कुराकानी। नेपाली कांग्रेस हाम्रो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण धरोहर हो। इतिहासका अनेक आरोह–अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको यो पार्टीभित्र विचारको बहस, नेतृत्वमाथिको प्रश्न र फरक मत हुनु स्वाभाविक हो। तर, पछिल्लो समय देखिन थालेको आन्तरिक विवाद र ध्रुवीकरणले भने हामीलाई गम्भीर रूपमा सोच्नुपर्ने अवस्थामा पुर्याएको छ।
हामीले आफैंलाई एउटा प्रश्न गर्नुपर्ने बेला आएको छ, हामी कांग्रेसभित्र गुट बलियो बनाउन खोजिरहेका छौँ कि कांग्रेसलाई नै बलियो बनाउन?
राजनीतिक दलभित्र फरक विचार हुनु कमजोरी होइन, बरु लोकतान्त्रिक पार्टीका लागि त्यो शक्ति हो। तर विचारको बहस जब व्यक्तिगत आरोप–प्रत्यारोप र गुटगत द्वन्द्वमा परिणत हुन्छ, संगठनको आधारस्तम्भ हल्लिन थाल्छ। आज कांग्रेसभित्र देखिएको मतभेद र ध्रुवीकरणले पार्टीलाई कमजोर बनाउने अवस्था कुनै हालतमा आउन दिनु हुँदैन।
नेपाली कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा अघि बढिरहेको छ। त्यसैले पार्टीको आन्तरिक लोकतन्त्र, विधि र विधानलाई सम्मान गर्दै सभापति देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सुनिश्चित गरिनुपर्छ। यसले पार्टीलाई स्थापित लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढाउन मद्दत पुर्याउँछ।
कांग्रेसभित्र नेतृत्वलाई लिएर बहस हुनु स्वाभाविक हो। तर, त्यस्तो बहस व्यक्तिगत कटाक्ष र समूहगत स्वार्थमा परिणत हुनु हुँदैन। पार्टीलाई बलियो बनाउने हो भने हामी व्यक्तिगत गुट र स्वार्थभन्दा माथि उठ्नैपर्छ।
फरक विचार राख्ने सबै नेता तथा कार्यकर्ताको सम्मान गर्दै संवाद र सहमतिमार्फत आन्तरिक विवाद समाधान गर्नु अहिलेको प्राथमिक आवश्यकता हो। कांग्रेस कमजोर हुँदा त्यसको प्रत्यक्ष असर समग्र लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय राजनीतिमा पर्छ। त्यसैले अहिलेको आवश्यकता आरोप–प्रत्यारोप होइन, पार्टी एकता र संगठन सुदृढीकरण हो।
आगामी १५औँ महाधिवेशनलाई समयमै, निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वदेखि सम्पूर्ण नेता तथा कार्यकर्ता संयमित भएर अघि बढ्नुपर्छ। सबै पक्ष एक ठाउँमा उभिएर विधि र विधानको पालना गरे मात्रै कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्छ।
(लेखक नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य हुन्।)
रोशन श्रेष्ठ