किशोर श्रेष्ठ र हिमेश पन्तबीच साइबर ब्युरोमा उजुरीको जुहारी

किशोर श्रेष्ठ र हिमेश पन्तबीच साइबर ब्युरोमा उजुरीको जुहारी

प्रहरीका अनुसार दुवै पक्षबाट उजुरी परेपछि उनीहरूलाई छलफलका लागि बोलाइएको हो।

  • कुराकानी

  • शनिबार, कार्तिक १, २०८३

  • 7
    SHARES
किशोर श्रेष्ठ र हिमेश पन्तबीच साइबर ब्युरोमा उजुरीको जुहारी

कुराकानी। जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले शनिबार बिहान ललितपुरको नख्खुस्थित निवासबाट नेपाल प्रहरीको साइबर ब्युरोमा पुर्‍याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले प्रकाशित समाचारलाई लिएर दिएको उजुरीपछि दुवै पक्षबीच छलफल गराउने उद्देश्यले प्रहरीले श्रेष्ठलाई ब्युरोमा बोलाएको हो।

अनलाइनखबरका अनुसार श्रेष्ठविरुद्ध पन्तले बिहीबार साइबर ब्युरोमा निवेदन दिएका थिए। जनआस्था साप्ताहिकमा प्रकाशित समाचारमा पन्तको परिवारले धादिङको थाक्रे गाउँपालिका १० का तिलकप्रसाद बिडारीको नाममा रहेको ४.५ रोपनी जग्गा कब्जा गरेको आरोप उल्लेख गरिएको थियो। उक्त विषयलाई लिएर पन्तले उजुरी दिएका हुन्।

श्रेष्ठले पनि पन्तविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका छन्। समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा पन्तले गरेको टिप्पणीलाई लिएर श्रेष्ठले उजुरी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार दुवै पक्षबाट उजुरी परेपछि उनीहरूलाई छलफलका लागि बोलाइएको हो। साइबर ब्युरोका प्रहरी अधिकारीले यो कारबाहीका क्रममा कसैलाई हिरासतमा लिइएको नभई दुवै पक्षबीच छलफल गराउन खोजिएको बताएका छन्।

यसअघि पनि श्रेष्ठलाई गत साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो। त्यसबेला उनको निवास तथा कार्यालयमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिइएको थियो। बन्दीप्रत्यक्षीकरणको रिटपछि सर्वोच्च अदालतको आदेशमा उनी भदौ १ गते हिरासतमुक्त भएका थिए। अदालतले अनुसन्धान जारी राख्न सकिने तर उनलाई हिरासतमा नराखी हाजिरी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology