फिल्म समीक्षा

सामान्य विषयमा बनेको सुन्दर फिल्म: मालती मंगले

सामान्य विषयमा बनेको सुन्दर फिल्म: मालती मंगले

कथानक राम्रो भएपनि पटकथामा भने मेहनत गर्ने ठाउँहरु बाँकी छन् । यसमा पनि काम गर्न पाएको भए फिल्म आँखा झिमिक्क पार्न मन नलाग्ने बन्ने थियो ।

  • पुष्पा थपलिया

  • आइतवार, बैशाख २७, २०८३

  • 16
    SHARES

कुराकानी । एउटा गाउँमा छन् मालती र मंगले । उनिहरुले भागेर विहे गर्छन् । मंगले हाम्रो समाजले देखाएको जस्तो पुरुष छैन । उ त श्रीमतीको पेटिकोटमा लुटपुटिने खालको छ । आमा पाल्न सक्दैन । उ आफै पनि श्रीमतीले पाल्नपर्ने अवस्थामा छ । तर मालती मंगलेलाई खुबै प्रेम गर्छिन् । उनि आफू दिनभर मेला गएर पैसा कमाउँछिन् र दुई छोरीलाई लाग्ने खर्चसँगै, घर धान्छिन् ।

मंगले छिमेकी देश भारतमा समेत पैसा कमाउन जान नसक्ने स्वभावको छ, तरपनि मालती केहि भन्दिनन् । जुवा खेल्छ, रक्सी खान्छ तर “कहिले औंशी कहिले पुर्णिमा, मेरी बुढी सँधै चन्द्रमा“ भनेकै भरमा मालती कम्मर मर्काउँदै नाच्छिन् ।

यति सुन्दर मालती र मंगलेको परिवारमा एक दिन नराम्रो घटना घट्छ । त्यसपछि कथाले कताको मोड लेला थाहा पाउन नजिकको सिनेमाघरमा गएर फिल्म हेर्न सक्नुहुन्छ । अनि कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।

मालती मंगले भन्ने वित्तिकै स्वर्गय राष्ट्रकवि माधव प्रसार घिमिरेले लेखेको गीति नाटक आउँछ । उक्त गिती नाटकमा शाहकालीन समयमा गोरखाको फुजेल गाउँको एक सत्य घटना उजागर गरिएको छ ।

मालती र मङ्गले एउटै मालिकको घरका कमारा-कमारी थिए । जवानीसँगै यी दुईको प्रेम बस्छ । तर यो मायामा तगारो बन्न आइपुग्छ मालिक । मालिकले मालतीप्रति कुदृष्टि राख्छ र एकदिन कमारोलाई बेचिदिन्छ । दुवैजना विलाप गर्छन् । र, कमारो अर्थात मङ्गले कमारी मालतीलाई एउटा फुल दिदै यो नवइलिएसम्म मंगले तिमीसँगै हुन्छ भनेर सम्झाउँछ ।

जसमा लेखिएको छ:

फूलबारीभित्र सारिद्यौ फूल, नाउँ पारी मङ्गले
मङ्गले फूल नवैलेसम्म, मर्दैन मङ्गले

बाटोमा गोरखाली रानीले कानको कर्णफूलले मंगलेलाई किन्छिन् र अर्को कानको कर्णफूल मालती किन्न दिन्छिन् । तर मंगले मालती लिन पुग्दा मालतीले देहत्याग गरिसकेकी हुन्छिन् । गीति नाटक दुःखान्त परिवेशमा अन्त्य हुन्छ ।

हो यहि गिती कथाका पात्रहरु मालती र मंगले अर्कै गाउँ, अर्कै परिवेश र अर्कै कथा लिएर फिल्म मार्फत आएका छन् ।
अब लागौं फिल्मको समिक्षातर्फ ।

यस फिल्मको कथाको लेयरहरु ठ्याक्कै माधव प्रसाद घिमिरेको मालली र मंगलेका जस्तै छन् । फरक यत्ति छ । यहाँ द्वन्द सिर्जना गर्न मालिक छैन, परिश्थिती छ ।

फिल्मको टाइमजोन २०४७/ ४८ सालतिरको छ । उ बेलाको जीवनशैलीलाई फिल्मले गज्जवसँग टिपेको छ । हामीलाई टाइम ट्राभल गरिरहेको अनुभव हुन्छ ।

कमला र मंगलेको भेट शिव श्रेष्ठ, कृष्टि मैनाली र भुवन केसीहरुको अभिनय रहेको फिल्म चिनोले गराइदिन्छ । कमला अर्थात मालती । उनि कसरी मालती भइन् यो थाहा पाउन पनि फिल्म नै हेर्नुहोला है ।

फिल्मले उक्त समयमा सरकारले चलाइरहेको परिवार नियोजनको स्थाई बन्ध्याकरण नशबन्दी र त्यसको अज्ञानताले ल्याएको मिसअन्डरस्ट्याण्डको कथा भनेको छ ।

फिल्मले उठाएको विषयबस्तु बबाल छ । नेपाली समाजको बिगतलाई चिह्याउँदा यी र यस्ता घटनाले धेरै सुन्दर परिवारमा झगडा निम्त्याएका इतिहास छन् । फिल्मले उठाएको कथानकले नेपाली समाज आज भन्दा ३५ बर्षअघि कस्तो थियो र यति छोटो अवधिमै हामी कहाँ पुगिसक्यौं भन्ने थाहा पाउन मद्दत गर्छ ।

तर कथानक राम्रो भएपनि पटकथामा भने मेहनत गर्ने ठाउँहरु बाँकी छन् । फिल्म चुस्त हुन पटकथाको भुमिका धेरै ठुलो रहन्छ । यसमा पनि काम गर्न पाएको भए फिल्म आँखा झिमिक्क पार्न मन नलाग्ने बन्ने थियो ।

उदाहरणका लागि एकजना अधवैशें महिला छिन् । उनि अंग्रेजी बोल्छिन् र एक्लै चिच्याइरहन्छिन् । ति महिलाले त्यो बेलाको समाजलाई गाली दिइरहेकी हुन्छिन् । तर उनको उपश्थितिले फिल्म रोचक भन्दा पनि क्लिसे बनाउँछ । दर्शकलाई थाहै हुँदैन कि त्यहाँ के भइरहेको छ र किन ति महिला घर जाओ भन्दै कराउँछिन् । त्यो पात्र किन त्यहाँ आयो र त्यसको गन्तव्य कहाँ छ । क्यारेक्टर आर्क र त्यो पात्रको ल्याण्डिङ् केहि छैन ।

फिल्मको अभिनय भने सबैको अब्बल छ । मालती बनेकी बर्षा राउतले जवानी हुँदाका आमाको झल्को दिन्छिन्, मंगले बनेका बिजय बरालले बाउको । अलिकति मालतीको बोल्ने तरिकामा भने एकरुपता भेट्न गाह्रो पर्छ । हुन त उनि बलिउड र कलिउडकी फ्यान हुन् । परिवेश अनुसार बोल्ने तरिका पनि फरक भयो होला भनेर स्वीकार्न गार्हो पर्दैन ।

अर्का पात्र छन् हरि । कमेडीमा छवि बनाएका म्याक्सम गौडेलको परिपक्व अभिनयले छक्क बनाउँछ ।

फिल्ममा केहि पात्रहरु जस्तै, मालतीको दाई, कस्तो खालको पात्र हो, उ किन त्यस्तो छ भन्नेकुरा राम्रोसँग स्ट्यावलिष्ट गर्न सकेको भए अझै मज्जा आउने थियो । किनभने उनि द्वन्द निम्त्याउने क्यारेक्टरमा छन् भने उनको चरित्र बलियो हुन जरुरी हुन्छ ।

फिल्मको पहिलो हाफमा धेरै गीतहरु राखिएको छ । कथाको गतिलाई गीतले अगाडी बढाउन मद्दत पनि गर्छ । तर दोस्रो हाफमा भने फिल्मको गति नै रोकिएजस्तो लाग्छ । एकै सिन पनि लामो देखाइरहँदा उकुसमुकुस बनाउँछ । ति सिनहरु छोटा भएको भए मज्जा आउने थियो । यसरी हेर्ने हो भने फिल्ममा सम्पादन पक्ष कमजोर छ । खिचेको जति सबै राख्नपर्छ भन्ने दवाव महशुस गरेर फिल्म एडिट गरिएको हो कि भन्ने भान हुन्छ ।

डेव्यु निर्देशन गरेका प्रकु पाण्डेको काम समग्रमा राम्रो छ । बाल कलाकारहरुदेखि फिल्ममा अटाएका अन्य पात्रहरुले आफ्नो चरित्रलाई न्याय गरेका छन् । फिल्मको छायाँकन, पहिरन अनि रंग संयोजनले पुराना दिनहरुको सम्झना गराउँछ ।

समग्रमा फिल्मले स्वास्थका बिषयमा सानो लापरबाहीले समेत ठुलो समस्या निम्त्याउन सक्छ भन्ने कुरालाई देखाउन खोजेको छ ।

कुराकानीमा हामी कला क्षेत्रले हाम्रो जीवनलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा कसरी प्रभाव पारिरहेको हुन्छ भन्ने कुरालाई कहिले समीक्षा, त कहिले विभिन्न व्यक्तित्वसँगको कुराकानी मार्फत देखाइरहेका हुन्छौं । हाम्रो कामहरु हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला । जसका लागि हामीलाई सामाजिक सञ्जालहरुमा @kurakani360 र वेवसाइट kurakaanee.com मा भेट्नुहोला ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology