कुराकानी। त्रिभुवन विश्व विद्यालयको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
यससँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ। यसअघि प्रहरीले प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको थियो।
प्रहरीका अनुसार पछिल्ला दुई पक्राउ परेकाहरू प्रश्नपत्र चुहाउने र त्यसको वितरणमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएका हुन्। उनीहरूमाथि डिजिटल प्रमाणका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत साउन ९ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। त्यसपछि शिक्षा मन्त्रालय र नेपाल प्रहरीले संयुक्त रूपमा अनुसन्धान थालेका थिए।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने काम पनि जारी रहेको जनाएको छ।