो । यसले धेरै दृष्यलाई कलात्मक तरिकाले सिम्बोल मार्फत देखाउन खोजेको छ ।
मधुबाला जब राजासाबलाई छोरीको नथिया फिर्ता दिन जान्छिन् तर असफल हुन्छिन् नि, त्यो समयमा उनी हिलोले मेकअप सफा गर्छिन् । उनि त्यो हिलोबाट निस्कने कोसिस गर्छिन् तर खुट्टा झन् झन् गाडिन्छ । यी दृष्यहरु हेर्दा आँखा रसाउँछन्, मन नै अतालिन्छ ।
त्यहाँ देखाइएको बाटो अनि खोलाहरुले पनि उसैगरि कथा भन्छन् । एक दृष्य छ, नारन घर जाने दोबाटो भुलेर अगाडी बढ्छ तर अर्का हुलाकी साथीले बाटो देखाईदिन्छन् । मात्र यत्ति हो, त्यहाँ संवाद जरुरी थिएन, दृष्य नै काफी थियो । त्यस्तै बन्दुकलाई पनि सिम्वोलिक तरिकाले देखाइएको छ ।
चुनौतीपूर्ण विषयलाई यति कलात्मक र सुन्दर तरिकाले प्रस्तुत गर्न सफल भएकाले नै यो फिल्म हेर्नैपर्ने, छुटाउनै नमिल्ने बनेको हो ।
त्यस्तै फिल्मको शसक्त पक्ष संवाद लेखन पनि हो । यसले कम संवादमा पनि, गहिरो छाप छाड्न सफल भएको छ । ट्रेलरमा उल्लेख गरीएको एक संवाद छ नि, प्यासा समुद्रमा आउने हो, समुन्द्र नै आयो भने बगाउला ! यो फिल्म यहि संवादकै सारंस हो भन्दा केहि फरक पर्दैन । जव प्यासाले समुन्द्र आफूतिर लैजान खोज्छ, समुद्रको इन्कारलाई अटेरीपन ठान्छ अनि जवर्जस्ति गर्छ, तव यसले बगाउँछै बगाउँछ ।
अनि यो फिल्ममा जसरी फिल्मले बाल मनोविज्ञानलाई देखाएको त्यो पनि गज्जव लाग्छ । महारानीको मनोबिज्ञानसँगै फिल्ममा मधुवाला किन त्यस्ति छिन् भन्ने विषयलाई न्याय दिईएको छ ।
अब फिल्ममा अभिनयको पनि चर्चा गरौं । यसमा मधुवाला बनेकी स्वस्तिमा खड्काको अभिनयलाई भित्रैदेखि प्रसंसा गर्न मन लाग्छ । उनले मधुवालालाई एउटा जिवन दिएकी छन् । अपरिपक्व आमाबाट सुरु भएको उनको यात्रामा एक परिपक्व आमा बन्दासम्मका भोगाइलाई महशुस गर्न सकिन्छ । नेपालमा गर्व गर्न लायक कलाकार बनेकोमा स्वस्तिमालाई बधाई छ ।
अनि कम बोलेर पनि रिस पर्दा बाहिर ल्याउन सफल छन् राजासाव अर्थात रविन्द्र सिंह बानियाँ । फिल्म हेरिरहँदा लाग्छ, पशुपति प्रसादमा हनुमान बनेदेखिबाट आँखामा गाढिएका उनि सजिलै मनसपटलबाट निस्कने सुरमा छैनन् ।
लजालु तर पर्दामा आउँदा दर्शकको ध्यान तान्न सफल नारन पन्थी उर्फ बिसाल देवकोटाको अभिनयले मन छुन्छ । खास भन्ने हो भने, उनको अभिनयमा जादु छ । पहिलोपल्ट उनको अभिनय मैले कान्तिपुर थियटरमा मञ्चन भएको नाटक मिरामा हेरेको थिएँ । उनि त्यहाँ मिराका प्रेमी किष्ने बनेका थिए । हेर्नुस् त आज भन्दा झण्डै एक बर्ष अघिको पात्र समेत दिमागमा बसिरहेको छ । यहि नै उनको अभिनयको शक्ति हो ।
बाल कलाकार समायरा थापा अनि प्रशंसा सुवेदीको अभिनय पनि गज्जवकै छ । कलाकार मुकुन्द श्रेष्ठलाई पर्दामा देख्न पाउँदा नोस्टाल्जिक फिल भयो । फिल्ममा जति पनि कलाकारहरु अटाएका छन् सबैको अभिनय मौलिक छ । जीवन्त छ ।
फिल्ममा प्रयोग गरिएका क्राफ्ट अनि पहिरनले पुराना दिनहरुमा लैजान मद्दत पुर्याउँछ । गीतहरु सिचुयसनल छन् । रंग संयोजनमा भने अझै काम गर्न सकिने ठाउँहरु थिए तरपनि यसले केहि हदसम्म पुराना दिन सम्झाछ नै ।
फिल्ममा धेरै सकारात्मक पक्षहरु छन् । तर ढाँचा पुर्याएर लेखिएको पटकथामा यसको बिषयबस्तु नै किरकिर लाग्ने पक्ष हो ।
यसले ट्रमा पोर्नलाई बेचेको छ । जब कसैको मानसिक, शारीरिक वा भावनात्मक पीडालाई अत्यधिक नाटकीय, सनसनीपूर्ण वा दर्शकलाई झस्काउने तरिकाले प्रस्तुत गरिन्छ नि, त्यसलाई ट्रमा पोर्न भनिन्छ ।
त्यसो त बादी समुदायकै बास्तविक कथाको भिडियो, लोकप्रिय सञ्चारकर्मी विद्या चापागाईँले ‘हेर्ने कथा’ मार्फत युट्युवमा राखेकी छन् । यसलाई चाहिँ स्वीकार गर्ने अनि लालीबजारको कथाबस्तुलाई चाहिँ बिरोध गर्ने भन्ने बिचार पनि उत्पन्न हुनसक्छ ।
दु:ख देखाउनु र दु:ख बेच्नु बिलकुलै फरक बिषय हुन् । हामीले दु:ख देखाउनुपर्छ ताकी त्यसको समाधान निस्कियोस् तर दु:ख बेच्दा त्यसबाट आएको पैसाले यदि मानवजाति हो भने पोल्नुपर्छ ।
अहिले फिल्म हेर्ने केहि दर्शकले, बादी समुदायलाई सकारात्मक तरिकाले उनिहरुको वास्तविकता देखाएको तर फोकटमा अदालतसम्म धकेलेको भन्ने अभिव्यक्ति दिएर यो मुद्दालाई सामान्यिकरण गरेको देख्न सकिन्छ । यसमा देशका गन्य मान्य मानिसहरु समेत सामेल छन् ।
यो विलकुलै सामान्य कुरा हैन । यसमा सकारात्मक या नकारात्मक अन्त्य भन्दा पनि यसले दिने ट्रमा पोर्नको बिरोध भएको हो ।
किनभने, फिल्ममा पनि देखाएको छ नि, वादी भन्ने थाहा नपाउँदा जसरी मधुवालाले सम्मान पाईन् तर जुन दिन वादी हो भन्ने थाहा भयो उनको अपमान भयो । ट्रमा पोर्न देखाउन नहुनुको कारण पनि यहि हो ।
नेपालको जनगणना २०७८ अनुसार वादी समुदायको जनसंख्या, अनपेक्षित रुपमा घटेको छ । यसको कारणमा उनिहरु आफ्ना थर परिवर्तन गर्न चाहन्छन् । जसको सजिलो उपाय हो अन्तरजातिय विवाह । धेरै वादी महिलाले अन्तरजातिय विवाह गरेका छन् । ति महिलाका श्रीमानलाई त थाहा होला वादी जातिको ‘सो कल्ड’ इतिहास तर परिवारका सदस्यलाई थाहा थिएन भने उनिहरुबाट ति महिलाले फेरि पनि अपमान खेप्नुपर्ने परिस्थिति बन्न सक्छ ।
यसको आमाले, यसलाई देह ब्यापार गरेर हुर्काएको रे ! यसको त बाउ नै को हो, थाहा छैन रे ! कुल घरान नै छैन रे ! कमाइखाने भाँडो बनाएको भएर, छोरी लक्ष्मी हुन् भन्ने भाष्य, यिनैले नै बनाएका हुन् रे ! यसको त खानदान नै शरिर बेचेर आएका रे !
यि र यस्ता ‘रे’ हरुले, मधुवालाले हजारौं हण्डर ठक्कर खाएर पढाएकी महारानी छिन् नि, हो उनलाई कस्तो असर पर्ला ? फिल्मकी यहि महारानीले आज आएर मेरो बिगत नकोट्याईदेउ, पिडा हुन्छ भन्दा कला मार्फत अभिव्यक्त गर्न पाउने अधिकार कुण्ठित भएको भन्न मिल्छ कि मिल्दैन होला, प्रतिक्रिया दिनुहोला ।
समग्रमा भन्दा, यदि वादी समुदायको सेटलाई फालिदिने हो भने, यो फिल्म, इतिहास, बर्तमान र भविष्यको कहिल्यै पुरानो नहुने मास्टरपिस फिल्म बन्नेथियो ।
कुराकानीमा हामी कला क्षेत्रले हाम्रो जीवनलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा कसरी प्रभाव पारिरहेको छ, र जीवन जिउने कला जानिएन भने हामी मानसिक रुपमा कसरी थकित बन्छौं भन्ने विषयमा छलफल गर्छौं । हाम्रो कामहरु कस्तो लाग्दैछ हेरेर प्रतिक्रिया दिनुहोला । हामीलाई भेट्न चाहिँ सामाजिक सञ्जालहरुमा @kurakani360 र वेवसाइट kurakaanee.com भिजिट गर्नुहोला ।
पुष्पा थपलिया