कुराकानी। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्यमा देखिएको गम्भीर समस्यापछि गरिएको शल्यक्रिया सफल भएको छ। उनका नजिकका साथी तथा सहकर्मी अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्।
दीपकराजले अस्पतालमा दीपाश्रीसँग खिचिएको तस्बिर सार्वजनिक गर्दै यो साता आफूहरूका लागि निकै चुनौतीपूर्ण र कठिन समय रहेको उल्लेख गरेका छन्। उनका अनुसार सुटिङको बीचमा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो।
त्यसपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि आफूहरू अन्योलमा परेको र धेरै ठाउँबाट भारतमा उपचार गराउन सुझाव आएको दीपकराजले बताएका छन्। तर अन्ततः नेपालकै अनुभवी न्युरोसर्जन डा. वसन्त पन्तबाट शल्यक्रिया गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन्।
“भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। हाल उहाँ आईसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ,” दीपकराजले लेखेका छन्।
उनले दीपाश्रीको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी, शुभेच्छुक तथा दर्शकहरूलाई धन्यवाद दिँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सुटिङकै क्रममा आएको स्वास्थ्य चुनौतीलाई सामना गर्दै अहिले दीपाश्री स्वास्थ्य सुधारको बाटोमा अघि बढिरहेकी छन्। नेपाली फिल्म क्षेत्रमा दीपकराज र दीपाश्रीको सहकार्य लामो समयदेखि चर्चित रहँदै आएको छ।