कुराकानी । हामी कतै हिँडिरहेका थियौँ, बाटोमा ठ्याक्क बस फेला पार्नुभयो र त्यो बस पनि हामी जाने गन्तव्यतिरै जाँदै थियो। हामी त्यसमा चढ्यौँ र गन्तव्यमा ओर्लियौँ, त्यहि समयमा यसो गोजी छामेको त हाम्रो पर्स हराएछ। परेन त तनाव!
के गरौं,कसो गरौं भइरहेको थियो। यसो दायाँवायाँ हेरेको त चिनेको दाई त्यतै बसिरहेका रहेछन्। दाई एकदमै सहयोगी, दयालु पनि। त्यो दाईले सबै खाने, बस्ने देखि लिएर फेरि फर्किने भाडाँ समेत दिएर गयो।
यस्तो कुरालाई तपाई कसरी लिनुहुन्छ? यो पक्कै यो लक अर्थात भाग्य हो। नत्र यत्तिकै हाम्रो आम जीवनमा त्यस्ता कामहरू कमै मात्रामा हुन्छन्। तर फिल्ममा भने सधैं भइराख्छन्।
यस्तै खाल्को कथा भएको फिल्म‘पहाड’यतिबेला नेपालभरका हलहरूमा चलिरहेको छ। तपाई पनि आफ्नो नजिकको सिनेमाघरमा गएर यो फिल्म हेर्न सक्नुहुन्छ।
मैले अघि भने जस्तै यो फिल्ममा धेरै भाग्यहरू छन्। हरेक ठाउँमा एक भाग्य आउँछ र त्यसले रेस्क्यु गर्छ।
उदाहरणका लागि तपाई कुनै भीरमा गएर अड्किनुभयो। यस्तो गाह्रो भयो कि, माथि पनि जान सक्नुहुन्न, तल पनि झर्न सक्नुहुन्न, छंगाछुर भीर छ। अब त्यस्तो बेलामा के गर्ने त?
यस्तो गाह्रो भइराखेको बेलामा, टक्क आइदियो एउटा प्यारासुट, सरर रेस्क्यु गर्नको लागि। यसरी सजिलै समस्या समाधान हुने फिल्म हेरेर दर्शकलाई रमाइलो लाग्दैन। जतिधेरै प्रोटागोनिष्ट अर्थात हिरोले दुख पायो र संघर्ष गरेर सफल भयो फिल्मको मज्जा त्यसमा बढी आउँछ।
फिल्ममा पनि हाम्रो हिरो जो छ, ऊ चाहिँ इन्डिया जान्छ। इन्डिया जाँदाखेरि, टिकटै नलिकन रेल चढिरहेको हुन्छ। तर त्यहाँ टक्क एउटा नेपाली भेटिन्छ। उसले अझ कहाँसम्म जाने हो, त्यहाँसम्मको रेलको टिकट पनि पुर्याइदिन्छ।
बाटोमा उसको पर्स चोरी हुन्छ। पर्स चोरी भएपनि, भाग्यबस, जान लागेको ठेगाना भने पकेटमै छोडिएको हुन्छ। ठेगाना हेर्दै हेर्दै गाउँको दाईमा पुग्छ। ऊ पनि यस्तो दयालु हुन्छ, यस्तो दयालु हुन्छ नि, हाम्रा गाउँतिरका जस्ता हैन है। एकदमै दयालु दाई भेटिन्छ। अझ त्यो दाई पनि फेरि अर्को दयालुको नि, महादयालु मान्छेसँग बसिरहेको हुन्छ, त्यहाँ गएर भेटिन्छ।
काम गर्ने ठाउँमा त्यस्तै दयालु हाकिम भेटिन्छ। सब ठाउँमा हिरोलाई माया गर्ने मानिस । कस्तो लक्की। यस्तै खाल्को कथा छ।
फिल्मले हाम्रा पहाडहरुले भोग्न परेको पानीको समस्या, त्यसैगरी बसाइँ सराईको समस्याहरूलाई चाहिँ उजागर गरेको छ। त्यस्तै हाम्रा पहाडमा भएका महत्वपूर्ण खनिज पदार्थहरूमा मानिसहरूले कसरी आँखा लगाइरहेका छन्। अझ गिद्धे नजर लगाइरहेका छन् भन्ने कुरालाई चाहिँ एउटा फिल्मको रूप दिएर चाहिँ कथा बनिएको छ।
फिल्मको कथा, पटकथा जसरी लेखिएको छ, त्यो एकदम राम्रो छ। तर कथामा भने धेरैवटा विषय एकैचोटि उजागर गरेको हुनाले यताउता अलमलियको जस्तो चाहिँ लाग्छ। कतिपय कुराहरू चाहिँ अधुरा जस्तो पनि लाग्छ। टक्क उठाएर छोडिएको जस्तो।
यसको खास कुरा के हो त, भन्न खोजेको के हो, पानीको कथा भन्न खोजेको हो कि, खनिज पदार्थ जसरी हाम्रो दुरुपयोग भइराखेको छ, त्यसको भन्न खोजेको हो कि अथवा हाम्रो जुन कु-संस्कारहरू छ, धर्म बेचेर खानेहरूको कथा भन्न खोजेको हो कि।
धेरै कुराहरूलाई चाहिँ यसले एकैचोटि अटाउन खोजेकाले हामी अलिकति कन्फ्युज भने हुन्छौँ, तर पनि फिल्मको पटकथा जसरी लेखिएको छ, एकदमै राम्रोसँग लेखिएको छ। एकदमै मिठो-मिठो तरिकाले त्यो ट्रान्जिसनहरू पनि हालिएको छ, भिडियोको ट्रान्जिसनहरू बडो मज्जाको छ। जम्प कटहरू युज गरिएको छ। त्यो राम्रो लाग्यो।
अझै यसमा साना-साना कथाहरूलाई कस्तो राम्रोसँग ल्याण्डिङ गरिएको छ। उदाहरणको लागि, त्यहाँ एउटा राजा भन्ने क्यारेक्टर छ। राजा भन्ने क्यारेक्टरको हिस्ट्री देखि उसलाई जसरी अन्तिममा ल्याएर ल्याण्डिङ गरिएको छ नि, एकदमै राम्रो लाग्यो मलाई चाहिँ। जसरी एउटा, हुन्छ नि, भारतमा बेचिएको महिलाबाट जन्मेको छोरा हो। हो, त्यो छोरामा पछि एउटा देवी आउँछ क्या।
कस्तो मिठोसँग त्यो कुराहरूलाई चाहिँ, हरेक कुराहरूलाई अँ भन्नेवाला जस्टिस चाहिँ दिएको छ। न्याय दिएको छ। कुनै पनि धार्मिक सम्प्रदायहरूलाई चाहिँ, हुन्छ नि, नराम्रो लाग्ने गरेर चाहिँ कथा बनिएको छैन। फिल्ममा चाहिँ, केही कुराहरू चाहिँ एकदमै मजासँग चाहिँ डिटेलमा काम गरिएको छ क्या। जस्तो यो भएन, त्यो भएन भन्ने ठाउँ चाहिँ राखिएको छैन।
फिल्म हेरिरहँदाखेरि, त्यहाँनेर कुरा हुन्छ के, ए टिक टिके फोन र सोर्नेवाला फोनको बारेमा। तर त्यो गाउँमा बिजुली नै छैन। अनि, सुरु कै सटमा चाहिँ महिलाहरू त्यो आगोको राँको बालेर पानी लिन गइरहेको देखाएको हुन्छ।
अनि त्यो सबै कुराहरूलाई हेर्दाखेरि के हो, के हो, फोन पनि कुरा गरेको छ, राँको पनि बालेको छ भन्ने खाल्को एउटा हुन्छ नि, डिलेमा भइरहेको बेलामा, फेरि अनि त्यहाँ के भनिन्छ भन्दाखेरि, बिजुली गएको छैन, मोबाइल चार्ज गर्नलाई अर्को गाउँमा जानुपर्छ भन्ने कुराहरू गरिन्छ।
त्यसरी एकदम मजासँग सेफ ल्याण्डिङहरू गरिएको छ। कसरी एउटा मान्छेले धार्मिक आस्थामाथि राखेर चाहिँ, विभिन्न लाभहरू प्राप्त गरिरहेका हुन्छन्, स्वार्थ लुटिरहेका हुन्छन् भन्ने कुरालाई एकदम राम्रोसँग देखाइएको छ।
तर कसैको धार्मिक आस्थामाथि प्रहार पनि गरिएको छैन। ती कुराहरू एकदमै राम्रो लाग्यो। हरेक कुराहरूमा सानो-सानो कुराहरू, त्यो लुप्फोललाई पनि मज्जासँग चाहिँ त्यसलाई निमिट्यान्न पारेर चाहिँ कथा बनाएको छ।
त्यसैगरी, यसको सबैभन्दा पावरफुल अनि मज्जाको कुरा चैँ विपिन कार्कीको अभिनय लाग्यो। जसरी ट्रेलर हेरेको थिएँ, त्यो बेलामा ‘ला के गर्या होला’ भन्ने खालको अलिकति दुविधा मनमा थियो। अझै र्याप सुन्दाखेरि त ‘हे प्रभु’ भन्ने जस्तो भएको थियो।
तर त्यहाँ गइसकेपछि जुन क्यारेक्टर छ नि, त्यो क्यारेक्टरलाई एकदम मजासँग न्याय दिएको जस्तो चैँ फिल भयो। त्यसको जुन अडिनी पाटो नै विपिन भयो। उसको इमोसनदेखि लिएर उले गरेका हरेक कमेडीहरूदेखि लिएर सबै कुराहरूमा चैँ मज्जासँग त्यो अपनत्व फिल हुने गरेर चैँ अभिनय गरेको देखियो।
त्यसैगरी, त्यो जुन क्यारेक्टरको आर्कहरूदेखि जर्निहरू छ, त्यो पनि मजासँग देखाइएको छ, त्यो पनि एकदमै राम्रो लाग्यो। त्यसैगरी, यसमा चैँ जुन हत्तपत्त गरेर संगीतको प्रयोग गरेको छैन।
सिचुएसनमै संगीतहरू प्रयोग गरिएको छ, त्यो पनि राम्रो लाग्यो। ब्याकग्राउन्ड म्युजिक खासै धेरै प्रयोग गरिएको छैन। अलिअलि प्रयोग गरिएको छ, त्यो पनि त्यस्तो बोरिङ लाग्ने खालको चैँ छैन। अब फिल्ममा राम्रो कुराहरू त टन्नै छन्। तर यसमा केही किरकिर लाग्ने कुराहरू पनि छन्। जसले गर्दाखेरि समग्र चैँ त्यो मीठो परिकार नै नमिठो बनाइदिन्छ, के।
त्यसमा सबैभन्दा किरकिर लाग्ने कुरा भनेको चैँ जो हाम्रा नव अभिनेत्री हुनुहुन्छ, पञ्चमी घिमिरे, उहाँको अभिनय। उहाँको अभिनय चैँ कस्तो जर्क लाग्छ, के हामीलाई।
अनि त्यो भाषागत रूपले पनि अलिकति स्मूथ नभाको हो कि जस्तो लाग्छ। उहाँको अभिनय चैँ एकदमै झट्ट रिसाए हाल्ने, खुकुरी बोकी हाल्ने, अनि कुनै ठाउँमा एकदमै त्यो हर्स वाला आवाज आछ भने कुनै ठाउँमा चिरिर्र वाला आवाज आएको, त्यो एकरुप नभाको, डबिङमा पनि, त्यस्तो खालको चैँ फिल हुन्छ।
उहाँको अभिनयमा चैँ अझै मेहेनत गर्न पाएको भए यो फिल्म साह्रै राम्रो हुनेथियो जस्तो चैँ मलाई लाग्यो। तर पनि उहाँ अब जसरी हाम्रो नेपाली भाषामा उहाँले फिल्म गर्नुभयो, त्यो नै हामी नेपालीहरूको लागि चैँ ठुलो कुरा हो। त्यसैगरी, मैले अघि पनि भने, यसमा धेरै विषयवस्तुहरू उठान गरिएको छ।
कुन चैँ टेस्ट चैँ हामीले लिने, अनि यो चैँ के हो भनेर पत्ता लाउन सकेको छैन। खिचडी जस्तो बनेको छ, तर पनि यो खिचडी पनि त्यस्तो नमिठो चैँ छैन।
पुष्पा थपलिया