खोलामा डुबेका २ बालबालिकाको शव भेटियो

खोलामा डुबेका २ बालबालिकाको शव भेटियो

बुधबार बिहान करिब ७ बजेतिर स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

  • कुराकानी

  • बुधबार, साउन २७, २०८३

  • 1
    SHARES
खोलामा डुबेका २ बालबालिकाको शव भेटियो

कुराकानी। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका अझै बेपत्ता छन्।

मंगलबार दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए। उनीहरूलाई स्थानीय तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बेपत्ता भएका देवाही गोनाही–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको हो। दुवैको शव घटनास्थलबाट करिब २ दशमलव ५ किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रमा नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब ७ बजेतिर स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर शव बाहिर निकालेको हो।

घटनामा बेपत्ता भएकी अर्की १० वर्षीया रौशन खातुनको भने खोजी भइरहेको छ। मंगलबारदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी गरिरहेको छ। उद्धारका लागि सशस्त्र प्रहरीको डाइभिङ टोलीसमेत परिचालन गरिएको थियो।

फेला परेका दुवै शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology