तीन अस्पतालका शौचालयमा ८७१ महिलाको गोप्य भिडियो बनाउने डाक्टर हिरासतमा

तीन अस्पतालका शौचालयमा ८७१ महिलाको गोप्य भिडियो बनाउने डाक्टर हिरासतमा

प्रहरीले उनको मोबाइल तथा ल्यापटपबाट करिब तीन हजार भिडियो फेला पारेको थियो।

  • कुराकानी

  • शुक्रबार, मंसिर १२, २०८३

  • 0
    SHARES
तीन अस्पतालका शौचालयमा ८७१ महिलाको गोप्य भिडियो बनाउने डाक्टर हिरासतमा

कुराकानी। अस्ट्रेलियाको मेलबर्नस्थित तीन अस्पतालका शौचालय तथा बाथरुममा ८७१ महिला र किशोरीको गोप्य भिडियो बनाएको अभियोगमा एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। सिंगापुरका २९ वर्षीय चिकित्सक रायन चोले सन् २०२४ देखि २०२५ सम्म अस्पतालमा कार्यरत महिला सहकर्मीहरूलाई लक्षित गरी गोप्य रूपमा भिडियो बनाएको खुलेको हो।

चोले अस्ट्रेलियाको अस्टिन अस्पताल, रोयल मेलबर्न अस्पताल र पिटर म्याकलम क्यान्सर सेन्टरका शौचालय तथा बाथरुममा मोबाइल फोन लुकाएर भिडियो रेकर्ड गर्ने गरेको अदालतमा प्रस्तुत विवरणमा उल्लेख छ। उनले कपडा राख्ने झोलाभित्र मोबाइल लुकाएर रेकर्डिङ गर्ने उपकरण बनाएका थिए।

अदालतमा प्रस्तुत विवरणअनुसार उनले झोलाभित्र मोबाइल राखेर प्वालमार्फत क्यामेरा लक्षित स्थानतर्फ फर्काउने गरेका थिए। अन्य व्यक्तिलाई आफूले चाहेको शौचालय प्रयोग गर्न बाध्य पार्न केही शौचालयका ढोका र लकसमेत बिगार्ने गरेको खुलेको छ।

चोले तीन अस्पतालमा मात्रै नभई आफू बस्ने घरमा पनि महिला साथीहरूलाई लक्षित गरी गोप्य भिडियो बनाएको पाइएको छ। प्रहरीले उनको मोबाइल तथा ल्यापटपबाट करिब तीन हजार भिडियो फेला पारेको थियो। ती भिडियोहरू व्यवस्थित रूपमा छुट्टाछुट्टै फोल्डरमा राखिएको अदालतमा बताइएको छ।

चोले आफूमाथिका आरोप स्वीकार गर्दै १३ वटा अभियोगमा दोषी ठहरिएको छ। तीमध्ये सहमतिबिना निजी तस्बिर तथा भिडियो उत्पादन, पिछा गर्ने, बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादन तथा राख्ने र अवैध रूपमा निगरानी उपकरण जडान गर्ने अभियोग छन्।

नोभेम्बर २६ मा मेलबर्नको अदालतमा सजाय निर्धारणसम्बन्धी सुनुवाइ सकिएपछि उनलाई हिरासतमा पठाइएको हो। उनलाई आगामी सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाइनेछ।

घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा सुनाएका थिए। केहीले घटनापछि कार्यस्थलका शौचालय प्रयोग गर्नसमेत डर लाग्ने गरेको बताएका छन्। एक नर्सले आफूलाई मानसिक तनाव, चिन्ता र डिप्रेसनको समस्या भएको बताएकी छन्।

चोको चिकित्सकीय दर्ता निलम्बन गरिएको छ भने सजायपछि उनलाई सिंगापुर निर्वासन गरिने सम्भावना रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology