कुराकानी। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सबै टावरमा सम्भव भएसम्म भरपर्दो विद्युत् सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयमा बुधबार नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।
उनले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिँदै टावरमा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरे।
मन्त्री तिमिल्सिनाले विद्युत् पुगेका क्षेत्रमा पनि कम भोल्टेजका कारण सेवा प्रभावित हुने समस्या समाधान गर्न वितरण प्रणालीको क्षमता विस्तार गर्नुपर्ने बताए। साथै, फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवाका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए।
बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हाल ३१६ वटा टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेको र ती टावर सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनले टेलिकमले करिब २ हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको र तीमध्ये करिब १,४०० टावरमा नयाँ विद्युत् लाइन विस्तार आवश्यक रहेको बताइन्।
नेपाल विद्युत् प्राधिकरणले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भने राष्ट्रिय प्रसारण लाइन पुग्न कठिन हुने दुर्गम क्षेत्रमा सौर्य ऊर्जामार्फत टेलिकम टावर सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ।