ब्लु बसको यात्रा फाइलमै सीमित

ब्लु बसको यात्रा फाइलमै सीमित

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार फाइल पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालयमा पुगेर रोकिएको छ।

  • कुराकानी

  • मङ्लबार, भदौ २, २०८३

  • 1
    SHARES
ब्लु बसको यात्रा फाइलमै सीमित

कुराकानी। सरकारले महिलाको सुरक्षित आवागमनका लागि भन्दै निःशुल्क ‘ब्लु बस’ चलाउने घोषणा गरेको पनि केही महिना भयो। घोषणा सुन्दा लाग्थ्यो—अब महिलाले सार्वजनिक यातायातमा केही राहत पाउने भए। तर समय बित्यो, तोकिएको मिति पनि बित्यो, बस भने अझै चलेन।

सरकारको १ सय बुँदे शासकीय सुधार कार्यक्रममा पहिलो चरणमा २५ वटा ब्लु बस सञ्चालन गर्ने भनिएको थियो। त्यही योजनाअनुसार १ साउनभित्र बस चलाइसक्ने तयारी थियो। तर अहिले भदौ लागिसक्दा पनि काम अघि बढेको छैन।

मन्त्रालयको भनाइ मान्ने हो भने तयारीमा खासै कमी छैन। ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ, साझा यातायातसँग सम्झौता भइसकेको छ, अर्थ मन्त्रालयको स्वीकृति पनि आइसकेको छ। कार्यविधि, समयतालिका र सञ्चालन योजनासमेत तयार भइसकेको बताइएको छ।

तर यति धेरै तयारीपछि पनि बस किन चलेन त ?

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार फाइल पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालयमा पुगेर रोकिएको छ। किन रोकियो भन्नेबारे भने आफूहरूलाई ठोस जानकारी नभएको उनको भनाइ छ।

उता साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले भने ब्लु बस सञ्चालनबारे अहिलेसम्म ठोस निर्णय वा सहमति नभएको बताएका छन्। अहिले सञ्चालनको मोडालिटीमा काम भइरहेको उनको भनाइ छ।

योजनाअनुसार काठमाडौं उपत्यकामा बूढानीलकण्ठ–लगनखेल–गोदावरी, नागढुंगा–विमानस्थल र रिङरोड क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने तयारी थियो।

घोषणा भयो, बजेट छुट्याइयो, सम्झौता भयो, कागज पनि तयार भयो। तर बस भने सडकमा आएन।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology