कुराकानी। यतिबेला फिल्मी वृत्तमा चलचित्र विकास बोर्डको अध्यक्ष को बन्ला त भन्ने विषयले माहोल तताएको छ। आज हामी त्यहि बजारको कुरा यहाँ गर्दैछौं।
चर्चा अनुसार, निर्णय हुन बाँकी भए पनि सम्भावित नाम भने १२ जनाबाट दुईवटामा झरिसकेको छ रे!
पहिलो नाम मनिष पण्डित।
चलचित्र विकास बोर्डको बक्स अफिस सल्लाहकार भएर काम गरेका मनिषको नाम अध्यक्षको चर्चामा आउनुको मुख्य कारण उनको बोर्डसँगको पुरानो सम्बन्ध हो।
कागजमै अल्झिएको भनिएको बक्स अफिस प्रणाली कार्यान्वयनमा ल्याउने प्रक्रियामा उनको भूमिका रहेको बताइन्छ। अहिले फिल्मले कति कमायो भन्ने हिसाब निकाल्दा बक्स अफिसकै तथ्यांक प्रयोग हुन्छ।
मनिषको फिल्मी यात्रा भने अभिनेत्री नम्रता श्रेष्ठसँगको सहकार्यबाट सुरु भएको देखिन्छ। नम्रताको म्यानेजर हुँदै उनी ‘सोल सिस्टर’ र ‘ग्याङस्टर ब्लुज’का कार्यकारी निर्माता बने। पछि ‘जायरा’ निर्माण गरे। फिल्मलाई आईटीसँग जोड्ने प्रयास पनि गरे।
विदेशमा अध्ययन गरेर फर्किएका पण्डितले ‘कृष्ण हिस्ट्री वर मिथ’ र ‘मुम्बई वाटर माफिया’ नामका डकुमेन्ट्री निर्देशन गरेको पनि देखिन्छ।
दोस्रो नाम जेनिश पहारी श्रेष्ठ।
जेनिश फिल्म वितरक हुन्। विशेषतः विदेशी फिल्म, हलिउडलगायतका फिल्म नेपालमा वितरण गर्दै आएकी छन्। विदेशमा फिल्म व्यवस्थापन अध्ययन गरेकी जेनिशको प्रत्यक्ष फिल्म निर्माणभन्दा वितरणमा बढी सक्रियता देखिन्छ।
अब प्रश्न उठ्छ, यी दुईकै नाम किन?
बजारमा हल्ला चलेअनुसार, मनिष र जेनिश दुवैको नाम चर्चामा हुनुको कारण हो, निकिता पौडेलसँगको सम्बन्ध।
मनिष, निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा बक्स अफिस सल्लाहकारका रूपमा बोर्डमा प्रवेश गरेका व्यक्ति हुन्।
अहिले निकिताका श्रीमान् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा छ। यही राजनीतिक समीकरणलाई आधार बनाएर मनिषको नाम चर्चामा आएको बताइन्छ।
जेनिशको हकमा पनि निकिता पौडेलसँगको सम्बन्ध जोडेर चर्चा भइरहेको छ। केही समयअघि उनले नारी टेलिभिजनमा कार्यकारी पदमा काम गर्न चाहेको भन्दै अन्तर्वार्ता दिएकी थिइन्। नारी टेलिभिजनकी संस्थापक निकिता पौडेल हुन्।
अब आयो पौडेल परिवारको कुरा। किनभने यी दुईसँग पौडेल परिवारको स्वार्थ जोडिएको बजारमा हल्ला छ।
निकिताका बुबा उद्धव पौडेल लामो समयदेखि नेपालमा भारतीय फिल्म वितरण व्यवसायसँग जोडिएका व्यक्ति हुन्। उनका छोरा तथा निकिताका भाइ निरज पौडेल पनि भारतीय फिल्म वितरणमा सक्रिय छन्।
गोपीकृष्ण हलको व्यवसायमा ठूलो क्षति व्यहोरेपछि निरजको फिल्मसम्बन्धी मुख्य गतिविधि भारतीय फिल्म वितरणमै केन्द्रित रहेको चर्चा हुने गरेको छ। यही कारण पौडेल परिवार विदेशी फिल्म वितरणलाई सहज हुने नीति–नियमको पक्षमा रहेको दाबी पनि सुनिन्छ।
तर यहाँ एउटा कुरा छुटाउन मिल्दैन। चलचित्र विकास बोर्डको काम विदेशी फिल्मको बाटो सजिलो बनाउनु मात्रै होइन। बोर्डको मूल उद्देश्य नेपाली फिल्म उद्योगको विकास, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्नु हो।
विदेशी फिल्म नेपालमा प्रदर्शन गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्छ। अर्कोतर्फ, नेपाली फिल्म निर्माताहरू विदेशी फिल्ममाथि थप अंकुश लगाउनुपर्ने माग गर्दै आएका छन्।
यसरी हेर्दा पौडेल परिवारको स्वार्थ पुरा गर्ने उद्देश्यले छनोटमा परेर, बोर्ड अध्यक्ष भएका व्यक्तिले नेपाली फिल्मको हित हेर्छन् कि विदेशी फिल्म वितरणको बाटो पनि सहज बनाउँछन् त?
अहिले यसको उत्तर छैन। तर यही प्रश्न वरिपरि मनिष र जेनिशको नाम घुमिरहेको छ।
अनि यहि बाटो सहज बनाउन अशोक शर्माको इन्ट्री ।
अध्यक्ष छनोटका लागि बनेको तीन सदस्यीय समितिमा निर्माता तथा अभिनेता अशोक शर्मा पनि छन्। बजारको हल्ला अनुसार, शर्मा यहि बाटो खन्न त्यहाँ पुर्याइएका हुन्।
अशोक शर्माको पौडेल परिवारसँगको पुरानो सम्बन्धलाई लिएर पनि अहिले प्रश्न उठिरहेका छन्। २०४६ सालमा बनेको ‘तिलहरी’मा अशोकले मुख्य भूमिका खेलेका थिए। उक्त फिल्ममा उद्धव पौडेल प्रस्तुतकर्ता तथा गीतकार थिए।
त्यसपछि २०४८ सालमा उद्धव पौडेलको कथा तथा प्रस्तुतिमा बनेको ‘परिवार’मा पनि अशोक मुख्य भूमिकामा थिए। पछि अशोक आफैँ निर्माता बनेर ‘ट्रक ड्राइभर’ निर्माणमा पुगे।
पुरानो फिल्मी सम्बन्ध यतिमै सकिँदैन। अशोक शर्मा डिजिटल सिनेमा नेपाल (DCN) तथा फिल्म वितरणसम्बन्धी संस्थासँग पनि जोडिएका छन्। उद्धव पौडेलका भाइ उज्वल पौडेल र अशोक शर्माबीच फिल्म वितरण तथा डिजिटल सिनेमा व्यवस्थापनका क्षेत्रमा व्यावसायिक सहकार्य रहेको बताइन्छ।
अध्यक्ष छनोट गर्ने समितिमा अशोक शर्मा, चर्चामा मनिष र जेनिश, अनि बीचमा पौडेल परिवारको पुरानो फिल्मी तथा व्यावसायिक सम्बन्ध!
अब यो संयोग हो कि समीकरण?
अन्तिम फैसला त सरकारले नै गर्ने हो। तर यहि हल्ला अनुसारका मानिस बोर्ड अध्यक्ष भएमा अनौठो चैं नमान्नुहोला। यसमा तपाईको कुरो के हो, सुटुक्क कमेन्ट गर्नुहोला नि!
पुनश्च: यो समाचार हैन, गसिप हो!