
कुराकानी । तिहारको छेको पारेर प्रर्दशनको तयारीमा रहेको फिल्म मैझारोको ट्रेलर सार्वजनिक भएको छ । तक्मे प्रोडक्सनले तयार पारेको यो ट्रेलर तीन मिनेट भन्दा बढीको छ ।
यसै फिल्मबाट विल्सन विक्रम राई उर्फ तक्मे बुढा फिल्मको निर्देशनमा डेब्यु भएका छन् । यस फिल्मको कथा र स्कृनप्ले समेत विल्सनले नै लेखेका हुन् ।
तीन मिनेट भन्दा बढीको ट्रेलर हेरे पनि २ घण्टा बढीको स्कृनप्ले कस्तो छ भन्न सकिँदैन । तर यहाँ यसभित्र अटाएका दृष्यहरुको आधारमा फिल्मको कथा अनुमान गरिएको छ ।
यदि यो फिल्मको कथा मिल्न गएमा संयोग मात्रै हुनेछ र मिल्न नगएमा फिल्म निर्माण पक्ष सफल हुनेछ । फिल्ममा कथा के छ भन्दापनि यसको स्कृनप्ले कस्तो छ हेरिने भएकाले सबै कुरा थाहा पाउन भने हलमा नै जानुपर्ने हुन्छ । अनि मिल्यो कि मिलेन पनि त्यहि बेलामा थाहा हुन्छ है त ।
फिल्म कार्तिक ७ गतेदेखि नेपालभरका हलहरुमा प्रदर्शन हुँदैछ ।
ट्रेलरमा कथा के छ
ट्रेलर हेर्दा यो पुर्वी नेपालको राई समुदाय बसोबास गर्ने गाउँको युवा-युवतीको प्रेम कथा हो । पात्रको नाम, संस्कृति र नृत्य हेर्दा मुन्धुमको लोककथालाई दृष्यचित्रमा उतारिएको हो कि जस्तो पनि देखिन्छ । यहाँ प्रयोग गरिएका पात्रहरुको नाम किँराती संस्कृतिमा शक्तिशाली मानिँदै आएको छ ।
बलिहाङ भन्ने एक युवकलाई सिम्मा र चेसुङ नाम गरेका युवतीहरुले एकैसाथ मन पराउँछन् । यो त्रिकोणात्मक प्रेमकथा हो । बलिहाङको प्रेमकथामा एक युवती भारी उठाउन साहारा दिने सोचमा छिन् अनि अर्को मनदेखिको नाम्लो बन्ने तयारीमा । तर बलिहाङ भने भारी बिसाउन चाहन्छ ।
त्रिकोणात्मक प्रेमकथा भएपछि एकजनालाई लेखकले मार्ने चलन छ, यहाँ पनि बलिहाङले सेतो फूल चढाएको छ, चिहानमा बसेर भक्कानो फोरेर रोएको छ, चिहानमै फाइट पनि परेको छ । को मर्यो होला अनि चिहानसँगको कनेक्सन के होला कमेन्ट गर्नुहोला है त ।
अँ, अनि बलिहाङ गाउँको मिहेनती केटो हो । उ गरिव छ तर इमान्दार पनि । घरमा आमा छिन् र आमाको हेरचाहका लागि उ गाउँमै दाउरा बेचेर गुजारा चलाईरहन्छ । उ लाहुरे बन्न पाएको छैन ।
लाहुरे नबनेपनि उसलाई सिनेमाको हिरोनी जस्तै केटी मनपर्छ । हिरोनी जस्तै केटी सिम्मा उसको जीन्दगीमा आउँछिन् पनि । बलिहाङलाई पनि सिम्मासँग प्रेम हुन्छ तर उनि परिन् लाहुरे खानदानकी धनिमानी बाउकी छोरी । त्यसैले उ सिम्मालाई मनमै लुकाएर राख्छ । बाहिर देखिन दिँदैन ।
चेसुङ अर्की युवती जो बलिहाङ्लाई माया गर्छिन् उनि पनि माया मनमै पोको पारेर राख्छिन् । उनि बलिहाङलाई मिल्ने साथीको रुपमा साथ दिन्छिन् । यी तीनजनाको प्रेम तिनओटै बाहिरबाट एकोहोरो हुन्छ तर भित्र बलिहाङले सिम्मालाई मन पराउँछ ।
मनको माया मनैमा । एक लाहुरे आउँछ यलम्बर । उ राजदरवार भए रानी टन्नै आउँछन्, त्यसैले दरवार बनाउनुपर्छ भन्नेमा विश्वास राख्छ, प्रेममा हैन ।
बलिहाङको मित पनि छन् । यी मितले पनि बलिहाङको प्रेममा भिलेनकै काम गर्छन् ट्रेलर हेर्दा ।
यसरी हेर्ने हो भने, यो फिल्मको कथावस्तु किँरात समुदायको प्राचिन धर्मग्रन्थ मुन्धुममा समावेश गरिएका लोककथाहरुलाई अहिलेको जीवनसँग ढालेर तयार पारिएको जस्तो देखिन्छ ।
तपाईलाई मैझारोको ट्रेलर हेरेर के लाग्यो, प्रतिक्रिया दिनुहोला ।
हेर्नुस् ट्रेलर