कुराकानी। अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विश्वकप क्वार्टरफाइनल सुरु हुनुअघि धेरैको ध्यान एउटा सानो दृश्यले तान्यो। लियोनेल मेस्सीसहित सबै अर्जेन्टिनी खेलाडीको पाखुरामा कालो पट्टी थियो।

सामान्यतया यस्तो दृश्य देख्दा मानिसहरूले कुनै विरोध, अभियान वा शोकको अनुमान गर्छन्। तर यसपटकको कालो पट्टीको अर्थ फरक थियो। त्यो अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेन्ड एन्टोनियो उबाल्दो राट्टिन प्रति अन्तिम सम्मान थियो। अर्जेन्टिना फुटबल संघको अनुरोधपछि फिफाले विशेष अनुमति दिएर विश्वकपकै महत्त्वपूर्ण खेलमा खेलाडीहरूलाई कालो पट्टी लगाउन स्वीकृति दिएको थियो। तर राट्टिनको कथा यत्तिमै सीमित छैन।

आज फुटबल हेर्दा रेफ्रीले पहेँलो वा रातो कार्ड निकाल्नु सामान्य लाग्छ। तर यो प्रणाली जन्मिनुमा राट्टिनसँग जोडिएको एउटा ऐतिहासिक घटना छ।
सन् १९६६ को विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिना र आयोजक इंग्ल्यान्ड आमनेसामने थिए। खेलका क्रममा जर्मन रेफ्री रुडोल्फ क्राइटलाइनले राट्टिनलाई मैदान छाड्न आदेश दिए। त्यतिबेला पहेँलो वा रातो कार्डको व्यवस्था थिएन। रेफ्रीको भाषा र खेलाडीको भाषा नमिल्दा राट्टिनले निर्णय बुझेनन्, मैदान पनि तुरुन्तै छाडेनन्। केही मिनेटसम्म खेल रोकियो, विवाद बढ्यो र विश्व फुटबलले एउटा ठूलो कमजोरी महसुस गर्यो।

त्यही घटनापछि फिफाले सबै देशका खेलाडीले भाषा नबुझ्दा पनि रेफ्रीको निर्णय तुरुन्तै बुझ्ने प्रणाली आवश्यक ठान्यो। त्यसको परिणामस्वरूप सन् १९७० विश्वकपदेखि पहेँलो र रातो कार्डको व्यवस्था औपचारिक रूपमा लागू गरियो। फुटबलको आजको अनुशासन प्रणालीको सुरुवातमा राट्टिनको त्यो घटना एउटा महत्त्वपूर्ण मोड बन्यो।
राट्टिन मैदानमा मात्र होइन, आफ्नो करियरमा पनि दुर्लभ उदाहरण थिए। उनले आफ्नो सम्पूर्ण व्यावसायिक क्लब करियर बोका जुनियर्समै बिताए। १४ वर्षमा ३८२ खेल खेले, धेरै उपाधि जिते र अर्जेन्टिनाका लागि दुई विश्वकप खेले। सन् १९६६ मा उनी राष्ट्रिय टोलीका कप्तान थिए।
८९ वर्षको उमेरमा उनको निधनपछि अर्जेन्टिनाले विश्वकपकै मञ्चबाट उनलाई सम्झियो। स्विट्जरल्यान्डविरुद्ध खेल्दा हातमा बाँधिएको त्यो कालो पट्टी केही इन्चको कपडा मात्र थियो। तर त्यसले सम्झाइरहेको इतिहास भने फुटबलको नियम नै बदल्ने एउटा युगको थियो।
कहिलेकाहीँ मैदानमा सबैभन्दा ठूलो कथा गोलले होइन, खेलाडीको पाखुरामा बाँधिएको एउटा सानो कालो पट्टीले पनि सुनाइरहेको हुन्छ।