दसैँमा बजारमा ६३ अर्ब नगद थपियो

दसैँमा बजारमा ६३ अर्ब नगद थपियो

दसैँ, तिहार र छठलाई लक्षित गरी विगतका वर्षमा औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेका थिए।

  • कुराकानी

  • बिहिबार, अशोज २९, २०८३

  • 0
    SHARES
दसैँमा बजारमा ६३ अर्ब नगद थपियो

कुराकानी। दसैँ नजिकिएसँगै नेपाली बजारमा नगदको प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज महिनामा मात्रै बजारमा ६३ अर्ब रुपैयाँ नगद थपिएको छ। दसैँको किनमेल, दक्षिणा र अन्य चाडपर्वजन्य खर्च बढ्दै जाँदा चलनचल्तीमा रहेको नगदसमेत वृद्धि भएको हो।

भदौ मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ९४ अर्ब रुपैयाँ थियो। असोज २८ गतेसम्म आइपुग्दा यो रकम बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा बजारमा ६३ अर्ब रुपैयाँ थप नगद प्रवाह भएको देखिन्छ। केन्द्रीय बैंकका अधिकारीहरूका अनुसार दसैँको कारोबार बढ्दै गएकाले यो रकम अझ बढ्न सक्छ।

दसैँका बेला नयाँ नोट साट्ने परम्पराले पनि नगदको माग बढाउने गरेको छ। यस वर्ष नेपाल राष्ट्र बैंकले दुई वर्षपछि सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिएको छ। राष्ट्र बैंकका अनुसार असोज १ देखि २० गतेसम्म १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बाहिरिएका थिए। त्यसमध्ये बैंक तथा वित्तीय संस्थालाई ८ अर्ब ३३ करोड रुपैयाँ र सर्वसाधारणलाई १ अर्ब ६७ करोड रुपैयाँ बराबरका नोट वितरण गरिएको थियो।

दसैँ, तिहार र छठलाई लक्षित गरी विगतका वर्षमा औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेका थिए। त्यसमध्ये करिब १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हातमा पुग्ने र बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनमा उपयोग गर्ने गरेका छन्।

चाडपर्वका बेला नगदको प्रवाह बढ्दा बजारमा वस्तु तथा सेवाको माग बढ्न सक्छ। मागसँगै मूल्यमा दबाब पर्ने सम्भावना पनि रहन्छ। अर्कोतर्फ, डिजिटल भुक्तानीको प्रयोग बढ्दै जाँदा नगद कारोबार र नयाँ नोट साट्ने मागमा परिवर्तन देखिन थालेको छ।

नेपाल राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ। त्यसैले नोटको माग व्यवस्थापन गर्नु र नगद कारोबारलाई व्यवस्थित बनाउनु केन्द्रीय बैंकका लागि महत्त्वपूर्ण विषय बनेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology